नेपाल र भारतको बीचमा एक हजार आठ सय ८० किलोमिटर सीमारेखा छ । यति लामो सीमारेखामा आठ हजार पाँच सय ५३ वटा सीमा खम्बा गाडिने नक्सामा चिनो लगाइएको छ । तर, जमिनमा चार हजार तीन सय थान मात्रै सीमा खम्बा गाडिएका छन् । तीमध्ये पनि एक हजार आठ सय खम्बा लोप भएका छन् । कति उखेलिएका छन, कति हराएका छन, कतिलाई नदीले बगाएको छ । अहिले कञ्चनपुरको गोविन्दनगर क्षेत्रमा दुवैतर्फका जनताको बीचमा मुठभेड भयो । मुठभेड हुनुको मुख्य कारण त्यहाँ अवस्थित दुई सय नम्बरको सीमा (जंगे) खम्बा लोप हुनु हो । दोस्रो, जंगे खम्बा नभए दुवै देशका जनताले नेपाल–भारत सीमा यहाँ हो भनेर किटान गरेको ठाउँबाट लगभग दुई सय मिटर नेपालतर्फ पसेर भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाउँदा एक नेपाली नागरिक गोविन्द गौतमको मुत्यु भएको छ ।
एउटा देशको सीमा सुरक्षा गर्ने सुरक्षा निकाय अर्को देशमा पस्नका निमित्त त्यो देशको सुरक्षा निकायसँग अनुमति माग्नुपर्छ । तर, अनुमति नै नमागी बर्दीमा आएर नेपाली नागरिक मारिनु दुःखद मात्रै होईन, आपतिजनक पनि हो । घटना घट्नुको मुख्य कारण नेपालीले सीमारेखाबाट ४० मिटर नेपालको भूभागभित्र कलभर्ट बनाए भन्ने छ । नेपालीले कच्ची सडक निर्माण गर्दा, अस्थायी कलभर्ट बनाउँदासम्म ठीकै थियो, जब इँटा र बालुवा राखेर पक्की कलभर्ट बनाउन लागियो, तब एसएसबीका जवानले ती इँटा फालिदिए । त्यसपछि नेपालीले पनि आफ्नो मुलुकमा बनाइएको कलभर्टको इँटा किन फालेको भन्दै प्रतिकार गरे । त्यसपछि भारतीयले त्यो क्षेत्र आफ्नो भूभागभित्र पर्ने भन्दै दाबी गरे । तर, नेपालीले यो नेपालीकै भूभाग हो, कलभर्ट बनाउनुभन्दा पहिला हामीले तपाईंहरूलाई खबर गरेका थियौँ, त्यसवेला तपाईंहरूले हुन्छ भन्नुभएको थियो, अहिले आएर किन फाल्नुभयो भन्ने जवाफ दिए ।
इँटा फाल्दा करिब डेढ सय भारतीय जम्मा भएका थिए भने ३० देखि ३५ जनासम्म मात्रै नेपाली थिए । थोरै संख्यामा रहेका नेपालीलाई भारतीयले त्यहाँबाट लखेटेर आनन्दबजार पु¥याए । पछि, हजारौँको संख्यामा नेपाली जम्मा भएर दुई अढाई सय भारतीयलाई लखेटेर सीमापार गराउँदा नगराउँदै ढुंगामुडा भयो । ढुंगामुडाको क्रममा भारतीय एसएसबीका सुक्ल थरका सईले आवेशमा आएर आफूसँग भएको पेस्तोलले फायरिङ गरे । उनको फाइरिङको चौथो राउन्डको गोली नेपाली नागरिक गोविन्द गौतमलाई लाग्यो,। गम्भीर घाइते भएका गौतमको उपचारका क्रममा निधन भयो । घटनाक्रमलाई सूक्ष्म रूपमा विश्लेषण गर्ने हो भने नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी आएर नेपालीलाई नै गोली हानेर मार्ने घटना सीमा व्यवस्थापनमा भारतीय पक्षले उल्लंघन गरेको ठहर्छ ।
अन्तराष्ट्रिय सीमा व्यवस्थापन नियमअनुरूप अन्तराष्ट्रिय सीमाबाट एक देशको सैनिक पोसाकमै अर्को देशमा प्रवेश गर्ने हो भने त्यो देशको अनुमति चाहिन्छ । अनुमति पाएपछि पनि हतियाररहित तरिकाले पस्नुपर्छ । हतियार लिएर आएको भए सिमानामा रहेको सो देशको सुरक्षा चौकीमा डिपोजिट गरेर मात्र प्रवेश गर्नुपर्छ । तर, भारतीय एसएसबी त अनुमति नलिई अर्काको मुलुकमा हतियारसहित पस्यो । यो आफैँमा नेपालमाथि गरिएको बलजफ्ती हो । र, यो अन्तराष्ट्रिय सीमा सिद्धान्तविपरीतको कार्य हो । यो घटनामा भारतले अन्तराष्ट्रिय सीमा सिद्धान्त उल्लंघन गरेको छ । यसका लागि भारतलाई अन्तराष्ट्रिय कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउनु पर्दछ र यस्तो घटना दोहोरिन नदिन लोप भएको दुई सय नम्बरको खम्बालाई द्विपक्षीय सहमतिमा तत्काल निर्माण गरिनुपर्छ । त्यसपछि त्यहाँ दशगजा क्षेत्र कायमगरिनुपर्छ।भारतपट्टि र नेपालपट्टि १० गज जमिनलाई निर्जन भूभाग (नो म्यान्स ल्यान्ड) कायम गर्न सकियो भने भविष्यमा यस्ता घटना दोहोरिने सम्भावना कम हुन्छ । भारतीय सीमा रहेको अन्य स्थानमा पनि यस्तै तवरले १० गजा निर्माण गरिएमा द्विपक्षीय झडपको सम्भावना न्यून हुँदै जान्छ । सरकारले तत्काल यी कुरामा ध्यान दिन जरुरी छ ।