संविधान संशोधनको माग गर्दै निरन्तर रुपमा असन्तुष्टी जनाउँदै आएको मधेसी मोर्चाले पछिल्लो समय धम्कीको राजनीति गर्न शुरु गरिसकेको छ । संविधान संशोधनको लागि संसदमा विधेयक टेबुल भईसकेको छ । संविधान संशोधन कुनै हालतमा हुन नदिने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा र अन्य साना दलले बताउँदै आएका छन् । संविधान संशोधन गर्न दुई तिहाई बहुमत चाहिन्छ । यद्यपी संविधान संशोधन गर्ने वा नगर्ने विषयमा संसदमा हुने मतदानले निक्यौल गर्नेछ । संविधान संशोधन गर्ने संवैधानिक र कानुनी बाटो हुँदाहुँदै पनि मोर्चाले सबै विकल्पलाई अस्वीकार गर्दै आएको छ । मोर्चाले कुनै पनि हालतमा संविधान संशोधन हुनुपर्ने जुन अड्डी कसेको छ त्यो अलोकतान्त्रिक छ । लोकतन्त्रमा विधिको शासन हुन्छ । र, सबैले संविधान र कानुनको सम्मान गर्नुपर्छ । विधिलाई मिचेर मधेसी मोर्चाले अनुचित माग तेस्राएर देशलाई बन्धक बनाउन पाउँदैन ।
संविधान संशोधन हुने अवस्था नदेखपछि मधेसी मोर्चाले अहिले धम्कीको राजनीति गर्न शुरु गरेको छ । सरकारले बैशाख ३१ गते स्थानिय तहको चुनाव गर्ने घोषणा गरेको छ । निर्वाचन आयोग पनि चुनाव गर्न जुटिसकेको छ । मधेसी मोर्चाले भने आफ्ना माग पुरा नभएको भन्दै चुनाव बिथोल्ने धम्की दिएको छ । तोकिएको समयमा चुनाव भएन भने देशमा संवैधानिक संकट निम्तने निश्चित छ । यस्तो गंभीर अवस्थालाई बेवास्ता गर्दै मोर्चाले चुनाव बिथोल्ने अभिव्यक्ति दिनु गैरराजनीतिक चरित्र हो । चुनावलाई बिथोल्ने भन्दा पनि सबै दल मिलेर चुनावमा भाग लिनुपर्छ । मधेसी जनताको मसिहा सम्झने मोर्चाले स्थानिय तहको चुनावमा भाग लिएर आफ्नो जनमत देखाउन तयार हुनुपर्छ । यद्यपी मधेसी मोर्चाले चुनावमा भाग नलिएपनि चुनाव अब कसैले टारेर टर्दैन । हिजो संविधानसभाको चुनावमा पनि वैद्य माओवादीले भाग लिएका थिएनन् । चुनाव शान्तिपुर्वक भएकै थियो ।
मधेसमा त्यहाँका पार्टीका कार्यकर्ता मात्रै छैनन् । एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य दलका पनि कार्यकर्ता उत्तिकै छन् । अझै तराईमा एमालेका कार्यकर्ता कति छन् भनेर मेची महाकाली अभियानको उद्घाटन कार्यक्रममा देखिएको जनसागरले पुष्टि गरेको छ । मोर्चाले एमालेको मेची महाकाली अभियानलाई समेत बिथोल्ने बताएको छ । मधेस मधेसी दलको मात्र वृता होइन अन्य राजनीतिक दलले पनि त्यहाँ कार्यक्रम गर्न पाउँछन् । कुनै दलले शान्तिपुर्ण रुपमा जनता जगाउने काम गर्न पाउनु अधिकारको कुरा हो । त्यसैले मोर्चाले अब धम्कीको राजनीतिलाई छोडेर शान्तिपुर्ण राजनीतिमा अवतरण हुन जरुरी छ । यसले मेधसी दल मात्रै होइन देशलाई अप्ठ्यारोबाट जोगाउने छ । मोर्चालाई चुनावमा सहभागी गराउनको लागि सरकारले पनि पहल गर्न जरुरी छ । अहिलेको अर्जुन दृष्टि भनेको चुनाव हो । मधेसी दलका नेतृत्वले चुनावमा भाग नलिए पनि स्थानिय कार्यकर्ताले भाग लिनेछन् । यो कुरा मोर्चाले बुझ्नु पर्छ ।
Previous Article२०७३ फागुन २२ गते आईतबारको राशिफल
Next Article माओवादी केन्द्रको गाउँ–गाउँमा भेला