काठमाडौं, २५ फागुन – साबिक विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै रियल मड्रिडले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
स्पेनिस ला लिगा क्लब रियल मड्रिडले इटालियन सिरी ए क्लब नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ६–२ को जितसहित क्वाटरफाइनलमा स्थान बनाएको हो ।
नापोलीको मैदानमा भएको खेलमा रियलका लागि कप्तान सर्जियो रामोस र अल्भारो मोराटाले गोल गरे । नापोलीका ड्रिस मर्टेन्सले आत्मघाती गोल गरे ।
खेलमा अग्रता भने नापोलीले लिएको थियो । २४ औं मिनेटमा मर्टेन्सले नै नापोलीका लागि गोल गरेका थिए । पहिलो हाफमा १–० ले पछि परेको रियल दोस्रो हाफमा खेलमा फर्कियो ।
५१ औं मिनेटमा रामोसले रियलका लागि बराबरी गोल फर्काए । त्यसको ६ मिनेटपछि नापोलीका मर्टेन्सले आत्मघाती गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए ।
इन्जुरी समयमा क्रिष्टियानो रोनाल्डोको पासमा मोराटाले गोल गरे र रियललाई ३–१ को जित दिलाए । पहिलो लेगमा पनि रियल ३–१ ले नै विजयी भएको थियो ।
पहिलो लेगमा जस्तै दोस्रो लेगमा पनि क्रिष्टियानो रोनाल्डोल गोल गर्न सकेनन् । तर गोलका लागि अवसर भने सिर्जना गरे । उनी च्याम्पियन्स लिगमा लगातार छैटौं खेलमा गोल बिहिन भएका छन् ।
Previous Articleचीनबाट तीन उच्चस्तरीय टोली नेपाल आउँदै
Next Article सभापति देउवाविरुद्व पौडेल समुहको ठमेलमा बैठक