सुरेशकुमार यादव
विराटनगरका लागि बलाजु बसपार्कमा रात्रिकालीन बसमा चढेँ । बी साइडको पाँच नम्बरको सिटमा गएर बसे जो पहिलादेखि नै मेरो लागि बुक थियो । ६ नम्बर सिटको यात्रु नआएसम्म दुई सिटको मालिक जस्तै एउटामा झोला अर्कोमा आफै बसेँ । अर्का यात्री नआएसम्मका लागि जता पनि हात खुट्टा तन्काएर बसे नि हुने भो ।
म त्यस्तै गरेँ । एकछिन त लाग्यो कि यो सिटमा विराटनगरसम्म कोही नआइ दिए कति आनन्द हुन्थ्यो । मलाई यो सिट सित्तैँमा विराटनगरसम्मका लागि दिएको भए कति आनन्द हुन्थ्यो । मन नै न हो, कल्पना गर्न कसले रोक्छ र ? फेरि यो सिटमा कस्तो मान्छे आउला, को आउला पनि चिन्ता लाग्यो । गाडीमा एक्लै यात्रा गर्ने केटा मान्छेको मनमा हुन्छ कि छेउको सिटमा कुनै केटी आएर बसिदियोस् । रात राम्ररी कटोस् र यात्रा सुखमय होस् ।
मेरो मनमा पनि केही वर्ष पहिलेसम्म यो कुरा मनमा आउँथ्यो तर अहिले आउँदैन । बिजुली चम्कँदा तर्सेझैं केटीहरु गाडीमा चढ्दा म तर्सिन्छु । पाँच वर्ष अगाडि यस्तै यात्रा गर्दा एउटा अधबैंसे महिलासँग मेरो सिट परेको थियो । रातभरिको क्रियाकलापले गर्दा म उसँग प्रेम गर्न पुगेका थिएँ । उसले पनि मलाई प्रेम गर्यो कि गरेन थाह भएन ।
तर बिहान हुँदासम्म म लठ मात्र होइन, उनी समक्ष आफूलाई सुम्पिसकेका थिएँ । तर झर्नेबेला बाइसम्म पनि भनिनन् । गाडीबाट झर्दा एकपटक फर्केर हेरिनन् । उनी झरि सकेपछि गाडी हिँड्यो । उनी ओझेलमा नपरेसम्म झ्यालबाट हेरिरहेँ तर उनले एकपटक पनि फर्केर हेरिनन् । मेरो मुटु उसँगै छुट्यो कि म भक्कानिएँ, कसैले नदेख्ने गरी ।
बरु मेरो पछाडिको सिटमा बसेका एकजना चिनजानले भने, ‘के हो रात त राम्रै बिते होला नि ।’ बनावटी मुस्कानबाहेक तत्काल केही जवाफ दिन सकिन । रातभरि उनीसँग भएको कुराकानीको आधारमा उनलाई ठाउँठाउँमा खोज्ने प्रयास नगरेको पनि होइन । तर कतै भेटिएन । म रोगी भएँ । रोग निको हुन तीन महिना लाग्यो ।
त्यो डर अहिलेसम्म मेरो मनमा छँदैछ । ६ नम्बर सिटमा कुनै महिला आएर नबसोस् भनी चिन्तामा थिएँ म । बलाजु हुँदै गौशालासम्म आउँदा तीनजना अर्धबैंसी महिला गाडीमा चढेकी थिइन् । म तर्सिन्थेँ । सिनामङ्गलबाट एकजना भर्खरकी केटी चढिन् । ६ नम्बर सिटमा आएर बसिदेला जस्तो भएको थियो तर अहँ पछाडिको ९ नम्बर सिटमा गएर बसिन् ।
सातोबाटोमा तीनजना महिला, एउटा पुरुष र तीनटा बच्ची एकैसाथ चढे । उनीहरु एउटै परिवारका जस्तो लाग्यो । एउटी बच्ची र एउटी महिला ए साइडको महिला आरक्षित सिटमा बसे । अर्को त्यही साइडको ७ र ८ नम्बरको सिटमा एउटा पुरुष र अर्को महिला एउटा एउटा बच्ची बोकेर बसिन् । बाँकी रह्यो एउटा महिला जो हिँडिरहेको बसको सिलिङ्गको डण्डा समातेर उभिएकी थिइन् । उनी कराइन्, ‘मेरो सिट खोइ ।’
कन्डक्टर कुदेर आयो र भन्यो ‘दिदी तपाईं यहाँ बस्नुस् ।’ महिला आरक्षित सिटमा बच्चीसहित बसेकी महिलालाई भने, ‘ए दिदी बच्चीलाई आफ्नो काँखमा लिनुस् त ।’ चुज कालो पाइन्ट र निलो भेस्ट लगाएकी ती अधबैंसे महिलाले कराएर भनिन्, ‘म दुइटै सिटको पैसा तिरेको छु भने किन बच्चीलाई हटाउने ?’
हत्तपत्त कन्डक्टरले आफ्नो रेकर्ड पल्टाएर हेरेँ, हो रहेछ । बलाजुको काउन्टरमा ती महिलाले दुइटै सिट काटेको रहेछ तर गौशाला काउन्टर त्यही सिट अर्को महिलाको नाममा काटेका रहेछ जो सिटका लागि कराई रहेकी थिइन् ।
कन्डक्टरले ती अधबैंसे महिलालाई भने, ‘दिदी तपाईं आफ्नो बच्चीलाई काँखमा लिनुस् न बरु म तपाईंको पैसा फिर्ता दिन्छु ।’
दिदी झन् कड्केर जवाफ दिइन्, ‘ओई ! म सिट आफ्नो सुविधाका लागि लिएको छु कि पैसा फिर्ता लिन । म बच्चीलाई काखमा लिदिनँ । यो एकछिनको कुरा हो र रातभरिको कुरा हो ।’
कन्डक्टर निरास भए । बीचमा डण्डा समातेर उभिएकी महिला पनि कराउन थालिन्, ‘मेरो सिटको अब के हुन्छ ? मलाई सिट चाहिन्छ ।’
‘ए ! दिदी कति कराको चुप लाग्नुस् न, म मिलाउँदै छु नि,’ भन्दै कन्डक्टरले घरी आफ्नो रेकर्ड हेर्थे, घरी यात्रु गन्थे । त्यतिबेलासम्म मेरो मुटुको गति ८० नाघिसकेको थियो ।
थुप्रै सिटहरु खालि थिए । ६ नम्बर सिटबाहेक अरु कुनै सिट मिलाउँला भनेर मेरो मनको कुनै कुनामा आशा पनि पलाएको थियो ।
नभन्दै कन्डक्टर मेरो छेउमै आएर भने, ‘ए ! दाइ आफ्नो झोला यहाँबाट हटाउनुस् त । दिदी ल यहाँ बस्दै गर्नुस्, म सिट मिलाउँदैछु ।’ म आफ्नो झोला लिएँ । सातोबाटोदेखि कलङ्कीसम्म आउँदा डण्डा समातेर उभिएकी ती महिला थकित जस्तै ‘उफ’ भन्दै ६ नम्बरमा थच्चक बसिन् ।
अघिदेखि दुइटा सिटको राजा म सेकेन्डमै रङ्क भए । म भित्तामा टाँसिएँ ।
कलेजी रङको कुर्ता–सल्वार र हरियो सल ओढेकी ती महिला आफ्नो झोलाबाट मोबाइल झिक्दै कन्डक्टरलाई सोधिन्, ‘भाइ, वाइफाई छैन ।’
अघिदेखि एनटीसीको थ्रीजी डाटाबाट नेट चलाइरहेको म आफूलाई ती महिलाको अगाडि बुद्धु भएँ । तर कन्डक्टको जवाफ आयो, ‘दिदी १५ दिनदेखि वाइफाई बिग्रेको छ ।’ मलाई लाग्यो ठिक्कै गरेको छु मैले सोधेको रहेनछु ।
‘त्यसो भए गाडीमा सानका साथ किन वाइफाई लेखेको त मेटाइ दिनुस् न’ कड्किएर भनेपछि कन्डक्टरले ङिच्च दाँत देखाउनु बाहेक केही जवाफ दिन सकेनन् ।
‘ला ! मोबाइल अफ भएको रहेछ त, घरमा चार्ज गर्न नै बिर्सेको छु, अब कसरी चार्ज गर्ने’ भनी बर्बाराइन् । त्यतिबेलासम्म उनी मतिर एकपटक पनि हेरेको थिएन । मेरो नजर अरुतिर गएको बेला हेरेको होला त्यो छुट्टै कुरा, तर मलाई जहाँसम्म थाह छ मतिर एकपटक पनि उनले हेरेको छैन । बरु मैले पटक पटक हेरेको छु ।
गाडीमा मोबाइल चार्ज गर्ने व्यवस्था रहेछ भने कुरा मलाई अघिदेखि थाह थियो । गाडीमा चढ्ने बेला टिकट पढ्दा त्यो कुराको जानकारी पाएको थिए । मेरै छेउमा चार्ज गर्ने बोड रहेको छ । मैले पनि हत न पत भनिदिए ‘म्याडम यी ! यहाँ छ चार्ज गर्ने ठाउँ ।’
‘ए थ्याङ्क्यु सर’ मन्द मुस्कानमा भनिन् । त्यो नै पहिलो नजर जुधाई थियो हाम्रो ।
उनले आफ्नो झोलाबाट चार्जर झिकेर फोनमा लगाएर भनिन्, ‘प्लिज सर, यो लगाइ दिनुस् न ।’ उनले पनि चार्जर छिराउन सक्थिन् तर मेरो जिउलाई नछोइकन चार्जर छिराउन मुस्किल थियो । त्यही भएर उनले मलाई आग्रह गरेकी थिइन् । मैले उनको हातबाट चार्जर लिएर छिराए तर चार्ज लिएन ।
उनले फेरि कराइन्, ‘भाइ यहाँ चार्ज भएन त ।’
ड्राइभरसँग क्याबिनमा बसेका कन्डक्टर उतैबाट भने, ‘दिदी टिभी चलेपछि मात्र चार्ज हुन्छ ।’ निधार खुम्चिने गरी रुने भावमा भनिन् ‘त्यसो भए टिभी चलाऊ न त, मोबाइल अफ छ, घरमा फोन गर्नु छ ।’
एकछिन् त लाग्यो फोन गर्नका लागि आफ्नो मोबाइल दिहालौँ, या मोबाइल चार्ज गर्ने पावर बैङ्क नै दिहालौँ । तर मलाई उचित लागेन ।
उताबाट कन्डक्टर कराए, ‘थानकोट कटेपछि मात्र टिभी चल्छ ।’ ती महिलालाई झन् बेचैनी भयो । उनको बेचैनी देखेर सहयोग गरौँ कि जस्तो लाग्यो तर मनले भन्यो होइन । उनी घरी कपाल मिलाउँछिन्, घरी पर्स मिलाउँछिन् । जिउका कुनै भागको नदेखियोस् भनी सल तथा कुर्तालाई तानतुन गरेर पूरै शरीर ढाक्ने प्रयास गर्थिन् ।
उनले आफ्नो पर्सबाट च्याप्ने झिकेर कपाल बाँधिन् । म सिटको बीचमा रहेको सिटको डण्डामा आफ्नो कुहिना राखेर सिटलाई फोल्डिङ गरी तल ढल्केँ । पछाडिको मान्छे कराए, ‘ओ सर यतिखेरै सिट फोल्डिङ गर्ने हो, खाना खाएपछि सुत्ने बेला पो गर्ने हो त ।’
म केही जवाफ नदिइकन सिट सीधा पारेँ । खुल्ला र गाडी तथा मान्छेको भीड भएको देखेर ती महिलाले सोधिन्, ‘सर यो कुन ठाउँ हो ।’ म झ्यालबाट बाहिर हेरेँ । एउटा बोर्डमा लेखेको थियो ‘थानकोट’ । मैले भने, ‘थानकोट’ ।
त्यसो भए, अब टिभी चल्ने भो होइन सर, यस्तो आशाभाव जिज्ञासामा मैले भने ‘खै !’ अघिदेखि मुर्झाएको अनुहारमा एकाएक चमक आयो । तर उनको सरोकार टिभीसँग थिएन । मोबाइलसँग थियो । जो चार्ज भएपछि कसैलाई फोन गर्नुथियो । यदि फोन गर्ने त्यस्तै इमार्जेन्सी हो भने मसँग मोबाइल मागेर फोन गर्न सक्थिन् तर उनले नमागेपछि मैले किन दिने ।
थानकोट कटिसकेपछि पनि टिभी चलेन । उनको अनुहारमा फेरि तनाव बढ्न थाल्यो । यो टिभी किन नचालाएको होला भनी बर्बाराउन थालिन् । ‘ए भाइ टिभी किन नचलाको’, कराएर भनेपछि अगाडि बसेका सबै यात्रु पछाडि फर्केर हेरेका थिए । उनीहरु पछाडि फर्केर ती महिलालाई हेरेपछि किन हो कुन्नि मलाई लज्जा बोध भयो ।
तर ती यात्रुलाई के थाह । चासो टिभीको होइन, मोबाइल चार्जको हो ।
क्याबिनबाट निस्केर कन्डक्टरले टिभी चलाई दिए । टिभी चलाउने बित्तिकै मैले नै उनीसँग चार्ज लिन हात अगाडि बढाए । उनले चार्जर दिइन् मैले चार्जर बोर्डमा हालिदिएँ । उनको मोबाइल चार्ज हुन थाल्यो । उनले अन गरेँ । ‘हेर न मोबाइल अफ थियो, फोन गर्न पाइनन्, सरी डियर’, भन्दै केही कुराकानी उनले गरिन् ।
एकछिनपछि एक अर्को ठाउँमा फोन गरिन् र भनिन् ‘भर्खर थानकोट कटेको छु ।’ एउटा अर्को फोनसहित तीन ठाउँमा फोन गरेपछि उनी बल्ल लामो सास लिएर शान्त भइन् ।
अघिदेखि हामीबीच रहेको एउटा सिटको डण्डामा मेरो कब्जा थियो, त्यसमा अब उनले कब्जा जमाइन् । चप्पल खोलेर अगाडिको सिटमा पानी तथा अन्य समानहरु राख्ने ठाउँमा चप्पल छिराइन । पलँेटी मारेर सिटमा बसिन् । मोबाइलमा फेसबुक चलाउन थालिन् । उनले आफ्नो फेसबुकमा अपलोड गरेर राखेकी फोटोहरु मलाई देखाउने प्रयत्न गरिन् । मैले उनको मोबाइल प्रष्ट रुपले नियाल्न सक्ने गरी मोबाइल चलाउन थालिन् ।
मैले पनि उनले थाह नपाउने गरी उनको मोबाइलका फोटाहरु हेरेँ । मुख चुचो पारेको सेल्फी फोटादेखि लिएर पुरै तिघ्रा देखिनेगरीको हाफ पाइन्ट लगाएको फोटा, पहाडको डिलमा जिन्स पाइन्ट सजिएका उनी दुइटा औंला देखाएका फोटोहरु चोरी चोरी हेरेँ ।
टिभी स्क्रिनमा बजेको र्याप म्युजिकामा उनको ध्यान गयो । ‘चिटिया कलैया रे ओ बेबी मेरी चिटिया कलैया रे….’ भनी गीतमा नायिकाले तिघ्रा देखिने गरी लगाएको हाफ पाइन्ट हेरेर उनले भनिन् ‘छ्या, यो केटीहरु कटी छाडा हुँदै गइरहेका छन् है ।’
मैले केही प्रतिकृया जनाइन । मैले झन् ध्यानपूर्वक त्यो गीत सुन्न थालेँ । उनले घरी टिभीतिर घरी मोबाइलतिर हेर्दे गरिन् । ‘खोले खोले मैले तिम्रै लागि दिल खोली दिएँ…’ भनी नेपाली गीत बज्न थालेपछि त झन् उनको पारो तात्यो । ‘हेर हेर छ्या…’ भनी उनले आफ्नो सललाई दाँतले टोक्दै लजाइन् ।
यतिकैमा उनको मोबाइलबाट चर्जर डिस्कनेक्ट भयो । सरलाई मात्र कति दुःख दिनु भन्दै उनले आफै चार्जर मिलाउन थालिन् । मेरो तिघ्रालाई आफ्नो कुहिनो टेकेर चर्जर मिलाउन थालेपछि मलाई अप्ठ्यारो भयो र भने, ‘मैले मिलाई दिन्थे नि ।’
‘हैन, सरलाई मात्र कति दुःख दिनु’ उनले भनिन् ।
‘सरले पनि यस्तो गीतहरु सुन्नुहुन्छ ?’
मैले भने, ‘टिभी चलेपछि आँखा बन्द गर्नु पनि भएन नि ।’
‘ए हो त है’ उनले भनिन् । ‘अहिलेको गीत र फिल्महरु सार्वजनिक ठाउँमा हेर्ने खालकै हुँदैन’ उनले दोहोर्याइन् ।
मैले भने, ‘कस्तो ठाउँमा हेर्नुपर्छ त ।’
‘एक्लै हेर्नुपर्छ वा बन्द कोठामा हेर्नुपर्छ’ उनले भनिन् । उनीसँग धेरै नबोलौँ जस्तो सुरुदेखि नै लागि रहेको थियो तर विस्तारै हामी खुल्दै थियौं । त्यतिकैमा पुनः मोबाइलको चार्जर डिस्कनेक्ट भयो ।
यसपालि त हदै भयो । उनले आफ्नो वक्षस्थलको भारी मेरो काँधमा राखेर मोबाइलको चार्जर मिलाउन थालिन् । मलाई निकै अप्ठ्यारो भयो । जे सोच्दै थिए, त्यही हुँदैथियो । चार्ज मिलाएपछि ‘सरी है सर’ भनिन् ।
झण्डै टिभी स्क्रिनको मधुरो प्रकाश गाडीभित्र थियो नत्र अरुले ती महिलाको हरकत हेरेको भए के हुन्थ्यो भनि सोचेर हैरान थिएँ म । अलि खुकुलो भएका म झन् भित्तामा टाँसिए । उनको केहीमा नछोइयोस् भनेर सतर्क भएँ ।
उनले कपालमा लगाएको च्याप्ने झिकेर व्यागमा राखिन् र पूरै कपाल मतिरै फर्काइन् । उनको भारी वक्षस्थलले मलाई अप्ठ्यारो पार्यो कि जस्तो गर्दैथिन् । त्यही भएर केही नबोली उनी आफ्नो मोबाइलमा व्यस्त भइन् । तर उनको कपालले मलाई अप्ठ्यारो पारिरहेको छ भने कुराबाट उनी अनभिज्ञ थिइनन् ।
आज नै सनसिल्क सेम्पुले कपाल नुहाएको कारण मगमग बास्ना ताजै थियो । कपाल पनि सिल्की सिल्की र ताजा । गाडीको फ्यानको हावाले उनको कपाल मेरै जिउभरी लहराइ रहेको थियो । म सकेजति पन्छाउँथे तर मगमग त्यो बासनाले पूरै पन्छाउने मन पनि मानिरहेका थिएन ।
मोबाइलको चार्जर फेरि डिसकनेक्ट भयो । उनले आफै मिलाउन खोज्दा मैले हतपत मिलाई दिएँ । उनले आफ्नो कपाल मिलाउँदै ‘थ्याङ्क्स’ भनिन् ।
फेसबुक चलाउँदै घरी के सोद्थिइन, घरी के सोद्थिइन् । म कुनैको टाउको हल्लाएर, कुनैको अँ, हुँ भनेर प्रतिकृया दिन्थेँ । साउथ इन्डियन फिल्म रामलखन–२ सुरु भयो । त्यो फिल्ममा कुइरेनीहरु तिघ्रा मात्र होइन पछाडिको बम्ब (चाक) देखिने गरी हाफ पाइन्ट लगाएर डान्स गरेको देखेर छ्या भन्दैथिइन्, ‘यिनीहरुले नै हाम्रो कल्चरलाई बिगारेको छ ।’
‘कसैले बिगार्दैमा बिग्रिनु नबिग्रिनु आफ्नो हातमा छ, तपाईं पनि त तिघ्रा देखिने गरिको हाफ पाइन्ट लगाएको फोटो फेसबुकमा राख्नु भएको छ नि’, झोँक चलेपछि मैले पनि भन्दिएँ ।
‘हैट सरले पनि मेरा सबै फोटो हेर्नुभएको जस्तो लाग्यो’ भन्दै धक्का लाग्ने गरी मेरो पाखुरामा हान्नुभयो ।
‘त्यो फोटो त मेरो अलि पुरानो रहेछ नि सर’
‘पुरानो भए पनि तपाईंको फोटो त हो नि’, लजाउँदै उनले आफ्नो टाउको हलाउँदै स्वीकार गरिन् । ‘अरुतिर एउटा औँला देखाउँदा आफूतिर तीनवटा औँला तेर्सिएको कसैले याद गरेको हुँदैन, आफू ठीक भएपछि मात्र अरुलाई बेठिक भन्न सुहाउँछ’, अलि झोँकिएर भन्दिएँ ।
त्यसपछि त सान्नाटा नै छायो । सिटमा बसेदेखि बकबक गर्ने उनको बोली बन्द भयो । उनले चुपचाप आफ्नो मोबाइल चलाउन थालिन् ।
एकछिनपछि उनी आफ्नो मोबाइल मेरो तिघ्रामा बजार्दै भनिन् ल सर हेर्नुस् मैले फोटा भएका सबै पोस्ट डिलिट गरिदिएकी छु ।
मैले अलि आँखा तरेर भने, ‘यो के गर्नुभएको तपाईं ।’ मलाई एकदमै रिस उठिसकेको थियो । मैले उनको मोबाइल दिएर कन्डक्टरलाई बोलाएर सिट चेन्ज गरिदिनु भन्न मन लागेको थियो तर अरु यात्रीले के भन्ला भनी डरले केही बोलिन ।
उनको स्वभावमा परिवर्तन आयो । एउटा भर्खरकी बच्ची जस्ती सुकसुक गर्न थालिन् तर मलाई बालै भएन म वास्ता गरिन । उनको मोटो शरीर र कुर्ता सलवार लगाएको कारणले मैले उनलाई महिला ठानेको थिएँ तर अहँ उनको व्यवहारले थाह पाएँ २५ भन्दा माथिका थिएन ।
हेटौँडामा खाना खान बस रोकेपछि उनले भनिन्, ‘सर जाऊँ खाना खान ।’
मैले भने, ‘म बाटोमा कहिले खाँदिन तपाई खाएर आउनुस् ।’
केही जवाफ नदिइकन उनी सरासर बसबाट ओर्लिइन् । एकछिनपछि दुइटा बोतल कोक र एउटा लेज लिएर आइन् । ‘सर ल खानुस्’ कोकको बोतल दिँदै भनिन् ।
मैले भने, ‘म चिसो खाँदिन मेरो घाँटी बिग्रेको छ चिसोले ।’
‘ल यो नै खानुस्’ लेजको प्याकेट दिँदै मैले भने, ‘डाक्टरले चिल्लो पिरो केही नखान भनेको छ ।’
‘अनि के खानु हुन्छ त्यहीँ ल्याइ दिन्छु ।’
अनि मैले भने, ‘केही पर्दैन ।’
उनी चुपाचाप एक बोतल कोक दुई घुटुकमा नै सिध्याइन् । एउटा झोलामा राखिन् । लेज खाएको हेर्दा लाग्थ्यो उनी रिसाएकी छिन् तर मैले कुनै मतलब राखिन । बस हिँड्यो । टिभी नचलेपछि चार्जरमा लाइन पनि आएन ।
उनले भने, ‘सर चार्जर दिनुहुन्छ कि म आफै लिऊँ’
‘मैले चार्जर झिकेर दिएँ ।’
उनले ‘थ्याङ्क्स’ भनिन् ।
सबै यात्री भातको नाशा लागेर सिटको फोल्ड झारेर सुत्न थाले । मैले पनि त्यसै गरें । गाडीभित्रको पूरै बत्ति निभ्यो । पूरै अँध्यारो भयो । एकअर्कालाई नदेखिने अँध्यारो । उनी पनि सिटको फोल्डिङ झारेर ढल्किइन् । बीचमा रहेको डण्डलाई उनले माथि गरिदिइन् । अघिदेखि हामीबीचको पर्खाल पनि हटाइन् र उनी मसँग टाँसिन् ।
मलाई कस्तो उकुसमुकुस भयो । बोलु भने हल्ला हुने डर । नबोलु भने आफै बर्बाद हुने डर । असमन्जस्यमा परेँ । उनले आफ्नो अँगालोमा लिँदै कान नजिक मुख लगेर भनिन्, ‘सरी सर, मैले जेजति बोलेकी छु, जे हर्कत गरेकी छु, तपाईंलाई आकर्षित गर्नका लागि मात्र हो । मैले तपाईंलाई जाँच्नका लागि त्यस्तो कुराहरु बोलेको छु तर म सकिनँ ।’
‘तपाईं साह्रै भलादमी र सोझो हुनुहुन्छ’, भनिन् ।
म उनको अँगालोमा यस्तो कसिएका थिएँ कि केही बोल्ने आँटै भएन । म उनको अँगालोबाट छुटिने प्रयत्न गरिरहेका थिए तर धेरै बल गरिनन् । मैले बल गरेपछि अरुको निद्रा खल्बलिन सक्छ कि भन्ने डर थियो । मेरो प्रयत्न थाह पाएर उनले भनिन्, ‘सर प्लिज तपाईंले मलाई मन पराउनु भएन केही छैन तर प्लिज म केही गर्दिन, मलाई यस्तै रहन दिनुस् ।’
त्यसको कुरा सुनेर माया होइन, दाया लागेर आयो । मैले पनि अलि सहज गरिदिएँ । उनी आफ्नो टाउको मेरो छातीमा राखेर लामो साँस लिएर आँखा चिम्म गरिन् ।
म उनको बारेमा सोच्न थाले । वास्तवमा यी केटी को हुन्, कहाँबाट आएकी छिन् । काठमाडौँमा के गर्दैछिन्, यिनको नाम के हो, आमा बुवा के गर्दैछन् आदि कुराहरु जान्न मन लाग्यो । तर अब यति राति सम्भव छैन । सबैजना सुतिसकेका छन् । यो अवस्थामा हामीले धेरै खासखुस गर्न थाल्यौँ भने अरुले के भन्लान् भन्ने डर थियो । यी कुरा सोच्दै कतिखेर निदाएँछु पत्तै भएन ।
खलासीले ढल्केबर ओर्लने कोही छ भनेपछि मेरो निन्द्रा भङ्ग भयो । झिसमिसे बिहान भएको थियो । सबैजना मस्त निद्रामा थिए । मेरो अगाडिको सिटमा रहेकी एउटा बच्चा भएकी महिला मात्र आफ्ना बच्चासँग खेल्दै बोल्दै थिइन् । अरु सबै मस्त ।
ऊ राति जसरी मेरो छातीमा टाउको राखेर सुतेकी थिइन् त्यस्तै थिइन् । खाली उनको सल जिउबाट तल झरेको थियो । मैले उठाएर उनको जिउ छोपिदिए । उनलाई उठाई दिउँजस्तो लागेको थियो । फेरि निदाई रहेकालाई किन उठाउने । फेरि मलाई कुनै अप्ठ्यारो पनि परेको छैन ।
कमला पुल कटेपछि यात्रुहरु विस्तारै विस्तारै जिउ तन्काउन थालेका थिए । मलाई डर लाग्न थाल्यो । कसैले यसरी सुतेको देख्यो भने के भन्लान् भनेर उनलाई विस्तारै उठाए । उठेपछि उनी पनि हतपत आफूलाई सम्हालिएर र लजाउँदै भनिन्, ‘सरी सर ।’
उनले दयाँबयाँ पनि हेरिन् कि कसैले त हेरेको छैन । कसैले हामीतिर ध्यान नदिएको देखेर ढुक्क भएपछि मात्र उनले लामो साँस लिँदै कपाल मिलाएर च्याप्नेले कसिन् । मोबाइल, झोला चार्जरहरु मिलाउन थालिन् ।
उनले सोधिन् ‘सर हामी कहाँ आइ पुग्यौँ’ उनको बोलीमा प्रेम र अपनत्व झल्किन्थ्यो ।
मैले भने, ‘मिर्चैया’
उनले आफ्नो घडी हेर्दै भनिन्, ए ! मैले पनि मोबाइलमा टाइम हेरेँ । साढे छ बजेको रहेछ । कहाँ झर्ने सोध्नसम्म पनि हिम्मत भएन मलाई । भित्रभित्र मलाई आत्मग्लानी र लज्जाबोध भइरहेको थियो । उनले पनि मलाई राम्रोसँग हेर्ने आँट गरेकी थिइनन् । हिजोको त्यो महिला आज मलाई भर्खरको केटी लाग्न थाल्यो र हिजोभन्दा उनी आज धेरै फरक देखिन थालिन् । यतिबेलासम्म कोशी ब्यारेज कटिसकेका थियौं । भण्टाबारीमा एक हुल केला बेच्नेहरु आए । मैले घरका लागि एक दर्जन केला किने ।
जसले राति मलाई खानका लागि यति कर गरेकी थिइन् आज उनलाई एक पिस केला खान पनि आग्रह गर्न आँट आएन मलाई । मैले सीधै झोलामा राखेँ । उनको मोबाइलमा फोन आयो र उनले छोटो र रुखो जवाफ दिइन्, ‘म आइ पुगेँ, १० मिनेटमा आइपुग्छु ।’ हिजोको जस्तो चञ्चलता उनको बोलीमा थिएन । थकित र पीडित अवाज थियो ।
इटहरी बजार पस्ने बित्तिकै उनले आफ्नो झोला झम्टी मिलाउन थालिन् । मेरो मुटुको गति बढ्न थाल्यो । बजारको एउटा कुनामा गएर । गाडी टक्क रोक्यो । उनी झोला बोकेर उभिन् । मतिर हेरिन् । उनको आँखा आँसुले टम्म भरेको थियो । उनले दुइटै हात जोडेर भने, ‘ल सर गए हैं ।’
उनी हिँडिन् । मलाई उनीतिर हेर्न पनि आँट आएन । म आफ्नो झ्यालबाट बाहिर हेर्न थालेँ । गाडी हिँड्यो । मेरो मुटु एक चोटी जोडले धड्क्यो, छाती फाटे जस्तो । तर सम्हालेँ । एक थोपा आँसु पनि बग्न दिइनन् । मुटुलाई पनि सम्हालेँ । यत्रो समयसँगै बसे पनि नाम पनि थाह भएन, मोबाइल नम्बर वा फेसबुकमा पनि जोडिएन । मनमनै सोचे सायद जिन्दगीको यात्रा यस्तै रहेछ ।