बागलुङ, २ चैत – बिहीबारदेखि सुरु हुँदै गरेको माद्यमिक शिक्षा परीक्षामा यस वर्ष बागलुङबाट ६ हजार १ सय २९ जना विद्यार्थीहरुले भाग लिने भएका छन् । एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक हुन लागेको माद्यमिक शिक्षा परीक्षामा बागलुङका एक सय २५ विद्यालयका नियमित तर्फ ५ हजार ४ सय ९७ जना, आंशिक ग्रेडवृद्धि तर्फ ५ सय २४ जना र एक्जाम्टेडतर्फ १ सय ८ जना विद्यार्थीहरुले ३१ वटा परीक्षा केन्द्रबाट परीक्षा दिने जिल्ला शिक्षा कार्यालय बागलुङले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद मिश्रले पत्रकार सम्मेलनमा यस वर्ष जिल्लामा प्राविधिक विद्यालय तर्फ ४ वटा विद्यालयका १ सय १२ जना विद्यार्थीहरु परीक्षामा सम्मेलित हुने बताए । प्राविधिक (कम्प्यूटर इन्जिनियरिङ) तर्फ धौलागिरी बहिरा विद्यालयका १८ जना विद्यार्थीहरु परीक्षामा सम्मेलित हुँदैछन् । यस्तै शारीरिक अपाङ्ग १ जना र दृष्टिविहिन विद्यार्थीहरु ५ जनाले परीक्षा दिँदै छन् । यस्तै खुल्ला विद्यालयबाट ५० जना विद्यार्थीहरु सहभागिता जनाउन लागेका छन् । जिल्ला शिक्षा कार्यालय बागलुङले परीक्षालाई व्यवस्थित र मर्यादित गराउनको लागि २२ बुँदे आचारसंहिता बनाएको छ । कार्यालयले परीक्षामा छात्रा विद्यार्थीहरुको लागि ३१ वटै परीक्षा केन्द्रहरुमा ३२ वटाका दरले सेनेटरी प्याडको व्यवस्था गरिएको जनाएको छ । परीक्षामा यस वर्ष सवै भन्दा धेरै परीक्षार्थी ३ सय ७० जना विद्यामन्दिर माध्यमिक परीक्षा केन्द्रमा र सवै भन्दा थोरै ६८ जना जनताधन मावि नारायणस्थान केन्द्रबाट सहभागि हुन लागेको जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ । जिल्ला शिक्षा अधिकारीले परीक्षाका लागि ३१ जना केन्द्राध्यक्ष, ३३ जना सहायक केन्द्राध्यक्ष, २ सय ६० जना निरीक्षक, १ सय ४० जना कर्मचारी, ३ सय १० जना सुरक्षार्कीहरु र ४५ जना अनुगमनकर्ताहरु परिचालन हुने जानकारी दिए ।
Previous Articleन्यायधीश समाजको निगरानीमा
Next Article घरमुलीको मृत्यु पछि विचल्ली परिवारलाई नगद सहयोग