शैक्षिक क्षेत्रमा राज्यको लगानी कति छ भनेर बुझ्न गाउँ घरमा लगाईने महायज्ञलाई हेरे पुग्छ । राज्यले पर्याप्त मात्रामा शैक्षिक क्षेत्रमा लगानी नगर्दा स्थानियसंग चन्दा संकलन गरी शिक्षकलाई तलब खुवाउनु पर्ने विकराल अवस्था छ । अझ विकट गाउँका विद्यालय त सामुदायिक वनको दाउरा र घाँस बेचेर हुने आम्दानीबाट चलाउनु पर्ने अवस्था छ । सामुदायिक विद्यालय संचालन गर्नको लागि सरकारको मात्रै भर पर्नु हुँदैन । आफ्नो क्षेत्रका विद्यालयलाई भौतिक रुपमा सुविधा सम्पन्न बनाउन र शैक्षिक गुणस्तर राम्रो बनाउन सकिन्छ । यद्यपी अहिले सरकारले शैक्षिक क्षेत्रमा लगानी गरेको छ त्यो पर्याप्त छैन । सरकारले विषयगत शिक्षक विद्यालयमा खटाउन नसक्दा निजी क्षेत्रबाट शिक्षकलाई तलब खुवाउनु पर्ने अवस्था छ । देश विकासको जनशक्ति उत्पादन गर्ने क्षेत्रमा सरकारी बेवास्ताले दक्ष शक्तिको कल्पना गर्नु केवल हावामा महल बनाउनु सरह हो । स्थानियकै पहलमा अहिले गाउँ गाउँमा उच्च शिक्षा संचालन गरिएको छ । यसले गर्दाले उच्च शिक्षा हासिल गर्नको लागि शहरमा धाउनु पर्ने धेरै विद्यार्थीलाई राहत भएको छ । आर्थिक अभावमा माविको तह पढेर छोड्न बाध्य भएका गरिब विद्यार्थीहरुले अहिले घरआँगनमै उच्च शिक्षा हासिल गर्ने अवसर पाएका छन् । वास्तवमा भन्ने होभने गाउँ गाउँमा खुलेका उच्च शिक्षाहरु अभिभावकको बलबुताले संचालित छन् ।
उच्च शिक्षा संचालन गर्नको लागि बागलुङको बिहुँ गाविसस्थित भीमसेन उच्च माविकाले पनि महायज्ञ संचालन गरेको छ । महायज्ञमा धेरैले सहयोग पनि गरिरहेका छन् । जिल्लाका अन्य ठाउँमा पनि महायज्ञ संचालित छन् । उच्च शिक्षा संचालन गर्नको लागि कहिलेसम्म महयज्ञ संचालन गर्नुपर्ने हो ? के सरकारले यसको बारेमा सोच्नु पर्दैन । सामुदायिक विद्यालयमा राज्य गरेको न्युन लगानीले विद्यालयले चाहेअनुसारको शिक्षा दिन सकेको छैन । सबै ठाउँका जनताले चन्दा सहयोग गर्ने हैसियत राख्दैनन् । महायज्ञ संचालन गर्नको लागि पनि मोटो रकम आवश्यक पर्छ । दलित र गरिब जनताका छोराछोरीले अध्ययन गर्ने विद्यालयको अवस्था निकै नै नाजुक छ । गरिब जनता बसोबास गर्ने ठाउँमा अझैपनि उच्च शिक्षाको पहुँच पुग्न सकेको छैन । शिक्षाको महत्वबारे चेतना नहुँदा गरिब र दलित बालबालिकाहरुले पढाई अधुरै छाडेर वैदेशिक रोजगारमा जान विवश छन् । आफ्नो क्षेत्रका विद्यालयलाई आर्थिक, भौतिक र शैक्षिक रुपमा सक्षम बनाउनको अभिभावकको पनि जिम्मेवारी हो यसबाट कोही पनि पछि हट्नु हुँदैन । तर, कहिलेसम्म महायज्ञ लगाएर विद्यालय संचालन गर्ने यस विषयमा सम्बन्धित निकायले सोच्न जरुरी छ । सधै महायज्ञ लगाउँदा विद्यार्थीको पठनपाठनमा पनि असर गर्ने हुँदा सामुदायिक विद्यालयमा सरकारले लगानीलाई बढाउन जरुरी छ । महायज्ञमा हुनेखानेले सहयोग गरेपनि गरिबले चन्दा दिन नसक्दा मनोवैज्ञानिक असर पनि पर्न सक्छ । यसबारे सबैले सोच्नु पर्छ ।
Previous Articleअध्यक्ष शिरीषका ९ बुँदे प्रतिवद्वता यि हुन्
Next Article २०७३ फागुन १८ गते बुधबारको राशिफल