बागलुङ, २१ फागुन – नयाँ शहर आयोजना अन्तरगतको नगर विकास समिति बुर्तिबाङको बैठक शुक्रबार सम्पन्न भएको छ । फागुन मसान्तसम्म अन्तिम म्याद रहेको नगर विकास समितिको अन्तिम बैठक भन्दै समितिले आजसम्म गरेका काम र भावी कार्ययोजनाका विषयमा स्थानीय सरोकारवाला सहितको बैठक सम्पन्न गरेको हो । नगर विकास समितिका अध्यक्ष अर्जुन शेरचनको अध्यक्षतामा बसेको बैठकमा नयाँ शहर आयोजनाका कार्यक्रमहरु कसरी सञ्चालन हुँदैछन् र भए गरेका कामहरुमा के कस्ता समस्या छन भन्ने सवालमा समेत उपस्थित सरोकारवालाबीच जानाकारी आदानप्रदान तथा स्थानीयको गुनासो सुनुवाई भएको थियो । नगर विकास समितिले आयोजना गरेको बैठकमा नयाँ शहर आयोजना प्रमुख प्रविण प्रताप अधिकारीले आयोजनाको तत्कालिन कार्यक्रम, भावी कार्ययोजनाका विषयमा जानकारी दिएका थिए । अधिकारीका अनुसार, आयोजनाले गत आर्थिक वर्षमा तय गरिएका पूर्वाधार विकास निर्माणका योजनामध्ये बुर्तिबाङ बसपार्कहुँदै उपल्लो बजार तथा पुल्चोकसम्मको सडक स्तरोन्नतिमा २० लाख विनियोजन भएकोमा ठेकेदारले निश्चित समयमा काम पुरा नगरेको हुँदा १२ लाखको मात्र वजेट फरछ्यौट भएको छ । बाँकी बजेट फ्रिज भएको आयोजना प्रमुख अधिकारीले बताए । उक्त सडकको कालोपत्रे सहितका लागि यस आर्थिक वर्षमा ७० लाख बजेटको कार्यक्रम रहेको उनले बताए । सोही बजेटले भगवती मन्दिरहुँदै बुर्तिबाङ उपल्लो बजारको सडक स्तरोन्नति हुने अधिकारीले जानकारी दिए । यस्तै यसै आर्थिक वर्षमा सोरबोटहुँदै भरेटा जोड्ने सडक स्तरोन्नतिका लागि ६५ लाखको कार्यक्रम राखिएको छभने बुर्तिबाङ बजार, वरपिपलहुँदै भरेटासम्मको सिडि निर्माणमा ६० लाखको कार्यक्रम रहेको बताइएको छ । त्यस्तै यसै आर्थिक वर्षबाट बुर्तिबाङ कुत्थाप्लामा आयोजनाले बहुबर्षिय आयोजना अन्तरगत २ वटा ४ तले भवन बन्ने भएको छ । जसको काम तत्काल थालनी भएको आयोजना प्रमुखले बताए । त्यहाँ नयाँ शहरी आयोजना र नगर विकास समितिको भवन बन्ने नगर विकास समितिका अध्यक्ष अर्जुन शेरचनले बताए । उता बुर्तिबाङको वडा नं. २ तारीखेतमा जग्गा व्यवस्थापन तथा बस्ती व्यवस्थापनका लागि विनियोजन भएको ६५ लाख बजेट भने त्यहाँ विवाद भएको भन्दै स्थानान्तरण गरिने भएको छ । उक्त बजेटले बडिगाड खोलामा तटबन्ध गरिने कार्यक्रम ल्याईने अध्यक्ष शेरचनले जानकारी दिए । यसैबीच बैठकमा स्थानीय जनताले भने आयोजनाको काम मापदण्ड अनुसार नभएको, आयोजना सम्पन्न गर्दा त्यसको सूचना बोर्ड नागरिकले देख्ने ठाउँमा नराखिएको, तोकिएको समय सिमासम्म पनि ठेकेदार कम्पनीहरुले काम नगरेको, भए गरेका कामहरु समेत मापदण्डका नभएको भन्दै गुनासो व्यक्त गरेका छन् । नगर विकास समितिका पूर्वअध्यक्ष तुल्सीराम अर्यालले तत्काल काम सम्पन्न गरिने आयोजना स्थलमा सर्वसाधारण जनताले देख्ने गरि आयोजनाको सबै विवरण खुल्ने गरि सूचना पार्टि राख्नु पर्ने, शहरी आयोजनाको बजेट फ्रिज गराउन नहुने र पायक पर्ने स्थानमा सार्वजनिक महत्वका कार्यालयहरु राखिने गरि जग्गा व्यवस्थापन गर्न नगर विकास समितिले पहल थाल्न आग्रह गरे । यस्तै नेकपा एमालको टंकप्रसाद पौडेलले नयाँ शहर आयोजनाले ठेकेदारलाई नै निर्माण समितिको अध्यक्ष भएर गरेका काम कति पारदर्शी भए होलान भनी प्रश्न गरेका छन् । आफै उपभोक्ता समितिको अध्यक्ष बन्ने र त्यही व्यक्तिले कामको ठेक्का लिनु कुनैपनि हालतमा पारदर्शीताको काम र नेपाल सरकारको ऐन नियमसँगत मान्य नहुने काममा गाविस र नगर विकास समितिले कसरी बजेट फछ्यौट गर्न सक्छ भन्दै यहाँ समिति र ठेकेदारबीच मिलेमतो भएको आशंका देखिएको बैठकमा पौडेलले दाबी गरेका थिए । आयोजनाले गत असार महिनामा बुर्तिबाङ दुलेहुँदै पुर्कोट जोड्ने सडक स्तरउन्नतिमा यसअघि नै ट्रयाक खोलिएको बाटोमा ३ दिन काम गरेर २८ लाख बजेट खर्च भएको देखाएको थियो । उक्त सडक निर्माणमा धौलागिरी रोयल विल्डर्सका सञ्चालक थमप्रकास पुन आफै उपभोक्ता समितिको अध्यक्ष भएर काम गरेको भन्दै उक्त विरोध भएको थियो । उता बुर्तिबाङ लक्ष्मी कुण्डघाटहुँदै कुत्थाप्ला जोड्ने २५ लाख बजेट खर्च गर्दा उपभोक्ता समितिको अध्यक्षका रुपमा विनोद कुवँर रहेको र कुवँरले नै उक्त सडकको ठेक्काको जिम्मा लिई काम गरेको भन्दै जनस्तरबाट उपभोक्ता समितिको अध्यक्ष र ठेकेदार एकै व्यक्ति हुनु राम्रो नभएको आवाज उठेको थियो । यस विषयमा कामको जिम्मा लिएका थमप्रकाश पुन र विनोद कुवँरले भने आफूहरुले गरेको काम मापदण्ड विपरित भए नभएको अनुगमन गरेर आउन आग्रह गरे । यता नगर विकास समितिका अध्यक्ष शेरचनलाई पनि उपभोक्ता समितिको अध्यक्ष पनि आफै हुने र ठेक्कापट्टा पनि आफैले लिनु राम्रो काम नभएको भन्दै गाविसबाट आएको सिफारिसका आधारमा यस्तो हुन गएको भन्दै त्यस्तो गल्ती गाविस कार्यालयबाट हुन नदिन सबै सचेत रहन आग्रह गरेका थिए । बैठकमा राजनैतिक पार्टी प्रतिनिधि, एकीकृत सेवा केन्द्र प्रमुख जनक थापा, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना, पूर्वनगर विकास समिति अध्यक्ष तुल्सीराम अर्याल लगायत बुर्तिबाङ बजारस्थित स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो । बैठकले अतिक्रमणमा परेको बुर्तिबाङ बसपार्क अबको ३५ दिनभित्र स्थानिय नहटे नयाँ शहर आयोजनाले बल प्रयोग गरि हटाउने निर्णय गरेको छ । मालपोत तथा नापी कार्यालयले अतिक्रमणबारे आयोजनाको कार्यालयमा रिपोर्ट पेश गरेको छ । यअघि प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे सहित स्थानीय विकास अधिकारी सहितको बैठकले बसपार्क एरियाको जग्गा खाली गराउने र उक्त स्थानमा नयाँ सं।चना बनाउने निर्णय गरिएकोले यसखालको निर्णय गरिएको समितिका अध्यक्ष अर्जुन शेरचनले बताए । बैठकले निर्माणाधिन योजना तत्काल सम्पन्न गर्न र टेन्डर प्रक्रिया अघि बढाउन ठेकेदार कम्पनीलाई दबाब दिने, बुर्तिबाङ बजार क्षेत्रमा कार्यालय व्यवस्थापन गर्नका लागि आवश्यक जग्गा व्यवस्थापन तथा खरिद प्रक्रियामा ल्याउनका लागि नगर विकास समितिका सदस्य दलबहादुर भण्डारीको संयोजकत्वमा ९ सदस्यीय जग्गा व्यवस्थापन समितिको समेत गठन गरिएको छ ।
Previous Articleमहासंघको उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी
Next Article एउटी हेर्न गएको अर्कीसँग बिहे