म्याग्दी, ४ चैत – भू–क्षय, बाढीपहिरो र दैवी प्रकोपले ग्रसित जिल्ला म्याग्दीमा बाढीपहिरो नियन्त्रणका लागि कम खर्चिलो भू–संरक्षणसम्बन्धी प्रविधि अपनाउन थालिएको छ ।
कम खर्चिलो भू–संरक्षण प्रविधिमार्फत पहिरो रोकथाम गरी समुदायस्तरमा जनचेतना बढाउने उद्देश्यले यस्तो प्रविधि अपनाइएको हो । विगत ३ वर्षदेखि म्याग्दी जिल्लामा भू–क्षय र बाढीपहिरोको रोकथाम गर्न कम खर्चिलो भू–संरक्षण प्रविधि अपनाइएको जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीले जनाएको छ ।
पश्चिम म्याग्दीको साविकको ओखरबोट गाविस, बेनी नगरपालिकाको डम्बरास्थित सडक पाखो र क्याम्पसचोकमाथी सिम्लेको खोल्सामा भू–संरक्षणसम्बन्धी कम खर्चिलो प्रविधिको शुरुवात गरिएको छ । गाउँघरमा जाने बाढीपहिरो, भू–क्षय, गल्छी पहिरोको उपचार र जमिनको धाँजा फाट्ने कार्य रोकथाम गर्न समुदायस्तरमा पाइने बाँस, काठ, नेपियर, अम्लिसो, बाबियो, काँसलगायतको प्रयोग गरी पहिरो रोकथाम गर्ने प्रविधिको प्रयोग गरिएको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले बताए ।
उनका अनुसार पछिल्लो समय सडकका कारण बाढीपहिरोको जोखिम ह्वात्तै बढ्न थालेपछि बढी खर्च हुने ग्याविन जालीभन्दा समुदायमा उपलब्ध स्थानीय स्रोतसाधन, सामाग्री, सिप र प्रविधिको प्रयोग गरिएको हो । स्थानीय प्रविधिअन्तर्गत बाँसको प्रयोग गर्नुका साथै ढुङ्गा तथा गेगर नपाइने ठाउँमा बोरामा माटो भरेर समेत पहिरो र बाढीको रोकथाम गर्ने गरिएको छ । कम खर्चिलो भू–संरक्षण सम्बन्धी प्रविधिअनुसार ब्रसलेयरिङ, फेसिन, घाँसरोपण, पेलिसेट, अम्लिसो तथा बाँसरोपण, जीवित बारलगाउने जस्ता प्रविधिहरु गरिएको भू–संरक्षण अधिकृत पौडेलको भनाई रहेको छ । म्याग्दीको बेनी नगरपालिकासहित साविकका ३५ ओटै गाविसहरु भू–क्षय र बाढी पहिरोको चपेटामा रहेका छन्भने तीमध्ये ओखरबोट, चिप्लेटी, पात्लेखेतलगायतका क्षेत्र पहिरोको उच्च जोखिममा रहेका छन् ।
यसैबीच कम खर्चिलो भू–संरक्षण प्रविधि विषयक तालिमको अवसरमा बुधबार अर्थुङ्गे व्यारेकमूनि सिम्लेखोल्सामा कम खर्चिलो प्रविधिको प्रयोग गरी बाढीपहिरो रोकथाम गर्न बाँध बाँधिएको छ । बाढीपहिरोले ग्रसित उक्त क्षेत्रमा बाबियो, नेपियर घाँस, अम्लिसो, बाँस, सजिबन, सिमलीलगायतका बोटबिरुवा रोपण गरी प्रयोगात्मक अभ्यास समेत गरिएको छ । साविकका ओखरबोट, दोवा, अर्मन, देवीस्थान गाविस तथा बेनी नगरपालिका क्षेत्रका भू–संरक्षण कार्यालयमार्फत सञ्चालित सघन कार्यक्रमका वडा समन्वय समिति र पावर महिला समूहका ३९ जना प्रतिनिधिलाई कम खर्चिलो भू–संरक्षणसम्बन्धी तालिम प्रदान गरिएको छ ।
भू–संरक्षण अधिकृत दिवाकर पौडेल, सहायक भू–संरक्षण अधिकृत शम्भूकुमार मिश्र र सव–इन्जिनियर विरेन्द्र महतोले सहजीकरण गरेको तालिममा सहभागी माया गुरुङ, झरिमाया पुन, किरण पुन र धनबहादुर पराजुलीले तालिममा सिकेका कुरालाई व्यवहार उतार्ने प्रतिवद्वता जनाएका थिए ।
Previous Article२०७३ चैत ४ गते शुक्रबारको राशिफल
Next Article पूर्व विद्यार्थीद्धारा छात्रवृत्ति कोष