काठमाडौं, १८ फाल्गुन – वि.सं २०६३ सालबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्, नायिका पवित्रा आचार्य । उनले ‘विजयपथ, राजनीति, आवेग’ लगायतका आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
तर, पवित्राको मन अभियनमा मात्र बस्न मानेन । उनले अध्ययन गरेको नृत्य विधाले उनको मन तान्यो । गायिका कोमल वलीको आवाजमा समावेश एक तीजको गीतको कोरियोग्राफी गरेपछि उनी नृत्य निर्देशनमा पनि अगाडि बढिन् । उनले हालै मात्र चलचित्र ‘मेला’को कोरियोग्राफीको जिम्मा सम्हालेकी छिन् । साथमा, ३ वटा विद्यालयमा उनी नृत्य शिक्षिकाको रुपमा पनि कार्यरत छिन् ।
तपाई कलाकारिता पनि गरिरहेको मान्छे, कसरि नृत्य निर्देशनमा चाहना बढ्यो भन्ने प्रश्नमा उनले भनिन्-‘मेरो नृत्यप्रति झुकाव सानैबाट थियो । यसैले आफ्नो रुचीलाई पेशामा बदल्ने चाहना बढेको हो ।’
तपाइले कोरियोग्राफी विधामा हात हालेर के परिवर्तन गर्न सक्छु भन्ने लागेको छ, यो प्रश्नमा उनले भनिन्-‘म आएर पुरै परिवर्तन हुन्छ भन्ने त छैन । पहिलेको भन्दा अहिले नेपालमा कोरियोग्राफीको अवस्था राम्रो छ । मैले भर्खरै सुरु गरेको छु । यसैले, केहि नयाँ पक्कै पनि गर्नेछु ।’
‘मेला’ चलचित्रमा तपाइको कोरियोग्राफीमा दर्शकले के नयाँ हेर्न पाउँछन् भन्ने प्रश्नमा पवित्राले भनिन्-‘मेलामा मैले सेटमा विशेष ध्यान दिएकी छु । यसमा फरक नै गरेको छु भन्ने लाग्छ मलाई । दर्शकले हेरेपछि मन पराउनुहुनेछ ।’
आफूले कलाकारिता र कोरियोग्राफी दुबैलाई एकसाथ बढाउने पवित्राको भनाई छ । उनले भनिन्-‘अभिनय र कलाकारिता दुबै सजिलो छैन । मिहिनेत दुबैमा गर्नुपर्छ ।’
चलचित्र ‘मेला’का निर्देशक बसन्त निरौला हुन्, जो पवित्राका श्रीमान् हुन् । आफ्नै घरबाट चलचित्रको कोरियोग्राफी सुरु गरौ भन्ने किन लाग्यो, पवित्राले भनिन्-‘अफर त पहिले पनि आएको थियो । तर, सबैकुरा मिल्नुपर्ने रहेछ । घर भित्रकोबाट सुरु गर्दा सजिलो पनि हुन्छ । मलाई यो चलचित्रका निर्माता हरि पन्तले नै कोरियोग्राफीका लागि अफर गर्नुभयो । चलचित्रका छायांकार दिव्यराज सुवेदी र प्राविधीकहरुको साथका कारण राम्रो काम गर्न सकेकी छु ।’
पवित्राले इलाहावादबाट क्लासिकल डान्समा डिप्लोमा पनि गरेकी छन् । उनले, ‘मेजर डान्स’ बिषयमा नै अध्ययन गरेकी हुन् । नेपाली चलचित्र क्षेत्रमा अहिले कोरियोग्राफीमा पनि विविधता भित्रिएको छ । पवित्रा आफू यसमा सफल हुनेमा विश्वस्त छिन् ।
आफूलाई म्यूजिक भिडियोमा पहिलो अवसर दिने गायिका कोमल वली र चलचित्रमा पहिलो अवसर दिने चलचित्र ‘मेला’का निर्मातालाई उनी विशेष धन्यवाद दिन्छिन् ।
Previous Articleकविता – काँडा र गुलाफ
Next Article मिर्गौला प्रत्यारोपण पूर्ण निःशुल्क