अर्जुन कार्की
बागलुङ, १९ फागुन
सरकारले बैशाख ३१ गते स्थानीय तह निर्वाचनको मिति घोषणासँगै जिल्ला निर्वाचन कार्यालय बागलुङले निर्वाचनको तयारी अघि बढाएको छ । जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माका अनुसार, अहिले कार्यालयले अन्तिम मतदाता नामावली प्रकाशन तथा मतदान केन्द्रका लागि आन्तरिक गृहकार्य गरिरहेको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा १ लाख ९१ हजार २ सय ५६ जनाको तस्विरसहितको मतदाता नामावली दर्ता भएको छ । यसमध्ये असोज मसान्तसम्म दर्ता भएका १ लाख ५४ हजार १ सय ३२ जनाको मतदाता नामावली दाबी विरोध गरेपछि निर्वाचन आयोगमा पठाईएको जिल्ला निर्वाचन अधिकारी शर्माले बताए । उनका अनुसार, आयोगमा पठाइएको मतदाता नामावलीमा ८१ हजार ५ सय ६९ जना महिला र ७२ हजार ५ सय ६३ जना पुरुष रहेका छन् । यस्तै फागुन ९ गतेसम्म दर्ता भएका २ हजार ३६ जना महिला र ३ हजार ५७ जना पुरुष गरी ५ हजार १ सय २४ जनाको मतदाता नामावलीमा दाबी विरोध, त्रुटि सच्चाउने कार्यतालिका रहेको छ । यसको लागि निर्वाचन कार्यालयले मंगलबारदेखि पाँच दिन सम्मको समय राखेर सूचना प्रकाशन गरिसकेको छ । ‘२१ गते हामीले सबै मतदाताहरुको नामावली निर्वाचन आयोगमा पठाउँछौ’ं जिल्ला निर्वाचन अधिकारी शर्माले भने– ‘निर्वाचन आयोगमा उक्त नामावली पठाएपछि १८ वर्ष पुगेका मतदाताहरुको नामावली प्रकाशन हुनेछ ।’ आगामी स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउने भएपछि तस्विरसहितको मतदाता नामावली दर्ता गराएका मतदाताहरुको संख्या केहि घट्ने निर्वाचन कार्यालयले जनाएको छ । फागुन ९ गतेदेखि नामावली दर्ता स्थगित भएको छ । यस्तै, निर्वाचन कार्यालयले स्थानीय निकायको निर्वाचनको लागि मतदान केन्द्रको पनि आन्तरिक गृहकार्य गरिरहेको छ । संविधानसभा सदस्य निर्वाचन २०७० मा बागलुङमा ९२ वटा मतदान स्थल र १८८ वटा मतदान केन्द्र रहेकामा अहिले ती मतदान स्थल र केन्द्र थपघट गर्नुपर्ने बारेमा गृहकार्य गरिरहेको निर्वाचन अधिकारी शर्माले बताए । उनका अनुसार, २ सय संख्यामा मतपेटिका, २ सय मतदान अधिकृत, २ सय सहायक मतदान अधिकृत र ८ सय मतदान कर्मचारीको आवश्यक पर्नेछ । राज्य पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक नहँुदा मतदान केन्द्र र स्थानीय तह अनुसारको मतदाता नामावली विवरण तयार गर्नको लागि निर्वाचन कार्यालयलाई अप्ठ्यारो परेको शर्माले बताए । शर्माले क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ईलेक्ट्रिकल भोटिङ मेसिनबाट निर्वाचन गराइएपनि हाल निर्वाचन आयोगको आदेश अनुसार निर्वाचन गराइने बताए । जिल्लामा १४ राजनीतिक दलहरु दर्ता भएका छन् । मंगलबारदेखि निर्वाचन आयोगले सबै राजनीतिक दल तथा कर्मचारीहरुलाई आचरसंहिताको लागु गरेको छ ।
Previous Articleदुव्र्यसनविरुद्व आमाहरु सक्रिय
Next Article डिएमसीमा नेविसंघको प्यानल नै विजयी