बागलुङ, २० फागुन – काँग्रेसका जिल्ला स्तरीय नेताहरुले अवको स्थानीय निर्वाचनमा युवाहरुको सक्रियता बढाउनुपर्नेमा जोड दिएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बिजयी भएपछि आयोजित कार्यक्रममा उनीहरुले स्थानीय निर्वाचनलाई सफल बनाउने सन्देस लिएर गाउँ जान नेताहरुले विद्यार्थीलाई आग्रह गरेका हुन् । सांसद चम्पा खड्काले क्याम्पसमा नेविसंघले जितेको सन्देशले स्थानीय निर्वाचनमा पनि काँग्रेसले जित्ने संकेत भएको बताइन् । साथै उनले महिलाहरुको संख्या उल्लेख्य रहेको क्याम्पसको सन्देशले गाउँगाउँमा पनि महिलाको सक्रियता र सहभागिता बढाउनुपर्नेमा पनि जोड दिइन् । काँग्रेस सभापति दिपेन्द्रबहादुर थापाले युवाहरुले सक्रियता र सुझबुझका साथ काम गरेमा जनताले विश्वास गर्ने भन्दै स्ववियु निर्वाचनमा जस्तै मेहेनत गरेर लाग्न आग्रह गरे । नेविसंघको नेतृत्वमा राप्रपा र नयाँ शक्ति निकट विद्यार्थीले क्याम्पसको स्ववियु निर्वाचनमा जीतेका थिए । लोकतान्त्रिक शक्तिलाई एक स्थानमा ल्याएको भन्दै उनले राष्ट्रिय राजनीतिमा पनि लोकतान्त्रिक शक्ति एक हुनुपर्ने उनले औल्याए । कार्यक्रममा काँग्रेस जिल्ला सचिव नवराज पौडेल, नेविसंघका सहमहामन्त्री हरिहर शर्मा, राप्रपाका नेता तिलक रिजाल, नयाँ शक्ति नेपालका नेता बमबहादुर गुरुङ, पूर्व स्ववियु सभापति बसन्तकुमार श्रेष्ठ, निर्वाचित सभापति मनिष थापा, गलकोट बहुमुखी क्याम्पसका निर्वाचित सभापति गुमानसिंह भण्डारी, नयाँ शक्तिकै प्रकाश केसी लगायतले बोलेका थिए । निवर्तमान सभापति चिरन्जिवि गौतमको अध्यक्षता र निर्वतमान सचिव खड्ग थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । मत परिणाम घोषणा पछि बिहिवार बिहानै देखि विद्यार्थीहरुले मोटरसाइकल ¥याली गरेका थिए भने दिउसो बिजय जुलुस निकालेका थिए । बजार परिक्रमा पछि क्याम्पस पुगेका विद्यार्थी माझ निर्वाचित सभापति थापाले पराजित भएका संगठनको पनि साथ र सहयोग लिएर अगाडि बढ्ने बताए । साथै उनले क्याम्पस प्रशासनले गर्दै आएका गलत क्रियाकलापको भण्डाफोर गर्ने र विद्यार्थी हितमा काम गर्नेमा जोड दिएका थिए ।
Previous Article२०७३ फागुन २० गते शुक्रबारको राशिफल
Next Article २० फागुन २०७३, ढोरपाटन दैनिक