दक्षिण अफ्रिकाका प्रधानन्यायाधीश माइकल म्याकग्रेगर कोर्बेटले सन् १९९४ मा गरेको एक सम्बोधनमा एउटा आदर्श न्यायाधीशमा कानुनको गहिरो ज्ञान, अनुभव, न्यायिक मन, स्वतन्त्रता, सत्चरित्रता र मेहनत जस्ता गुण अत्यावश्यक हुने कुरा अभिव्यक्त गरेका थिए । न्यायाधीशको जिम्मेवारी र कार्य अन्य पदभन्दा संवेदनशील हुने भएकाले उसले पालन गर्नुपर्ने आचरणका नियम, व्यवहार, बानीबेहोरा, चालचलन र चरित्र उच्च मर्या्दित र अनुकरणीय रहनु अनिवार्य हुन्छ । युएनद्वारा सन् १९८५ मा अनुमोदित स्वतन्त्र न्यायपालिकाको आधारभूत सिद्धान्तको धारा १० ले न्यायाधीशको पदमा चयन हुने व्यक्ति चरित्रवान र कानुनको उचित तालिम र योग्यतासहितको क्षमतावान् हुनुपर्ने एवं न्यायिक छनोटमा अपनाइने पद्धति गलत आशयका साथ गरिने नियुक्तिविरुद्धको सुरक्षाकवच हुनुपर्ने उल्लेख गरेको छ ।
न्यायाधीशको छनोट र नियुक्ति पर्याप्त न्यायिक प्रतिनिधित्व भएको स्वतन्त्र निकायद्वारा समुचित व्यावसायिक योग्यतामा आधारित वस्तुनिष्ठ र पारदर्शिताको सिद्धान्त अपनाइ गरिनुपर्ने कुरा न्यायाधीशको विश्वव्यापी बडापत्र १९९९ को धारा ९ ले उल्लेख गरेको पाइन्छ । नेदरल्यान्डको द हेगमा भएको प्रधानन्यायाधीशहरूको गोलमेच बैठक २००२ ले स्वतन्त्र न्यायपालिकाको प्रत्याभूतिका लागि न्यायाधीशमा स्वतन्त्रता, निष्पक्षता, इमानदारिता, सदाचार, समानता, सक्षमता र लगनशीलता जस्ता गुण अत्यावश्यक मानेको छ । न्यायाधीशको नियुक्ति वा पदोन्नति उसको चरित्र, स्वतन्त्रता, व्यावसायिक क्षमता, अनुभव, विद्वता र कानुनको शासनप्रतिको प्रतिबद्धता जस्ता वस्तुनिष्ठ मूल्याङ्कनमा आधारित हुनुपर्ने स्वतन्त्र न्यायपालिकाको विश्वव्यापी मान्यता रहिआएको छ ।
संविधानले करिअर जजलाई न्यायाधीश पदमा हुने नियुक्तिमा पहिलो प्राथमिकताक्रममा राखेको पाइन्छ, यो विश्वव्यापी प्रचलन पनि हो । न्यायाधीश पद बढुवाद्वारा पूर्ति हुने नभए पनि करिअरबाहेकका लागि भने यो छड्के प्रवेश नै मानिन्छ । न्यायाधीशका रूपमा कार्यरत व्यक्ति नवप्रवेशीको तुलनामा अनुभवी र योग्य मानिन्छ । विश्वका प्रमुख न्यायप्रणालीमा स्थापित यो मान्यता संविधानमा पनि आत्मसात गरेको पाइन्छ । नवप्रवेशीका लागि न्यायाधीशका रूपमा गर्नुपर्ने कार्य, निर्बहन गर्नुपर्ने कर्तव्य, पदीय दायित्व, न्यायिक आचरणका व्यवहार र आचारसंहिता, कार्य्विधि कानुनका प्रक्रिया, प्रमाणको मूल्याङ्कन र विवेचना, मुद्दाको सुनुवाइ, फैसला लेखन जस्ता जिम्मेवारी सर्वथा नौला र जटिल प्रकृतिका हुन्छन् भने करिअर जजहरू यी सबै कुराका लागि संस्थागत र अभ्यस्त भइसकेका हुन्छन् ।
न्यायाधीशको जिम्मेवारी र कार्य अन्य पदभन्दा संवेदनशील हुने भएकाले उसले पालन गर्नुपर्ने आचरणका नियम, व्यवहार, बानीबेहोरा, चालचलन र चरित्र उच्च मर्या्दित र अनुकरणीय रहनु अनिवार्य हुन्छ । उसका व्यक्तिगत आचरण, जीवन पद्धति र पारिवारिक, व्यक्तिगत एवं सामाजिक सम्बन्धले न्यायपालिकाको जनआस्थासँग प्रत्यक्ष सरोकार राख्छन् । व्यक्तिगत एवं संस्थागतरूपमा न्यायपालिकाको स्वतन्त्रता, कार्यसम्पादनमा निष्पक्षता, न्यायप्रतिको समर्पण र निष्ठा, सदाचार, समान व्यवहार, सक्षमता र लगनशीलता जस्ता गुण न्यायाधीशका जीवन पद्धति मानिन्छन्। व्यवसायमा रहँदा निष्पक्षता वा दुवै पक्षको हितको रक्षा असम्भवप्रायः हुन जान्छ भने न्यायाधीशको कार्यप्रकृतिले निष्पक्षता र समान व्यवहार माग गर्छ । मुद्दासँग सम्बन्धित कुनै ऋण वा आर्थिक वा भौतिक लाभ, दान, दातव्य वा उपहार स्वीकार वा ग्रहण गर्नु आचरण, पदीय गरिमा र मर्यादा प्रतिकूल हुने भएकाले न्यायधीशका हरेक क्रियाकलाप समाजको निगरानीमा रहेका हुन्छन् । एउटा परिपक्व न्यायाधीशका रूपमा रूपान्तरित हुन पर्याप्त समय, दृढ इच्छाशक्ति, अनवरत साधना, अभ्यास, समर्पण र त्याग जरुरत पर्छ ।
Previous Article२०७३ चैत २ बुधबारको राशिफल
Next Article बागलुङबाट एसईसी परीक्षामा ६ हजार सहभागि हुँदै