गुल्मी, १० चैत – निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरेसँगै देशभर चुनावी माहोल सिर्जना भएको छ । राष्ट्रिय राजनीतिमा राम्रै प्रतिनिधित्व गर्ने गुल्मीमा स्थानीय निर्वाचनको माहोल पनि राम्रो देखिन्छ । गुल्मीका एमाले नेताहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र कांग्रेस नेता चन्द्र भण्डारीले राष्ट्रिय राजनीतिमा राम्रै भूमिका निर्वाह गर्छन् । ज्ञवाली र विष्ट पूर्वमन्त्री समेत हुन् ।
यी हाईप्रोफाइल नेताकै चाहनाअनुसार स्थानीय तहका उम्मेदवारहरूको टुंगो लाग्ने सम्भावना पनि रहन सक्छ । तर अहिलेसम्म गुल्मीका गाउँ तथा नगरपालिकामा विभिन्न उम्मेदवारहरूको चर्चा चुलिएको छ ।
हामीले गुल्मीका दुई नगरपालिकालाई मात्रै केलाउने कोशिश गरेका छौं । गुल्मीमा दुईवटा नगरपालिका कायम गरिएको छ । सदरमुकाम क्षेत्रमा रेसुंगा नगरपालिका कायम गरिएको छ भने सदरमुकामभन्दा बाहिर मुसिकोट नगरपालिका कायम गरिएको छ । रेसुंगा नगरपापलिका कांग्रेसको पकड एरिया र मुसिकोट नगरपालिका एमालेको पकड एरिया भएको जिल्लाका राजनीतिक दलको अाकलन छ ।
सम्भवतः दुई ठूला दलको पावर शेयरिङ हुने हिसाबले नै यी दुई नगरपालिका कायम गरिएका हुन् किनकि क्षेत्र नम्बर एक र तीनमा बनाउन थालिएका नगरपालिकाहरू राजनीतिक खिँचातानीकै कारणले भाँडिएका थिए । जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका कायम गरिएको छ ।
रेसुंगा नगरपालिका
रेसुंगा नगरपालिका साबिकका तम्घास, सिमिचौर, दुविचौर, पराल्मी र नयाँगाउँ गाविस मिलाएर बनाइएको हो । नयाँगाउँका ८ र ९ वडा मात्रै नगरपालिकामा आएका छन् । नयाँगाउँ र पराल्मीलाई पछि थपिएको हो । रेसुंगा नगरपालिकामा कांग्रेस मतदाताको संख्या बढी रहेको दाबी कांग्रेसको छ । अहिले थपिएका गाविसमा पनि पराल्मीमा कांग्रेसीको संख्या राम्रो छ भने नयाँगाउँ चाहिँ एमालेको पकड क्षेत्र हो ।
रेसुंगा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट सभापति भुवन प्रसाद श्रेष्ठ, जिल्ला सदस्य शालिक पन्थी, सचिव खिलध्वज पन्थी र नेता श्रीप्रसाद भलामीमध्येको उम्मेदवारी रहने अपेक्षा गरिएको छ । तर अरू नेताले पनि सभापतिको उम्मेदवारीमा रुचि देखाएका छन् । तर यी चारबाहेकका नेता उठ्ने सम्भावना कमै रहेको जनाइएको छ ।
एमालेको तर्फबाट डिल्लीराज भुसाल, गणेश श्रीपाली, बालसिंह काउछा, जंग नेपाली र गणेश विश्वकर्माको नाम चर्चामा छ । गणेश विश्वकर्मा २०७० को चुनावमा माओवादी प्रवेश गरेर अहिले फेरि एमालेमै फर्किएकोले उनले मेयर वा उपमेयरको टिकट नपाउन सक्ने अाकलन गरिएको छ । माओबादीबाट चाहिँ अशोक थापाको नाम चर्चामा छ । यो नगरपालिकामा तुलनात्मक रूपमा कांग्रेस बलियो देखिएपनि उसको मुख्य प्रतिस्पर्धा एमालेसँग हुने चर्चा राजनीतिक वृत्तमा छ । एमाले र माओवादी अलायन्स गरेर जाने सम्भावना पनि रहेको एक एमाले नेताले दावी गरे । ‘हाम्रो मुख्य प्रतिस्पर्धी भनेको कांग्रेस हो,’ एक एमाले नेता भन्छन्, ‘तर एलायन्स भयो भने जित्ने सम्भावना बढी छ ।’
मुसिकोट नगरपालिका
मुसिकोट नगरपालिका वामी, बडागाउँ, आँपचौर, कुर्घा, अर्लांकोट, मुसिकोट, पौंदी अमराई र नेटाको एकदेखि चार वडा मिलेर बनेको हो ।
यो नगरपालिका एमालेको बलियो आधार भएको क्षेत्र भएको कांग्रेसका स्थानीय नेता नै स्विकार गर्छन् । मुसिकोट र अर्लाङकोट बाहेकका गाविसमा एमाले बलियो रहेको कांग्रेसी दावी छ ।
मुसिकोटमा एमालेका तर्फबाट सोमनाथ सापकोटा, कमला शर्मा, हरि छन्तेल, जीवन खरेल र खड्ग केसीको नाम चर्चामा छ । रेसुंगा र मुसिकोटमा ललिता गौतम र सुशीला मरासीनीको चर्चा महिला उपमेयरमा छ ।
मुसिकोटमा कांग्रेसका तर्फबाट विष्णु सापकोटा, हिरामणि अर्याल, ज्ञानहरि सापकोटा र कृष्णहरि सापकोटाको नाम चर्चामा छ । यीमध्ये कृष्णहरि सापकोटा एमालेसँग प्रतिस्पर्धा गर्ने बलिया उम्मेदवार हुनसक्ने कांग्रेस नेताहरू बताउँछन् ।
‘मुसिकोटमा एमाले कांग्रेसभन्दा बलियो मानिन्छ,’ एक जना कांग्रेस नेता भन्छन्, ‘तर हामीले एमाले लाई परास्त गर्ने खालको उमेदवार उठाउँछाैं ।’ कांग्रेसले एमालेलाई जित्ने गरेरै उम्मेदवार उठाएपनि सो क्षेत्रमा एमालेले कांग्रेसलाई पछि पार्ने अनुमान गरिएको छ । सो क्षेत्रमा माओवादीका तर्फबाट खुमबहादुर थापाको चर्चा छ । तर एमाले र कांग्रेसका सामु माओवादीको उपस्थिती कमजोर भएकाे स्थानीयकाे भनाइ छ ।
जिल्लामा जिल्ला निर्वाचन कार्यालय र राजनीति दलहरू चुनावको तयारीमा जुटिसकेका छन् । माथि उल्लेख गरिएका नामहरू जिल्लामा क्रियाशील राजनीतिक दल, नेता, स्थानीयसँगको कुराकानीमा तयार गरिएको हो । पार्टीहरूले आधिकारिक रूपमा उम्मेदवार घोषणा गरिसकेका छैनन् । जिल्ला निर्वाचन कार्यालयले चाहिँ जिल्लामा चुनावको तयारी व्यापक रूपमा अघि बढिरहेको बताएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेले चुनावको तयारीका लागि निर्वाचन कार्यालयले तीव्र गतिमा काम गरिरहेको बताए । उनका अनुसार जिल्लाभर एक सय ३८ मतदान स्थल कायम गरेर निर्वाचनको तयारी गरिएको छ ।
गुल्मीका दुई नगरपालिकामा कांग्रेस-एमाले प्रतिस्पर्धा
Previous Articleनिसीखोला गाउँपालिकाको केन्द्र जुग्जाखोलामा
Next Article द्वन्द्वपीडितको सवाल र संक्रमणकालिन न्याय