तत्कालिन प्रधानमन्त्री केपी ओलीले गत ०७३ साउनमा अविश्वासको प्रस्तावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने र आफु सत्ताबाट बाहिरिने क्रममा भनेका थिए, भूराजनीति भनेको के हो, हाम्लाई थाहा नभएको हो र ? दक्षिणतिर भारत पर्छ, उत्तरतिर चीन पर्छ । आफ्नो पार्टीगत रणनीतिलाई दृष्टिगत गरी ठट्यौली पारामा व्यक्त गरिएका ओलीका कथनभित्र लुकेको कटु सत्य के थियो भने भारत र चीन उत्तर र दक्षिणका दुई ठूला छिमेकी भएकाले कुनै न कुनै रूपमा यिनको नेपालमा प्रभाव रहन्छ नै । तर मुख्य कुरा नेपालको हित हेरेर कसरी नकारात्मक प्रभाव घटाउने र सकारात्मक प्रभाव बढाउने भन्ने हाम्रो भूराजनीतिको मुख्य चुनौती हो । यो विषयलाई तत्कालिन अवस्थामा ठट्टामा उडाएपनि यसभित्र लुुकेको महत्वपूर्ण विषयले दीर्घकालिन रुपमा महत्व राखिरहेको छ ।
नेपालको सबल छिमेक नीतिका लागि दुबै देशप्रति हाम्रो अपेक्षा के हो, त्यसलाई मिहिन रूपमा केलाउने, हामीप्रति भारत र चीनको अपेक्षा के हो, त्यसको राम्रो हेक्का राख्ने विषयलाई सधै ध्यान दिनु जरुरी छ । चीन र भारतसमक्ष खुला रूपमा सम्वाद गर्ने र यही आधारमा देशका मुख्य पार्टीको छिमेकीलाई हेर्ने एउटै राष्ट्रिय नीति बनाउने, जसले छिमेकीसँगको सम्बन्धबाट नेपालले भरपुर फाइदा लिन सकोस् र वैदेशिक हस्तक्षेप नेपालको विकासमा बाधक बन्नबाट रोक्न सकियोस् भन्ने कुरामा पनि उत्तिकै ध्यान दिनुपर्दछ । तर विडम्बना, हाम्रा सरकारमा नेतृत्व गर्ने राजनैतिक दलको सहि दृष्टिकोणको अभावमा नेपालको छिमेक नीति धेरै असन्तुलित देखियो । ओली प्रधानमन्त्री भएका बेला भारतको नाकाबन्दी र उसको हेपहा प्रवृतिले नेपाल चीनतर्फ ढल्किनुपर्ने परिस्थिति आयो भने प्रचण्ड प्रधानमन्त्री बन्दा भारततिर ढल्किने अवस्था देखियो । प्रचण्ड सत्तामा आएको साढे सात महिनापछि बल्ल नेपाल र चीनबीच उच्चस्तरीय भ्रमण हुनथालेको छ । चीनका रक्षामन्त्री नेपाल आउने र नेपालका प्रधानमन्त्री चीन जाने भएका छन् ।
असामान्य हिसावले भारततिर भइरहेका उच्च स्तरका भ्रमणलाई “स्नेपालका प्रधानमन्त्री र चीनका रक्षामन्त्रीको भ्रमणले छिमेक सम्बन्धमा केही सन्तुलन ल्याउन सहयोग गर्ने देखिन्छ । यसले गर्दा ढिलै भए पनि नेपालले चीनसँगको सम्बन्धलाई सन्तुलित बनाउन खोजेको हो कि भन्ने देखिएको छ । तर किन अहिले हतार—हतारमा चीन जान खोजियो भन्ने प्रश्न पनि उठेको छ । यो प्रचण्ड सरकारको फेरिएको विदेश नीति अर्थात् भारतमा मात्र केन्द्रित नभएर चीनलाई समेत सन्तुलनमा राख्ने छिमेक नीतिको एउटा पाटो हो भने यसलाई सकरात्मक रुपमा लिनुपर्दछ तर बोआओ फोरममा जान मन लागेकाले बेइजिङसमेतको भ्रमण मात्रै गरेर आउने भयो भने यसले दुरगामी असर पनि छाड्न सक्छ। बिना तयारी, हतारमा विदेश भ्रमण गर्न निस्कने र परिणाम विना फकिर्ने परम्परालाई यस भ्रमणले तोड्न सक्नुपर्दछ र चीनसंगको सन्तुलिन समबन्धलाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्माण गर्न सक्नुपर्दछ ।