प्रकाश थापा
गर्मीयामको समय अर्थात् फाल्गुनको महिनादेखि जेष्ठसम्मको अविधमा देशको वन क्षेत्र संरक्षणमा वन डढेलो चुनौतिको विषय हो । वनजंगल, भिरपाखा, खरबारीमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिकैको वस्तीलाई समेत समस्या पारिरहेको छ । मानव जीवनको लागि आधारभूत आवश्यकता आगो अनियन्त्रित हुँदा वन क्षेत्रमा डढेलो लाग्ने गर्दछ । आगो बल्नका लागि तिन तत्वहरुः अक्सिजन, जल्ने वस्तु र आगोको स्रोत चाहिन्छ । यी तिन मध्ये कुनै एकको अभावमा आगो बल्न सक्दैन । यिनै तिन तत्वहरुको संयोजनमा आगो बल्दछ र वन क्षेत्रमा अनियन्त्रित हुँदै गएर वन डढेलोको बिकराल रुप लिने गर्दछ । हरेक वर्ष नेपालको वन क्षेत्रमा डढेलोको प्रभाव परिरहेको छ । गत वर्ष मात्रै डढेलोले देशको करिव १४ लाख हेक्टर वन क्षेत्रलाई सखाप पारेको थियो ।
मूलत वन डढेलो प्राकृतिक कारण भन्दा पनि मानवीय कारणले लागि रहेको छ । विभिन्न अध्ययनहरुका अनुसार नेपालमा लाग्ने डढेलोहरुको मानवीय कारणहरुमा ५८ प्रतिशत डढेलो जानीजानी, २२ प्रतिशत डढेलो लापरवाही र २० प्रतिशत डढेलो दुर्घटनाले हुने गरेको देखिएको छ । जनमानसमा डढेलो पछि राम्रो घाँस पलाउँछ भन्ने अभिप्रायले गर्दा कतिपय डढेलोहरु निम्तिएका देखिन्छन् । वन क्षेत्रमा चुरोट बिँडीका ठुटा जथाभावी फाल्नु, खेतबारीमा लागेको आगो अनियन्त्रित भई जंगलमा सल्कनु आदि मानवीय कारणहरुले पनि धेरै ठाउँमा डढेलो लागिरहेका छन् । तर कतिपय घटनामा भने प्राकृतिक रुपमा चट्याङ पर्दा वा घर्षणका कारण निस्केको झिल्काले डढेलो लाग्नसक्छ ।
प्राकृतिक वा मानवीय जनुसुकै कारणले डढेलो लागे पनि यसको नकारात्मक प्रभावले दिन प्रति दिन समस्याका घेराहरुलाई बढाइरहेको छ । वन डढेलोले मानव जातिलाई मात्र नभई सम्पूर्ण प्राणी जगत्लाई नै क्षति पु¥याएको हुन्छ । डढेलोका कारण जैविक विविधतामा ह्रास आइरहेको छ । सामाजिक, आर्थिक र वातावरणीय समस्याहरु वन डढेलोका कारण झन जटिल बनिरहेका छन् । स्थानीय स्तरमा डढेलोका कारण वन पैदावारमा कमी छाइरहेको छ । माटोको प्राङ्गारिक तहको विनाश हुनुका साथै भूक्षयको समस्या देखा परिरहेका छन् । डढेलोले वन्यजन्तुको वासस्थानमा समस्या थपिदिनाले समग्र पारिस्थितिक प्रणालिमा नै नकारात्मक समस्याहरु आइरहेका छन् । उता जलवायु परिवर्तनको प्रमुख कारण कार्वनको उत्सर्जनमा वन डढेलोले थप सहयोग पु¥याइरहेको छ । कतिपय वन जंगल सँग जोडिएका वस्तीहरुमा पनि डढेलोले धन जनको क्षति पु¥याएको छ । नेपालमा हरेक वर्ष डढेलोका कारण धेरै नै मानिसहरुको ज्यान गइरहेको छ भने वस्तीहरु पनि जलेर सखाप भएका छन् ।
वन डढेलो लगाउनेलाई कानुनबाट नै दण्डित गरिए पनि यसमा कमि आउन सकेको छैन् । मुलुकी ऐन २०२० मा आगो लगाउने कार्यलाई फौजदारी अपराधका रुपमा लिइएको छ । त्यस्तै वन ऐन २०४९ अनुसार वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरु गर्न बन्देज लगाई कानुनी अपराधको रुपमा लिई कैद सजाय र दण्ड जरिवानको प्रावधान छ । उक्त ऐन विपरीत वनमा आगो लगाउने कार्य गरेमा बिगो असुल गरी १० हजार रुपैयाँ सम्म जरिवाना वा १ वर्ष सम्म कैद वा दुवै सजाए हुने व्यवस्था छ । तर पनि वन क्षेत्रको व्यापकता, सर्वसाधरणको लापरवाही तथा डढेलो नियन्त्रणको लागि स्रोत साधनको अभावका कारण डढेलो नियन्त्रणको कार्य उल्लेख्य रुपमा हुन सकेको छैन ।
वन डढेलो नियन्त्रणका माध्यमका रुपमा प्रतिरक्षात्मक उपाय र प्रतिरोधात्मक उपायहरु छन् । प्रतिरक्षात्मक उपायहरुमा जनचेतना फैलाउने तथा प्रचार प्रसार गर्ने, सुख्खायाम पूर्व नै डढेलो संवेदनशिल स्थलबाट पात पतिङ्गर जस्ता जल्ने पदार्थ हटाउने, वनमा अग्नि रेखाको निर्माण र सरसफाइ गर्ने आदि कार्यहरु पर्दछन् । त्यसैगरी प्रतिरोधात्मक उपायहरुमा डढेलो नियन्त्रणको लागि जनसहभागिता जुटाउने, डढेलोको सुचना तुरुन्त प्रवाह गर्ने, हरियो स्याउला, भिजेको बोराले पिटेर, पानी माटो बालुवा प्रयोग गरेर निभाउने कार्य आदि पर्दछन् । यी प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक उपायहरुको उचित प्रयोगको लागि जनसहभागिता अत्यावश्यक छ । एउटा मात्र निकायको तत्परताले यो डढेलो नियन्त्रणको जटिल कार्य सम्पन्न गर्न संभव छैन । त्यसैले डढेलो नियन्त्रणको लागि सबैको सहभागिता जरुरी छ । देशमा अहिले १८ हजार भन्दा बढि सामुदायिक वन उपभोक्ता समुहहरु छन् । सामुदायिक वन उपभोक्ता समुहहरुले आआफ्नो समुहमा जनचेतना फैलाउने तथा डढेलो नियन्त्रणका उपायहरु अबलम्बन गर्न जरुरी छ । सकेसम्म डढेलो लाग्नै नदिने उपायहरुमा सबैले ध्यान दिनै पर्दछ । यसो गर्दा पनि डढेलो लागिहाले सहभागितामूलक ढंगबाट स्थानीय जनसमुदाय, वन कर्मचारी, प्रहरी र नेपाली सेनाले नियन्त्रणको कार्य गर्नु पर्दछ । वन जंगलले हाम्रो जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । बढ्दो डढेलोको प्रकोपले वन क्षेत्रलाई असर पारिरहेको अवस्थामा डढेलो नियन्त्रणमा हामी सबै एक जुट हौँ ।
Previous Articleकडा प्रतिवाद गरौं
Next Article ग्याँस विक्रेता संघको अध्यक्षमा पुनः आचार्य