काठमाडौं, २५ फागुन – आगामी एक महिनाभित्र चीनको तीन उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने तय भएको छ । चिनियाँ रक्षामन्त्री, परराष्ट्रसचिव र कम्युनिस्ट पार्टीको एसिया मामिला हेर्ने उच्च अधिकारी काठमाडौं आउन लागेका हुन् । कूटनीतिक स्रोतका अनुसार उनीहरू सबै तीनदिने भ्रमणमा आउन लागेका हुन् |
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रोपोगाण्डा प्रमुख लिउ छिपाओले ३ पुसमा तीनदिने नेपाल भ्रमण गरेका थिए । तीन दिनपछि तिब्बतको जनकंग्रेस प्रमुख बाइमा छिलिनले नेपाल भ्रमण गरेका थिए । उनीपछि नेपाल आउन लागेको यो नै उच्चस्तरीय प्रतिनिधिमण्डल हो ।
चीनको परराष्ट्र मामिलासम्बन्धी सहायकमन्त्री कोङ सुयान्यु ७ देखि ९ चैतसम्मका लागि नेपाल आउने तय भएको छ । परराष्ट्रसचिव शंकरदास वैरागीको औपचारिक निमन्त्रणामा दुईपक्षीय संयन्त्रको बैठकमा सहभागी हुन उनी आउन लागेका हुन् । नेपाल र चीनका परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको ११औँ बैठकका लागि उनलाई परराष्ट्र मन्त्रालयले ११ पुसमा पत्र पठाएको थियो ।
Previous Articleगोली सप्तरीमा, निशाना सबैतिर
Next Article रियल मड्रिडले जित्यो, पुग्यो अन्तिम ८ मा