जनार्दन अधिकारी ‘धड्कन’
मेली फूल बसाएको, सुँघ्न पाइने भयो अब,
वागमती सुसाएको, सुन्न पाइने भयो अब।
सासै फेर्न गाह्रो थियो, नदी किनार हिँड्दा पनि,
किनारामै बसी माया चुन्न पाइने भयो अब।
एकछिन बस्ने ठाउँ, खोज्दै हिँड्थ्यौ यत्र तत्र,
फाटेको त्यो माया पनि, तुन्न पाइने भयो अब।
दिन छोटो यात्रा लामो, कुरा गर्नै नपाएर,
नयनको ताल फुट्दा, थुन्न पाइने भयो अब।
रिसाएर जेलीएको सम्बन्धको काचो धागो,
नचुडाली फुकाएर, बुन्न पाइने भयो अब।