राजेशचन्द्र रा.भ.
अहिले प्रचण्ड सरकारमा नेपाली कांग्रेसको ४ वटा समुहले ढिलै गरेर भएपनि १३ जना आफ्नो नजिकका नेतालाई मन्त्री बनाउन सफल भएपछि मलाई एउटा नेपाली पुरानो लोकगीतको याद आयो । ‘काले काले मिलेर खाउ भाले’ मन्त्री खाने मन्त्रालयले रोज्ने कुरामा नेपाली कांग्रेसको ४ वटै समुहको स्वार्थ मिलेपछि मन्त्रीले सपथ लिने काम सम्पन्न भएपछि प्रचण्ड सरकारले पुर्णता पाएको छ ।
‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझै संविधानको कार्वान्यन गरेर देशलाई निकास दिने भन्ने सबै नारा मात्र हुन भन्ने कुरापनि अहिले सारा नेपालीले जनताले राम्रोसँग बुझिसके । सबै कुरा पद प्रतिष्ठा, शक्तिनै रहेछ । अरू त सबै भन्ने कुरा मात्रै रहेछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृण्णप्रसाद सिटौला, खुमबहादुर खड्का ४ समुहले १३ वटा मन्त्रालयमध्ये कुन–कुन मन्त्रालय पाउने ? कतिजना मन्त्री लिने ? भन्ने मै सहमति जुट्न करिब ३ साता बित्यो । आफुलाई सबैभन्दा बढि लोकतान्त्रिक, प्रजातान्त्रिक पार्टी भनेर दाबी गर्ने तर नेपाली कांग्रेसलाई पार्टी नमानेर आफ्नो बिर्ता ठान्ने प्रबृत्ति अहिलेसम्म पनि विद्यमान छ भन्ने कुरा समेत छर्लङ भएको छ ।
पार्टीको महाधिवेशनमा भाग लिने चुनाबी प्रतिस्पर्धामा सामेल हुने अनि चुनाबमा पराजय भएपछि त्यसलाई स्विकार्न नसक्ने नेताकै कारण देशले निकास पाउन नसकेको हो । कुनै काम गर्नुपरे कुरा काटेर दिन बिताउने नेतृत्वलाई दोस लगाएर आफु पन्छिने अनि कुनै अबसर आए ६० र ४० को भागबन्डा खोज्ने गलत खालको संस्कारको विकास त अहिलेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाको पालोदेखि चलाउदै आएको चलनकै निरन्तरता हो भन्ने कुरा सामान्य तहका नेपाली कांग्रेसका कार्यकर्ता लाई समेत थाहा छ ।
हिजोका दिनमा जुन गलत संस्कारको विकास देउवाले गरे आज फेरि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, खुमबहादुर खड्का र कृण्णप्रसाद सिटौलाले त्यहीँ बाटो अनुशरण गरेर पार्टी सभापति देउवा लाई धम्काएर आफ्नो मान्छेलाई मन्त्री बनाउन सफल भएका छन् । सिटौला गुटबाट स्वास्थमन्त्री बन्न सफल कांग्रेसका युवा नेता गगन थापाले आफु मन्त्री बन्ना साथ सिटौलाको आशिर्बाद लिन पुग्नुले पनि गुटको खेल कति मौलाएको रहेछ भन्ने प्रमाणित भएको छ । गगन थापा जस्तो नेता पनि गुटबिना पदमा पुग्न सक्दैन रहेछ भन्ने कुरा पनि प्रमाणित भएको छ । साँच्चै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भनेको धम्काउने, थर्काउने खेल रहेछ । प्रजातान्त्रिक समाजबाद बिपिको सिद्धान्त त खाली कागजी नारा मात्र रहेछ भन्ने कुरा पनि अहिले मन्त्री छनौट प्रक्रियाले स्पष्ट पारेको छ ।
अहिले पार्टी बिचार, सिद्धान्त, नीति अनुसार चल्ने होइन रहेछ । ‘जसको शक्ति उसको भक्ती’ भन्ने नेपाली उखान अनुसार चल्नेरहेछ । जसरी आज मन्त्री पाउनको लागि र मालदार मन्त्रालय लिनको लागि हानथाप भयो । यसबाट के कुरा बुझ्न सकिन्छ भने नेपाली कांग्रेस देश र जनताको लागि हैन, आफ्नो गुट, उपगुट र आफ्नो आसेपासेका लागि रहेछ भन्ने कुरा पनि स्पष्ट छ । अहिले गुटबन्दीको आधारमा मन्त्री भएका ब्यक्तिले को प्रति जिम्मेवार हुने, आफ्नो पार्टीप्रति कि गुटका नेताप्रति ? अवश्य पनि भागबन्डा जय नेपाल गरेर मन्त्रि खाने महासयहरूले के–के गर्लान त्यो भने भोलिका दिन देखिने छ । एउटा महाधिवेशनबाट निर्वाचित भएको पार्टी सभापतिमा पार्टी चलाउने हिम्मत छैन । पार्टी सभापति भएपछि सबैलाई समान रूपमा हेर्ने योग्यता क्षमता अनुसार जिम्मेवारी दिनुपर्नेमा त्यो गर्नबाट चुकेकै कारण पनि आज पार्टीभित्र गुट मौलाएको हो ।
जहिले पनि आफ्नो गुटमा रमाउने यो रोग त नेपालको सबै राजनीति पार्टी कै खतरनाक रोग हो । अहिलेसम्म नेपालमा एकीकृत पार्टी कुन छ भनेर सोध्ने हो भने कसैसँग पनि यसको उतर छैन । नेपालमा आजका दिनसम्म सिङ्गो पार्टी भेट्न गाह्रो छ । के पी ओलीको सरकार ढाल्न जति सजिलो भयो माओबादि केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन पनि सजिलो भयो । तर मन्त्री मण्डलमा जाने मन्त्री छान्न भने दुबै दलका प्रमुखलाई निकै ठुलो सकस भयो । हिजो केपि ओलीलाई हटाउनको जे–जति कारण देखाए पनि त्यो सबै भन्ने नारामात्रै हो भन्ने कुरा देखिदै गएको छ ।
सरकार किन ढल्यो ? कसरी ढल्यो ? के–को लागि ढल्यो ? कसको इसारामा ढल्यो ? भन्ने कुरा पनि अब बिस्तारै कुरा बाहिर आइरहेको छ । नयाँ सरकार बनेलगत्तै नेपालका दुई जना उप–प्रधानमन्त्री कृष्ण बहादुर महरा र बिमलेन्द्र निधिले हाम्रो छिमेकी मुलुक चीन र भारतको समेत भ्रमण सम्पन्न गरिसकेका छन् । हिजोका दिनमा भारतसँग बिग्रिएको सम्बन्ध सुधार गर्न र चिनसँग भएको सम्झौता लाई निरन्तरता दिने जुन नीति अहिलेको सरकारले बनाएको छ । यसलाई सबैले सकारात्मक रूपमा लिनुपर्छ तर सरकार चलाउने र टिकाउने नाममा बिदेशी हस्तक्षेपलाई भने रोक्नु पर्छ । राष्ट्रिय स्वाधीनता र स्वाभिमान कायम राख्नलाई कसैसँग सम्झौता गर्नु हुदैन । छिमेकी सँगको सम्बन्धलाई सुमधुर बनाउन पर्छ । तर छिमेकीको दास बन्ने कामको अन्त्य गर्नुपर्नेछ । संविधान संशोधन गरि मधेसीको मागलाई सम्बोधन गर्ने काम थाती नै छ । अहिले मधेस आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्दै १० लाख रूपैयाँ दिने निर्णय गर्ने क्रमपनि जारी छ । ‘काले–काले मिलेर खाउ भाले’ भन्ने नेपाली गीतकै शैलीमा भागबन्डा गरेर खाने चलन ‘दिन दुई गुणा रात चौगुना’ बढेर गएको छ । मधेसी मोर्चाले अघि सारेको मागलाई कसरी सम्बोधन गर्ने भन्ने बारे सत्ता पक्ष र प्रतिपक्ष बीच एकमत छैन । अहिलेको संविधानमा के मा असहमति हो मोर्चाको, के गर्दा सहमति हुने हो त्यो सबै कुराको छिनोफानो गर्न ढिलाई गर्ने बेला छैन ।
२०७४ माघ ८ गतेसम्म देशमा ३ वटा प्रमुख निर्वाचन गराउन पर्ने बाध्यता सरकारसँग कायमै छ । अहिलेसम्म स्थानीय निकायको पुर्नसंरचनाको काम सम्पन्न भएको छैन । काम बाँकी नै छ । अहिले बनाएको खाकाप्रति नेपाली कांग्रेस नै सन्तुष्ट छैन । मधेसी मोर्चाको त कुरै छोडौ । अनि कसरी हुन्छ देशमा निर्वाचन ? अनि कसरी संविधानले पुर्णता पाउछ त । यसको जवाफ कसैसँग छैन । ९ महिनाको पालो गरेर सरकार चलाउने माओवादी केन्द्र र नेपाली कांग्रेस बीच सहमति गरेर पहिलो चरणमा बनेको सरकारले मन्त्री बनाउने कामलाई बल्लतल्ल पार लगाए पनि बाँकी काम भने जस्ताको त्यस्तै छ । राजनीतिक सहमति नभएसम्म कामले गति लिने देखिदैन । अहिले एमालेलाई आफ्नो नेतृत्वको सरकार बिस्तापित गरेको पिडा ताजै भएको कारणले पनि सजिलोसँग सहमति हुने देखिदैन । अब साँच्चै नै जिम्मेवार प्रतिपक्षको भुमिका एमालेले निभाउने होभने देशले निकास पाउन सक्छ । जनताको मतमा बिश्वास गर्ने पार्टीले जनतासँग जान किन डराउने । सधै काले–काले मिलेर भाले मात्र खाने कि देशलाई निकास दिएर नेपाली जनतालाई विकास दिने देशलाई आर्थिक समृद्विको दिशामा लैजाने ? अब बेला छदै सोचौ ।