नेपालगन्ज, ५ चैत – मध्यरात सेना गस्तीमा थियो । नेपालगन्जका सडक सुनसान थिए । सेना त्यही स्थान भएर जाँदै थियो जुन घरको माथिल्लो तलामा एक परिवारका चारजनासहित पाँचजनाको हत्या हुँदै थियो ।
आजको नयाँ पत्रिका लेख्छ- घटना २३ फागुन ०६२ को हो । द्वन्द्वको समय भएकाले सेनाले गस्ती गरिरहेको थियो । मध्यरातमा नेपालगन्ज सुनसान हुने गथ्र्यो । सुनचाँदी व्यवसायी दीपक हेमकारको घर पनि बाहिरबाट देख्दा सुनसान थियो ।
तर, भोलिपल्ट त्यही घरमा पाँचजनाको शव भेटियो । सबैलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको थियो । मारिनेहरूको रुद्रघण्टी छिनाइएको थियो ।
घटनामा दीपककी श्रीमती दीपा मात्र बाँचेकी थिइन् । त्यो दिन उनी घरमा नभई माइतमा थिइन् । घटनामा गुलामदेवी हेमकार (८२), जगदेव हेमकार (६२), सीतादेवी हेमकार (४५), दीपक हेमकार (३२) को हत्या भएको थियो । सबैलाई सुतिरहेकै स्थानमा हत्या गरिएको थियो । सबैको शव ओछ्यानमा नै फेला परेको थियो । घटनामा हेमकार परिवारको पसलमा काम गर्ने १५ वर्षीय रामसनिच्चर चौधरीको समेत हत्या भयो ।
हत्या भएको रात तीन अपरिचित व्यक्ति घरमा आएको प्रहरीले तथ्य फेला पारेको थियो । संकटकालको वेला नगरको व्यस्त सडकमा रहेको सुनचाँदी पसलको माथिल्लो तलामा घरभित्र पाँचजनाको हत्या गरी ज्वेलर्सबाट नगद र सुनचाँदीसहित करिब २९ लाखबराबरको सम्पत्ति लुटिएको थियो ।
घटनापछि प्रहरी प्रधान कार्यालयबाटै डिएसपीको कमान्डमा अनुसन्धान टोली खटिएको थियो । घटना भएका वेला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक शिव लामिछाने थिए । जिल्ला प्रहरीले पनि अनुसन्धान गरेको थियो । तर, अनुसन्धान अझै पूरा हुन सकेको छैन । ११ वर्ष बित्दा पनि घटनाका अभियुक्त पक्राउ परेका छैनन् ।
Previous Articleमोदीले निधिलाई सोधे- ‘होला त १० महिनामै ३ चुनाव ?’
Next Article २०७३ चैत ५ गते शनिबारको राशिफल