बागलुङ, १२ चैत – सशष्त्र द्वन्द्वको समयमा मारिएका, बेपत्ता पारिएका र यातना खेपेका पिडित र उनीहरुको परिवारको घाउमा राज्यले अझै मलम लगाउन नसकेको एक कार्यक्रमका सहभागिले बताएका छन् ।
सातौं अन्तराष्ट्रिय सत्यको अधिकार दिवशको अवसरमा न्यायका लागि द्वन्द्व पिडित समाज बागलुङले आयोजना गरेको छलफल तथा पुस्तक विमोचन कार्यक्रममा सहभागिले राज्य र बिद्रोहीले जनतालाई गरेको दमन पछि राहतमा वेवास्ता भएको पनि बताएका थिए । राज्यले मानवअधिकार हनन् गरिरहने प्रवृत्तिले जनताले न्याय पाउन नसकेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा अधिवक्ता काजीगाउँलेले राज्य जवाफदेही बन्ने अवस्था नभएसम्म मानवअधिकार हनन् भैरहने, जनताले सत्य जान्न नपाउने प्रवृत्ति बढीरहने पनि बताए । उक्त अवसरमा गाउँलेले पिडितहरुको कथा संग्रह भएको सत्यको उजागर नामक पुस्तक बिमोचन पनि गरेका थिए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका लागि यो पुस्तक प्रमाण हुने पनि उनले बताएका थिए ।
समाजका अध्यक्ष बद्रीबहादुर केसीको अध्यक्षता, सावित्री खड्काको संचालन र अधिवक्ता राम शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा रेडक्रसका उपसभापति राजेन्द्र आचार्य, मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष भूमिश्वर गौतम, शान्ति समाजकै केन्द्रीय सदस्य गीता श्रीष, रेडक्रसका पूर्व सभापति विश्वनाथ रेग्मी, मानवअधिकार संगठनका अध्यक्ष अमरबहादुर कार्की र महिला अधिकारकर्मी अञ्जु जिसीले पनि बोलेका थिए ।
Previous Article‘राष्ट्रियताका लागि एमालेको विजयी’
Next Article व्याडमिन्टन प्रतियोगिताको फाइनल आज हुँदै