बागलुङ, ९ चैत – नेपालको राजनीतिक आन्दोलन जस्तै दलित अधिकारको आन्दोलनलाई पनि सशक्त र परिणाममुखी बनाउनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् ।
उनीहरुले दलित मुक्ति र बिकास बारेका भ्रमलाई अन्त्य गर्दै समता मुलक समाज निर्माणमा सबैले साझा चासो राख्नुपर्नेमा पनि जोड दिए । एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज बागलुङले ५२ औं अन्तराष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मुलन दिवशको अवसरमा आयोजना गरेको अन्तरक्रियामा सहभागिले दलितलाई अझै पनि मानवीय व्यवहार हुन नसकेको गुनासो गरे । कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सदस्य गोविन्द नेपालीले मानिसलाई हेर्दे दृष्टीकोण नफेरिएसम्म परिवर्तन हुन नसक्ने भन्दै कतैपनि बिभेद भएमा तत्काल कारवाहीको व्यवस्था नगरेसम्म अन्त्य हुन नसक्ने पनि बताए ।
‘संविधानले अधिकार दिइसकेको छ, अव व्यवहारमा परिवर्तन हुन जरुरी छ’ नेपालीले भने, ‘कुनैपनि बाहनामा अव बिभेद हुनु हुँदैन ।’ अधिकारको बिषय भएकोले बिस्तारै हुन्छ भनेर बस्न नहुने उनको भनाइ थियो । समाजका अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, उपाध्यक्ष मनोज विकको स्वागत र पत्रकार नविन शिसिरको संचालनमा भएको कार्यक्रममा एमालेका पूर्व अध्यक्ष जनक पौडेल, युवा नेता हिराबहादुर केसी, उपाध्यक्ष कृष्ण पाठक, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, जिल्ला समन्वय समितिका योजना अधिकृत खिमबहादुर विक, दलित संघका प्रतिनिधि रणबहादुर बोहोरा लगायतले बोलेका थिए ।
अफ्रिकामा काला जातीलाई गरिएको दमन बाट मुक्ति पाएको दिनको सम्झनामा यो दिवश नेपाली दलितको अवस्था समेतलाई लिएर मनाउने गरिएको हो ।