बागलुङ, ३ चैत – विश्व उपभोक्ता अधिकार दिवस बुधवार बागलुङमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । नेपाल सरकार आपुर्ति मन्त्रालय र जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा प्रभात फेरिसंगै उपभोक्ता जागरण कार्यक्रम गरि दिवस मनाइएको हो ।
बागलुङको समिक्षालय चोकबाट सुरु भएको प्रभात फेरि हल्लनचोक, लोकतान्त्रिक चोक, जीपपार्कबाट बागलुङ उद्योग बाणिज्य संघको हलमा पुगी मुल समारोहमा परिणत भएको थियो । कार्यक्रममा बोल्दै सांसद रत्ना शेरचनले कुनै पनि व्यवसायीले उपभोक्ताको हक अधिकारलाई सुनिश्चित गरि समान रुपमा विक्रि वितरण गर्नुपर्ने बताइन् । उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वच्छ तथा ताजा खाद्य सामाग्रीहरु उपयोग गर्न व्यवसायी र उपभोक्ता दुवै सचेत बन्नु पर्ने उनले बताइन् ।
पछिल्लो समयमा अव्यवस्थित तरिकाले उत्पादन तथा विक्रि वितरण गरिएको खाद्य बस्तुको मुल्यमा अनियमिता, कम गुणस्तरको हुने भएकाले सामुहिक रुपमा यसको न्युनिकरणका लागि पहल गर्नुपर्नेमा सांसद शेरचनले जोड दिएन । उनले विद्यालय स्तरमा नै उपभोक्ता जागरण सम्वन्धी जनचेतना अभियानको थालनी गर्नुपर्ने बताईन् ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका उपाध्यक्ष गोविन्द गौतम, बागलुङ उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष युवराज राजभण्डारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका सचिव राम थापा अविरल, एड्भोकेसी धौलागिरी अंचल संयोजक राम शर्मा, समाजसेवी देवबहादुर श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम राष्ट्रिय उपभोक्ता जागरण अभियानका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी धुव्र गिरीको स्वागत र उपभोक्ता मञ्चका रामबहादुर केसीको संचालनमा सम्पन्न भएको थियो । विश्व उपभोक्ता अधिकार दिवस वर्षेनि मार्च १५ तारिखका दिन मनाउने गरिन्छ ।
सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । चार अधिकारका आधारमा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुवन्ध पारित भएको थियो ।
सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन जारी गरेका छन् । संयुक्त राष्ट्रसंघबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति पनि गरिएको छ ।
Previous Article३ चैत २०७३, ढोरपाटन दैनिक
Next Article २ विद्यालयमा १/१ लाखको अक्षयकोष