बागलुङ, ६ चैत – चैत्राष्टमी–२०७३ मा यसवर्ष फुटबल प्रतियोगिता पनि समावेश गरिने भएको छ । जिल्लामा युवाहरुको फुटबल खेलप्रतिको आकर्षणलाई ध्यानमा राखेर चैत्राष्टकी मेला ब्यवस्थापन समितिले अन्तर कलेज स्तरीय चैत्राष्टमी कप फुटबल प्रतियोगिता संचालन गर्न लागेको हो ।
धौलागिरी अंचल भित्रका उच्च मा.वि तथा क्याम्पसहरुले उक्त प्रतियोगितामा समावेश हुन पाउने छन् । प्रतियोगितामा विजेतालाई नगद ४० हजार, र उपविजेतालाई नगद २० हजार सहित ट्फी, पदक र प्रमाण पत्र प्रदान गरिने छ । साथै उत्कृष्ठ खेल प्रदर्शन गर्ने विविध ८ विधाका खेलाडीहरुलाई समेत पुरस्कृत गरिने बताइएको छ । चैते दशैको पहिलो दिन चैत्र १६ गते बाङ्गेचौर मैदानमा प्रतियोगिता प्रारम्भ हुने छ ।
प्रतियोगिता १८ गतेसम्म चल्ने छ । चैत्राष्टमी मेला कला र क्षमता प्रदर्शन गर्ने उपयुक्त अवसर भएकाले कलाकारहरुका साथै खेलाडीलाई प्रोत्साहन गर्न फुटबल प्रतियोगिता समाबेश गरिएको मेलाका मुल संयोजक राजु खड्काले बताए । मेलामा फुटबल ब्यवस्थापनका लागि फ्यूचर स्पोर्टस र बागलुङ खेलकुद क्लबसंग सहकार्य गरिएको र आगामी बर्षदेखि संस्थागत रुपमा प्रतियोगिता संचालन गर्ने तयारी भै रहेको खड्काले बताए ।
प्रतियोगिता संचालनका लागि कूल ५ लाख १५ हजार रुपैयाँ खर्च हुने फयूचर स्पोर्टस क्लबका संयोजक फणिन्द्र खड्काले बताए । प्रतियोगितामा अञ्चल भित्रका करिब १२–१५ टिमको सहभागीता रहने छ । प्रतियोगितामा सहभागि हुन चाहने कलेजले चैत्र १५ गतेसम्म टिम दर्ता गर्नुपर्ने बागलुङ फुटबल क्लबका अध्यक्ष प्रकाश शर्माले जानकारी दिए ।