काठमाडौ, ३० फागुन – आइसीसी क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटको ठूलो अन्तरले पराजित गर्न सफल भएको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा भएको दोस्रो खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो ।
नेपालका कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लको निर्णयलाई सही सावित गर्दै ओप्नर बलर मेहबुब आलमले चौथो ओभरमा २ विकेट लिएका थिए । त्यसपछिको ५ ओभर लगातार मेडन फाल्दै उनले केन्याका ब्याट्स्म्यानलाई ब्याकफुटमा खेल्न मजबुर पारेका थिए ।
सस्तो मै २ विकेट गुमाएको केन्याका ब्याट्स्म्यानले त्यसपछि भने सम्हालिएर खेल्दै तेस्रो विकेटका इर्फान करिम र कोलिन्स अबुयाले ७९ रनको पाटनरसिप गरेका थिए । नेपालका लागि निकै घातक बन्दै गएको पाटरनसिपलाई लेगस्पिनर सन्दीप लामिछानेले २८ औं ओभरमा तोडेका थिए ।
राम्रो पाटनरसिपमा अंकुश लगाउन नेपाल सफल भएसँगै केन्याको विकेट पतन सुरु भएको थियो । नेपालका लागि सातौं बलरका रुपमा बलिङ गर्न आएका शरद भेषावकरको स्पीनले केन्याका ब्याट्स्म्यानलाई पेभिलियन फर्काउन सफल भएपछि केन्याले १० विकेटको क्षतिमा मात्र १५५ रन बनाउन सफल भयो ।
नेपालका लागि शरदले ४ विकेट लिएका थिए भने बसन्त रेग्मीले २ विकेट र सन्दीप लामिछाने र सागर पुनले १–१ विकेट लिएका थिए ।१५६ रनकाे लक्ष्य लिएर मैदानमा आएको नेपाली टोलीलाई पनि सुरुवाती ओभर मै २ विकेटको झड्का लागेको थियो । नेपालको पनि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र ऐरीको तेस्रो विकेटको पाटनरसिप जमेपछि १५६ रनको लक्ष्य पछ्याउन गाह्रो भएन ।
नेपालका ज्ञानेन्द्र र दीपेन्द्र दुवैले आफ्नो अर्धसतक पुरा गर्न सफल भयो । खेलको अन्तिम समयमा दीपेन्द्रको विकेट झरेसँगै मैदानमा प्रवेश गरेका नेपालका सबैभन्दा भरोसिला ब्याट्स्म्यान शरदले ज्ञानेन्द्रसँग मिलेर नेपाललाई जित दिलाए । नेपालका लागि ज्ञानेन्द्रले अविजित ६४ रन बनाए भने दीपन्द्रले ६२ र शरदले २४ रनको योगदान दिए ।
Previous Article३० फागुन २०७३, ढोरपाटन दैनिक
Next Article भारतीय चुनावी परिणामको नेपालमा असर