बागलुङ, २४ फागुन/सुख्खा पहिरोका कारण अबरुद्ध पुष्पलाल मध्यपहाडी लोकमार्ग खुलाउनको लागि सोमबारदेखि काम सुरु भएको छ । मध्यपहाडी लोकमार्ग परियोजना र दरमखोला हाईड्रो ईनर्जि लिमिटेडको सहकार्यमा सोमबारदेखि एउटा स्काभेटर प्रयोग गरेर काम सुरु गरिएको मध्यपहाडी लोकमार्ग परियोजनाका ईन्जिनियर राजु रानाभाटले बताए । मंगलबारदेखि अर्को एउटा थप मेसिन प्रयोग हुने उनको भनाई छ । पहिरोसँगै ठुल्ठुला ढुंगा र माटो खसेर सडक रोकिएको र झण्डै २ सय मिटर फराकिलो तथा १ सय ५० मिटर माथिबाट सडक भाँसिएकाले नियमित ३÷४ ओटा मेसिन लगाएर काम गर्दा पनि सडक खुलाउन ३ देखि ४ दिनभन्दा बढी समय लाग्ने ईन्जिनियर रानाभाटले बताए । सडक र त्यसभन्दा माथि रहेको चट्टान फुटाउन लाग्ने समयका आधारमा सडक खोल्ने समय पनि निर्भर हुने मध्यपहाडी लोकमार्गले जनाएको छ । दरमखोला हाईड्रो ईनर्जि रिघाले विद्युत पाईपका लागि सडकको कुनापट्टि माघमा खनेर फराकिलो बनाएको ठाउँबाट सुख्खा पहिरो गएको आयोजनाले जनाएको छ । आइतबार बिहानदेखि लोकमार्ग बन्द भएपछि बुर्तिबाङबाट बागलुङ, काठमाण्डौ र पोखराका लागि छुट्ने सवारी साधनको आवतजावत रोकिएको छ । रिघा गाविस–७ मनेवा पाटामा सडक माथिबाट सुख्खा पहिरो खसेपछि दरमखोला समेत थुनिएको छ । थुनिएर बनेको तालमाथिबाट पानी ओभर फ्लो भएर बाग्न थालेपछि तटिय क्षेत्रको त्रास कम भएको छ । तर थुनिएर बनेको तलाउ केहि घटेर दरमखोलाको बहाव नियमित भएपनि ताल भने यथावत रहेको खर्बाङ प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए । सडक अबरुद्ध भएपछि जीप तथा साना सवारी साधनलाई सानो रिघा ठुलोरिघा–मल्म हुँदै गलकोट र गुल्मी वामीटक्सार काँडेबासहुँदै गलकोट हटियातर्फ जाने स्थानिय ग्रामिण रुट प्रयोग भएको छ । बस तथा ठुला सवारी साधन ति दुवै रुटबाट सञ्चालन हुन नसक्ने भएपछि खर्बाङ र रिघा तिरको ठाउँबाट यात्रु झारेर सञ्चालन गरिएको यातायात व्यवसायीले जनाएका छन् । सडकमा अलपत्र यात्रुहरुका लागि बैकल्पिक रुट प्रयोग भएपछि केहि सहजता भएको छ । बागलुङ जिल्लाको रिघा गाविस–७ मनेवापाटामा आइतबार भीषण सुख्खा पहिरो खसेर दरमखोला थुनिएको हो । उक्त घटनामा एक महिलाको ज्यान गएको थियो । दरमखोलामा थुनिएर खोला छेउमा रहेको केन्द्रिय बिद्युत प्रसारण लाइनको पोल ढलेको देखे पछि घरको बिजुलीको मेन स्विच बन्द गर्ने क्रममा रिघा–७ का ५६ बर्षिया मनकुमारी नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।