भैरहवा, २९ फागुन – नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान पाँच नम्बर प्रदेशको भैरहवा पुगेको छ । आज नवलपरासीको भूमही हुँदै अभियान भैरहवा पुगेको हो । भैरहवाको सभालाई नेताहरु कैलासप्रसाद कसौधन, रघुबीर महासेठ, दलबहादुर रानामगरले सम्बोधन गरे ।
भैरहवाको सभा फागुन २१ गते अभियान सुरु भए यताकै सबैभन्दा ठूलो भएको एमाले नेता दलबहादुर रानामगरले बताएका छन् । उनले एमालेलाई प्रदेश पाँचमा कुनै पनि शक्तिले रोक्न नसक्ने बताए ।
एमाले नेता रघुबीर महासेठले केपी ओली नेतृत्वको सरकारले ल्याएको वजेटको उदाहरण दिदैं मधेसको हित चाहने वास्तविक पार्टी एमाले मात्र भएको बताए । उनले भने, ‘तराइका हरेक जिल्ला सदरमुकामका लागि ५० करोड वजेट छुट्टयाउने केपी ओली मधेस विरोधी कसरी हुन सक्छन् ? यदि ओली मधेस विरोधी हुन भने ओली जत्तिको मधेसप्रेमी नेता अर्को देखाउ ?’
सप्तरीको राजबिराजमा भारतका आपराधिक गिरोह ल्याएर मोर्चाले एमालेमाथि आक्रमणको प्रयास गरेको उनको दाबी थियो । महासेठले भने, ‘एमालेलाई अपराधी समूह लगाएर कमजोर बनाउने सपना कसैले नदेखे हुन्छ । हामी २ नम्बर प्रदेशमा शक्तिशाली उपस्थितिसहित फेरि कार्यक्रम गर्नेछौं ।’
भैरहवाको स्थानीय अञ्चलपुरको गहँुबाली मैदानमा बिशाल सहभागिताका बीच पूर्ब सांसद कैलाश प्रसाद कसोधनले अवधी भाषामा सभालाई सम्बोधन गरे । नेकपा एमाले मात्र मधेसी जनताको मुक्ति र प्रगतिका खातिर काम गर्ने पार्टी भएको उनले बताए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा देशभक्त र विकासप्रेमी सरकार हटाएर विदेशीको इसारामा चल्ने सरकार ल्याइएको बताएका छन् । भैरहवामा आईतबार एमालेको मेची–महाकाली राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
भारतीय सुरक्षकर्मीले कञ्चनपुरमा गोबिन्द गौतमको हत्या गरेको घटना उल्लेख गर्दै अध्यक्ष ओलीले नेपाल सरकार उक्त हत्या काण्डमा लाचार भएको बताए । उनले भने –‘कञ्चनपुरमा नेपालका गाँउ पसेर भारतीय सुरक्षाकर्मी गोली हान्छ, सरकार बोल्दैन । तर सप्तरीमा नेपालका सुरक्षकर्मीमाथि बम आक्रमण गर्नेलाई यो सरकार केही भन्दैन । उल्टो आफ्नो देशको सुरक्षा गर्ने प्रहरीलाई कार्वाही गर्छु भन्छ । यो कसको सरकार हो ?’ वर्तमान सरकारमा चारतिर टाउको फर्केका दललाई मीत लगाइदिएर गठबन्धन बनाइएको र मीत लगाइदिनेले नै संविधान संशोधन चाहेको अध्यक्ष ओलीको स्पष्टोक्ति थियो ।
ओलीले अगाडि भने –‘अहिले गर्नु पर्ने चुनाव हो । तर सरकार संशोधन गर्छु भनेर हिडेको छ । प्रदेश पाँच टुक्रयाउने नियत मीत लगाइदिने कै इसारामा देखिएको हो । नेकपा एमालेले संशोधन हुन दिँदैन । ’
सत्तामा बस्ने मोर्चा, माओबादी र कांग्रेस आपसमा कुटेको र रोएको अभिनय गर्ने काममा लिप्त भएको ओलीको कथन थियो । मधेसलाई ठग्न मधेसी मोर्चा गठन गरिएको बताउँदै अध्यक्ष ओलीले बाबुराम भट्टराइको नयाँ शक्ति पनि पूराना भ्रष्टाचारीहरुको जत्था भएको स्पष्ट पारे ।
फरक प्रसंगमा अध्यक्ष ओलीले नेपाली नागरिकता प्राप्त गर्न अत्यन्त खुकुलो प्रावधान रहेको बताए । उहिले रानीको जन्मोत्सवमा चकलेट बाँडे जस्तै सजिलो गरी अंगीकृत नागरिकता दिने गरेकोकमा यसलाई सच्याउनु पर्ने ओलीको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कञ्चनपुरमा भारतीय एसएसबीले नेपालको सीमाभित्र पसी गोबिन्द गौतमको हत्या गरेको घटनालाई सामसुम पार्न सरकारले प्रयत्न गरिरहेको बताए ।
हत्या प्रकरणको निप्टारा नहँुदै सरकारले दश लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नु मुद्दालाई दबाउने सरकारी प्रयास भएको गौतमको भनाइ थियो । ‘भारतले नेपाली नागरिक गोबिन्द गौतमको हत्या गरेकोमा माफी माग्नु पर्छ र कम्तिमा पनि एक करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनु पर्छ, गौतमले भने ।
नेपाल जन्मेदेखि नै हिमाल, पहाड र तराइको समागम भएकाले यो भौगोलिक निर्भरतालाई कसैले तोड्न नसक्ने गौतमको कथन थियो । नेता गौतमले भने– नेपालको तराई राजेन्द्र महतो, उपेन्द्र यादव, वा महन्थ ठाकुरले पेट बोकेर जन्माएको होइन ।
नेपाल विरुद्ध नाकाबन्दी लाग्दा सिमानामा भोज खाने दल वा व्यतिm नेपाली हुन नसक्ने गौतमले बताए । नाकाबन्दीमा सबैभन्दा ठूलो दुःख मधेसका जनताले पाए तर मोर्चाले त्यो दुःखको बेला सिमानामा भारतको भोज खाए, गौतमको प्रश्न थियो, मधेसी मोर्चा नेपाली हो कि बिदेशी ?