बागलुङ, ४ चैत – स्थानीय तह पुनसंरचना अन्तर्गत बागलुङको काँठेखोला गाउँपालिकाको केन्द्र हाललाई बिहुँकोट गाविसको सुल्डाँडामा मै सञ्चालन गर्न राजनीतिक दलका प्रतिनिधिहरुले सुझाव दिएका छन् ।
पालादेखि सिगाना सम्मका ६ वटा गाविस र दुई गाविसका ६ वटा वडा मिलेर बनेको काठेखोला गाउँपालिकाको केन्द्र सुल्डाँडा अक्षेते नै उपयुक्त हुने दलका प्रतिनिधिहरुले सुझाव दिएका हुन् । काठेखोला गाउँपालिकाको आयोजनामा बिहीबार सुल्डाँडामा सम्पन्न सर्वदलीय भेलाका सहभागीहरुले राजपत्रमा काठेखोला गाउँपालिकाको केन्द्र साविकको बिहुँकोट गाविसको कार्यालय हटियामा उल्लेख भएपनि सहमतिका आधारमा सुल्डाडा अक्षेतेमै राख्नु पर्नेमा जोड दिएका हुन ।
राज्यले जनतालाई दिने सेवा सुविधा सहज र थप प्रभावकारी होस् भनेर संघीयता ल्याएको भन्दै दलका प्रतिनिधिहरुले सबैलाई पायक पर्ने, सुविधा हुने स्थानमा कार्यालय सञ्चालन गरेमा मात्रै संघीयता ल्याउनुको सार्थकता रहने बताएका थिए । राजनीतिक दलका प्रतिनिधिहरुको सुझाव पछि सुल्डाँडामा कार्यालय सञ्चालन गर्न घर बहालमा लिनका लागि टेण्डर गर्ने निर्णय भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि यामदत्त कंडेल, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतम, नेकपा माओवादी केन्द्रका चिरञ्जिवी कंडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका देवीप्रसाद कंडेल, राष्ट्रिय जनमोर्चाका ओमबहादुर पुन, जनमुक्ति पार्टीका नरबहादुर काउचाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित राजनीतिक दलका नेता कार्यकर्ताहरु मध्ये साविकका रेश गाविस, लेखानी, तंग्राम, धम्जा, भीमापोखरा, पाला र सिगानामा क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधिहरुले सुल्डाडा–अक्षेतेमै केन्द्र तोक्न आग्रह गरेका थिए ।
उनीहरुले बिहुँकोट गाविसको हटियामा केन्द्र राख्दा एउटा वडा बाहेक सबै वडाका नागरिकलाई असहज हुने बताएका थिए । बिहुँ गाविस अन्तर्गत काठेखोला गाउँपालिका वडा नंं ५ मा क्रियाशिल दलका प्रतिनिधिहरुले राजपत्रमा उल्लेख भएअनुसार नै हटियामा केन्द्र हुनुपर्ने अडान राखेका थिए भने बिहुँको तल्लो भाग गाउँपालिकाको वडा न ६ मा क्रियाशिल दलका प्रतिनिधिहरुले सुल्डाँडा अक्षेते नै हुनुपर्ने माग गरेका थिए । काठेखोला गाउँपालिकाका ८ वटामध्ये ७ वटा वडाका तर्फबाट राजनीतिक दलका प्रतिनिधिहरुले सुल्डाडा अक्षेतेमै केन्द्र राख्न सुझाव दिएकाले सोही अनुसार अगाडि बढ्ने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाको भौगोलिक अवस्था, कर्मचारी परिचालन, केन्द्र लगायत दलहरुबीचको सहकार्य र समन्वयका विषयमा काठेखोला गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत चूर्णबहादुर कार्कीले जानकारी गराएका थिए । उनले दलहरुको सहमति अनुसार नै गाउँपालिकाका गतिविधि अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम कार्यकारी अधिकृत चूर्णबहादुर कार्कीको अध्यक्षता, वडा नं. १ र ८ का सचिव रीता रानाको स्वागत र वडा नं. ५, ६ र ७ का सचिव मनोज कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा काठेखोला गाउँपालिका अन्तरगत क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सिगाना गाविसको वडा नं ६, पाला गाविसको वडा नंं. १ देखि ५ सम्म, भीमापोखरा, धम्जा, तंग्राम, बिहुँ, रेश र लेखानी गाविस समावेश गरी ८ वटा वडा रहेको काठेखोला गाउँपालिकामा २२ हजार ८ सय ६५ जनसंख्या रहेको छ ।
Previous Articleबागलुङमा २ करोड बढीको नुन बिक्री
Next Article कुल बजेटको ६० प्रतिशत स्थानिय तहलाई दिने तयारी