बुर्तिवाङ बजारलाई नयाँ शहरको रुपमा विकास गर्नको लागि सरकारले जुन उत्साहका साथ घोषणा गरेको त्यही उत्साहमा काम भने हुन सकेको छैन । नयाँ शहर आयोजनाको काम कछुवा गतिमा अघि बढ्दा बुर्तिवाङलाई नयाँ शहरको रुपमा विकास गर्ने सपना सपनामै परिणत हुने त होइन भन्ने चिन्ता थपिएको छ । नगर विकास समितिको बेवास्ता, ठेकेदार कम्पनीको मनपरीतन्त्रका कारण नयाँ शहर आयोजनाको काम कतिपय ठाउँमा अलपत्र परेको छभने कतिपय कामको थालनी नै हुन सकेको छैन । ठुला ठुला संरचना बन्नुको कुरा छाडौ बुर्तिवाङ बसपार्कलाई समेत व्यवस्थित बनाउने काम गर्न समेत हम्मेहम्मे परेको छ । बुर्तिवाङ बसपार्क अहिले अतिक्रमणको चपेटाबाट गुज्रिरहेको छ । जसले गर्दा सवारी साधन आवातजावत, पार्किङ संगै दुर्घटना हुने निकै ठुलो चुनौति थपिएको छ ।
हालै सम्पन्न नगर विकास समिति बुर्तिवाङको बैठकममा आयोजनाको गतिविधिबारे निकै चर्काे बहस भएको छ । नयाँ शहर आयोजनाको काम चुस्त र प्रभावकारी रुपमा हुन नसकेको भन्दै बैठकमा एकअर्का प्रति आरोप लगाउने काम भएको छ । आयोजनाको काम मापदण्ड अनुसार नभएको, आयोजना सम्पन्न गर्दा त्यसको सूचना बोर्ड नागरिकले देख्ने ठाउँमा नराखिएको, तोकिएको समय सिमासम्म पनि ठेकेदार कम्पनीहरुले काम नगरेको, भए गरेका कामहरु समेत मापदण्डका नभएको भन्दै गुनासो व्यक्त गरेका थिए । स्थानियको माग जायज पनि छ । तोकिएको समयमा काम नहुनु हाम्रो लागि नौलो होइन । सरकारी निकायको बेवास्ता, राजनीतिक दलबीच भागबण्डा नमिल्नु र स्थानिय स्वार्थका कारण निर्धारित समयमा विकास निर्माणका काम हुन सकेका छैनन् । बुर्तिवाङमा नयाँ शहर बन्नु त्यहाँकै जनतालाई फाइदा पुग्ने हो । त्यसैले आयोजनाले निष्पक्ष भई स्थानिय जनतासंग सहकार्य गरेर कामलाई तीव्रता दिनुपर्छ ।
आयोजनासंग राजनीतिक दलका स्वार्थ जोडिदा पनि नयाँ शहरको काम तीव्र रुपमा अघि बढ्न नसकेको हो । अझ अचम्म त के छभने नयाँ शहर आयोजनाले ठेकेदारलाई नै निर्माण समितिको अध्यक्ष भएर काम दिनु अपारदर्शी हो । आयोजनाको ठेकेदारलाई निर्माण समितिको अध्यक्ष बनाउनुले कामको पारदर्शीता नहुने र नेपाल सरकारको ऐन नियमसँगत विपरित हो । विकास निर्माणमा ठेकेदार र निर्माण समितिबीच मिलेमतो हुँदा पनि काम गुणस्तरिय हुँदैन भने आर्थिक अनियमितता हुने निश्चित छ । यस्ता कुरामा स्थानिय जनताले सम्बन्धि निकायको ध्यानाकर्षण गराउन जरुरी छ । बुर्तिबाङ लक्ष्मी कुण्डघाटहुँदै कुत्थाप्ला जोड्ने २५ लाख बजेट खर्च गर्दा उपभोक्ता समितिको अध्यक्षका रुपमा विनोद कुवँर रहेको र कुवँरले नै उक्त सडकको ठेक्काको जिम्मा लिई काम गरेको भन्दै जनस्तरबाट उपभोक्ता समितिको अध्यक्ष र ठेकेदार एकै व्यक्ति हुनु राम्रो नभएको आवाज उठेको थियो । त्यसैले विकास निर्माणका काममा यस्तो अपारदर्शितालाई रोक्नका लागि सबै सचेत हुनुपर्छ । अर्काेतर्फ बुर्तिवाङलाई नयाँ शहरको रुपमा विकास गर्ने जिम्मा लिएको आयोजनालाई समय समयमा ध्यानाकर्षण गराई कामलाई समयमै सम्पन्न गर्न जुट्नु पर्छ ।
Previous Articleनेकपा माओवादी केन्द्रको रणसिंहकिटेनीमा समिति गठन
Next Article बागलुङको घट्दो व्यापार र बढ्दो आकांक्षा