डिल्लीप्रसाद गौतम
यो संसारमा मान्छेले गर्न चाह्यो भने असंभव भन्ने केही छैन । परिवर्तनको संवाहक पनि मान्छे नै हो । यदि मान्छेले आत्म देखि नै यो कुरा गर्न आवश्यक छ र म गरेर देखाउदछु भनेर आफ्नो आत्म देखिनै कसम खायो भने त्यो काम अवश्य सम्भव पनि छ । परन्तु त्यो कार्य उसले आत्मदेखि नै गर्न चाहेको हो वा देखावटी ? उसको कार्यक्षमता, दृढ विश्वास र तत्परतामा निर्भर गर्दछ । लेखकले उठान गर्न खोजेको विषय अहिले बागलुङ जिल्लाको सदरमुकाममा रहेको नेपाल विद्युत प्राधिकरण बागलुङ शाखाको हो । लेखकले विगतमा पटक–पटक यस शाखाको कर्मचारीहरुबाट प्रदान हुने सेवा र सेवाग्राहीमा परेको असुवीधाका बारेमा स्थानीय पत्रिका मार्फत जनगुनासा आफ्नो लेखमा प्रकाशित भएका थिए । तर अहिले उक्त कार्यालयमा सेवाग्राहीले अनुभू ितगर्ने गरि कार्यालयले आफ्नो सेवामा परिवर्तन गरेको छ । विगत केही समय यता कार्यालयले सेवाग्राहीको लागि घामपानीमा घण्टौं सम्म लाइनमा बस्नुपर्ने अवस्थालाई सुधार गर्दै छानामुनी बस्ने व्यवस्था गरेको छ । कार्यालयले हस्तलिखित बिलिङ सिस्टममा परिवर्तन गरी कम्प्युटर प्राणालीको व्यवस्था गरेको छ । जसले गर्दा एकातिर पारदर्शिता कायम भएको छभने पहिला जस्तो घण्टौं लाइनमा बस्नुपर्ने झन्झटबाट सेवाग्राही मुक्त भएका छन् ।
यति मात्र हैन लाइनमा खडा भै रहनु नपर्ने अर्थात बस्ने व्यवस्था बसिरहँदा पट्याहार लाग्नबाट मुक्त हुन टि.भी. हेर्ने व्यवस्था, लामो समय बस्नु पर्दा तिर्खा प्यास लाग्न, सक्दछ, जारको खाने पानीको व्यवस्था पनि कार्यालयको प्राङ्गण भित्र स्पष्ट देख्न सकिने गरी व्यवस्था भएको छ । उसोत अहिले पहिले जस्तो कार्यालयमा विल तिर्न लामो समय नै बस्नु पर्देन । लाइन लागेको १०÷१५ मिनेटमा लाइनको व्यक्ति बाहिरीने व्यवस्था कम्प्युटर प्राणालीले गराई दिएको छ । तर पनि केही समय बरालीनको लागि कार्यालयमा व्यवस्था गरिएका सुविधाले सेवाग्राहीमा सहजता प्रदान गरेको छ । त्यती मात्र हैन सेवाग्राहीका गुनासा सुन्न र जान्नका लागि सिधै कार्यालय प्रमुखसँग सम्पर्क गर्नको लागि कार्यालय प्रमुखको नाम र सम्पर्क नम्बर समेत प्रत्यक्षदेखिने गरी लेखि राखिएको छ । साथै कार्यालयमा भएका काम कारवाहीका बारेमा केही बुझ्न तथा जान्न चाहनेहरुका लागि सूचना अधिकृतको पनि नाम र सम्पर्क नं. सेवाग्राहीहरुले देख्न सकिने गरि राखिएको छ ।
बास्तवमा नेपाल विद्युत प्राधिकरण बागलुङ शाखाले आफ्नो लामो सयमको अवधिमा आफ्नो पुरानो संरचनामा व्यापक परिवर्तन गर्दै आफ्नो ग्राहक वर्गहरुको वर्षौ देखिको आवाज तथा गुनासाहरुको एक हद सम्म सम्बोधन गर्न सकेको आभाष भएको छ । कार्यालय आफ्ना मातहतबाट प्रदान हुने सेवाको प्रकृति, सेवा प्रदान गर्न लाग्ने समय र दस्तुर सहितको नागरिक वडापत्र समेत व्यवस्था गरेको छ । जेष्ठ नागरिक (६० वर्ष माथि) अपाङ्गता भएका, सुत्केरी तथा बालबच्चाका आमाहरुलाई लाइनमा बस्नै नपरिन विल बुझाउने व्यवस्था गरेर सभ्य समाजको उदाहरण प्रस्तुत गरेको छ । तर पनि नागरिकहरुका अपेक्षा यतिले मात्र पुरा भने भएको छैन । जे जति प्रयासहरु भए छोटो समयमा उदाहरणीय नै भएका छन् । त्यसको लागि विद्युत प्राधिकरण बागलुङ शाखालाई धन्यवाद दिनुपर्दछ । केही मात्रामा भएपनि नागरिकहरुको गुनासालाई कार्यालयले सम्बोधन गरेको छ । आगामी दिनहरुमा कार्यालयको तर्फबाट गर्नुपर्ने काम धेरै छन् । खास गरि विद्युत आपुर्तिमा नियमितता, गम्भिर विषय बनेको छ । विना जानकारी विद्युत आपुर्ति बन्द हुने । जानकारी लिन खोज्दा कार्यालयको फोन नलाग्ने बनाएर होल्डमा लामो समयसम्म राख्ने, एक दिनमा कैयौ पटक विद्युत सप्लाइ बन्द हुने, आदि विषयमा कार्यालयले यथाशिघ्र सम्बोधन गर्नुपर्ने विषय छन् । जे होस् आगामी दिनहरुमा नागरिकका यि गुनासाहरु पनि विद्युत वितरण कार्यालयको तर्फबाट सम्बोधन हुन र नागरिकहरुले परिवर्तनको महशुस गर्न सकुन् लेखकको तर्फबाट यहि शुभ कामना !!!