मणिपुर, ३० फागुन – सोह्र वर्षसम्मको अनशन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा रोलमोडल । आइरन लेडीको उपमा । विकृति विसंगतिविरुद्धकी निडर अभियन्ता । मणिपुरकी इरोम शर्मिलाको परिचय हो यो ।
सशस्त्र बललाई असीमित अधिकार दिनेसम्बन्धी कानुनविरुद्ध उनले १६ वर्षसम्म अनशन बसिन् र गत अगस्टमा टुंग्याइन् । राजनीति सुरु गर्ने उद्देश्यले पिपुल्स रिसर्जेन्स एन्ड जस्टिस पार्टी खोलिन् । उनको उद्देश्य थियो मुख्यमन्त्रीको सिटसम्म पुग्ने । त्यसका लागि उनले प्रदेश सभा निर्वाचनमा मणिपुरका शक्तिशाली राजनेता एवं मुख्यमन्त्री इबोबी सिंहविरुद्ध उम्मेदवारी दिइन् ।
आफ्नो परिचयको बलमा निकै आशावादी भएर निर्वाचनको मैदानमा होमिएकी शर्मिलाले मत पाइन् मात्र ९० । यही परिणामले निर्वाचनमा होमिएको केही महिनामै उनको राजनीतिक जीवन अन्त्य भएको छ । चुनाबमा नराम्रोसँग पराजित भएपछि उनले घोषणा गरिन्– अब चुनाव नै लड्दिनँ ।
उनले भनेकी छन्, ‘मैले मेरो पराजयका कारण लज्जा महसुस गरेकी छैन, तर निर्वाचनप्रति थाकें र भविष्यमा चुनाव लड्ने छैन ।’ उनले आफ्नो पार्टी भने बचिरहोस् भन्ने चाहेकी छिन् । अब उनी केरला या कर्नाटकको कुनै दक्षिण भारतीय आश्रममा एक महिना बिताउन र दिमागलाई शान्त राख्न चाहन्छिन् ।
‘यस्तो परिणाम आउला भनेर सोचेकी पनि थिइनँ, चुनावी अभियानका क्रममा जतिलाई मैले भेटें, ती सबैले मैले उठाएका मुद्दामा सहानुभूति जनाउँथे, तर स्वार्थी नियतका कारण भोट अन्तै हाले,’ उनले भनिन् । विसंगतिविरुद्धको आफ्नो अभियान भने नरोकिने उनले बताइन् ।सशस्त्र बललाई अधिकार दिने कानुन निलम्बन नभएसम्म आफ्नो अभियान नरोकिने र सामाजिक कार्यकर्ताको रूपमा लडाइँ जारी रहने उनको भनाइ छ ।
चुनावका दौरान उनलाई भारतीय जनता पार्टीले टिकट र अभियानका लागि आर्थिक सहयोगको प्रस्ताव गरेको थियो । तर उनले अस्वीकार गरिन् र आफ्नै पार्टीबाट चुनाव लडिन् । उनलाई मत दिलाउने आश्वासन हजारौं मानिसले दिए । तर उनले जम्मा ९० मत पाइन् र उनका प्रतिद्वन्द्वी इबोबी सिंहले १०७४० मत पाए । उनको पार्टीका दुई उम्मेदवारको पनि धरौटी जफत भयो ।
उनीसँग निर्वाचनका लागि कुनै रणनीति थिएन । चुनावी अभियानका क्रममा आयोजना गरिएका सभामा सुरक्षाकर्मीको तुलनामा समर्थकहरू नगण्य हुन्थे । जोजो आउँथे, सबै १६ वर्षसम्म अनशन गर्ने इरोम शर्मिलालाई हेर्नमात्र आउँथे ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको हारको एक कारण थियो, उनको ब्वाइफ्रेन्ड डेसमन्ड । डेसमन्ड आयरल्यान्डका हुन् । सोनिया गान्धीको मामलामा विदेशी नागरिकको मुद्दा उठाइएजस्तै उनको मामलामा पनि त्यही मुद्दा उठाइयो । डेसमन्डलाई भारतीय जासुस भएको र शर्मिलालाई अनशन तोड्न प्रेरित गरेको आरोप पनि लाग्यो ।
उनले मणिपुरका कांग्रेस नेता इबोबी सिंहलाई चुनौती दिइन्, ठीक त्यही शैलीमा, जसरी आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवालले लोकसभा चुनावमा नरेन्द्र मोदीलाई दिएका थिए । त्यतिबेला केजरीवाल पनि पराजित भएका थिए । तर केजरीवालसँग रणनीति थियो, सामाजिक सञ्जालहरूमा केजरीवालका समर्थकहरूको ठूलो हिस्सा थियो, आर्थिक स्रोतको कमी थिएन ।
यी सबै कमी इरोम शर्मिलासँग स्पष्टसँग देखियो । केजरीवालको चर्चा बनारसमा स्थानीय तहमा सधैं रह्यो, तर इरोमको चर्चा स्थानीय मिडियामा नभई बाहिरी मिडियामा मात्र रह्यो । र, उनको उम्मेदवारीलाई स्थानीय मानिसले मजाकका रूपमा लिए ।
Previous Articleनाै वर्षमा ४२ हजार नेपाली कोरियामा
Next Article निर्वाचनमा कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?