कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिकको मृत्यु भएपछि देशभर विरोध भईरहेको छ । आफ्नै भूमिमा विकास निर्माण गर्न भारतीय सीमा सुरक्षाबलले रोकेपछि भएको झडपमा एसएसबीको गोली लागेर ३० वर्षीय स्थानीय गोविन्द गौतमको मृत्यु हो । यतिमात्रै होइन आनन्द बजारका स्थानीय नेपालीहरुको घरमा भारतीयहरुले लुटपाट गरेका छन् । स्थानीय श्याम गुरुङको पसलसमेत रहेको घरबाट भारतीयले बाख्रा, खसीबोका, भाडाकुँडा र लत्ताकपडासमेत लुटेर लगेका छन् । आनन्द बजार क्षेत्रका अन्य घरहरुमा पनि एसएसबीसँगै छिरेका भारतीयहरुले तोडफोड गरेका छन् । एसएसबीले गोली चलाएपछि नेपालीहरु तितरवितर भएको मौकामा भारतीयले नेपालीका घर लुटेका हुन् । भारतले नेपाल माथि निरन्तर रुपमा हेपाहा प्रवृत्ति देखाउँदै आएको छ । नेपाली भुमिमा छिरेर नेपालीको हत्या गरेको छ ।
देशभर विरोधको आगो दन्किएको छ । तर, यस घटनाप्रति सत्ता साझेदारहरुले मुख खोलेका छैनन् । भारतले नेपालमा नांगो हस्तक्षेप जारी राखेपनि सरकारले विरोध समेत गर्न नसक्नु लोकलाजको विषय हो । कञ्चनपुर घटनालाई भारतीय अत्याचारको पराकाष्ठा हो । दुबै देशका स्थानीय अधिकारीबीच भएको पूर्वसहमतिलाई एकपक्षीय ढंगले उल्लंघन गर्दै भारतिय पक्ष हस्तक्षेपमा उत्रनु निन्दनीय छ । एक स्वतन्त्र मुलुकको नागरिक छिमेकीको गोली प्रहारबाट मारिनु अत्याचारको पराकाष्ठा हो । नेपाल सरकारले भारतसंग यसको जवाफ खोज्नु पर्छ । यो घटनालाई हराएर जान दिनु हुँदैन । भारतले धेरैपटक नेपाली जनता दुःख दिने गरेको छ । त्यसैले दुई देशका उच्च कुटनीतिक तहमा छलफल गरेर घटनाको यथार्थ सार्बजनिक गरी दोषीलाई कडा कारबाही गर्नुपर्छ । नागरिकको जीउधनको सुरक्षा सरकारको दायित्व हो । सरकार त्यसतर्फ सजग र जिम्मेवार हुनुपर्छ ।
नेपालको सिमा मिचिँदा नेपालीलाई दुखिरहेको छ । र, त सिमा जोगाउन नेपाली नागरिक गोविन्द गौतमले ज्यानको बलिदानी दिएका छन् । सिमा क्षेत्रका जनताले धेरैपटक एसएसबीको दुव्र्यवहार झेलिरहेका छन् । नेपाली भुमी मिचिँदा विरोध जनाईरहेका छन् । तर, सरकारले राष्ट्रिय स्वाधिनतामाथि खुलेआम हस्तक्षेप भईरहँदा कडा प्रतिवाद गर्न नसक्नु दुःखको कुरा हो । सरकारले गौतमलाई शहीद घोषणा गरी उनको परिवारलाई १० लाख रुपैयाँ राहत दिने बताएको छ । उनलाई राहत मात्रै होइन राष्ट्रिय सम्मानका साथ अन्योष्टी गर्नुपर्छ । यति गरेर मात्रै सरकारको दायित्व पुरा हुँदैन । भारतीय विस्तारवादविरुद्ध वक्तव्य मात्र होइन कडा प्रतिवाद गर्नुपर्छ । सरकारलाई झक्झकाउनको लागि नागरिक स्तरबाट पनि दबाब दिन जरुरी छ । सिमा क्षेत्रका स्तम्भहरु रातारात गायव भईरहेका छन् । नेपाली सिमा मिचिएको मिचियै छन् । अब मिचिएको नेपाली भूभाग खोज्न पनि सरकारले कुनीतिक रुपमा पहल गर्नुपर्छ । र, नेपाल–भारत सिमा विवादको दीर्घकालिन समाधान खोज्नु पर्छ ।