प्रभाकर गौतम
काठमाडौं, १७ फागुन – कक्षा ४ मा रातो बङ्गला स्कुलमा भर्ना हुँदा आकाङ्क्षा कार्कीको अङ्ग्रेजीभन्दा नेपाली भाषा राम्रो थियो। स्कुलमा नेपाल भाषामा नाटकको तयारी चल्यो। शिक्षकहरुले धेरै विद्यार्थीलाई एउटा संवाद पढ्न लगाए। आकाङ्क्षाको पालो आयो।
असाध्यै लजालु भए पनि आँट बटुलेरै उनले त्यो संवाद पढिन्, ‘मार्रा वलः वलः वलः वलः’। उनले वाचेको संवाद अरुभन्दा राम्रो सुनियो। त्यो पुरानो क्षण सम्झिन्, ‘हुन त मलाई नेवारी आउँदैनथ्यो। झन् पुरुष पात्रका लागि मेरो उच्चारण राम्रो मानिँदा अचम्म लागेको थियो।’
त्यही संवादले ‘गुरु म्हापा’ नाटकमा कृष्णचन्द नामको ज्यापूको भूमिकामा उनलाई छानियो। यो नै उनले अभिनय गरेको पहिलो नाटक थियो।त्यसपछि स्कुलका नाटकहरुमा उनको उपस्थिति बलियो बन्दै गयो। नाटक खेल्दा पाउने अद्भूत आनन्दलाई शब्दमा साट्दै बोलिन्, ‘म एकदमै लजालु मान्छे। तर स्टेजमा पर्फम गर्दा सबै सङ्कोच हराउँथ्यो। बिस्तारै यसमै रमाउन थालेँ।’
प्लस टुपछि उनी नेपालबाहिर पढ्न चाहिन्थन्। तर कहाँ पढ्ने, के पढ्ने भन्ने दुबिधा थियो। अमेरिका जाने इच्छा नभएको होइन तर परिवारको आर्थिक भार घटाउन उनी भारत जाने निष्कर्षमा पुगिन्। कलेज खोज्दै जाँदा बैङलोरको क्राइस्ट कलेजमा पर्फमिङ आर्ट, अङ्ग्रेजी साहित्य र साइकोलोजी समेटिएको कोर्स फेला पारिन्। संयोगवश त्यो कोर्स पढ्ने उनी पहिलो ब्याचकी विद्यार्थी थिइन्।आफ्नो घर–परिवेश, भाषा र साथीभाइभन्दा टाढा पुग्दा सुरुमा उनी आत्तिएकी थिइन्। विरानो भूमिको अनुभव साटिन्, ‘भइहाल्छ, गरिहालिन्छ भन्ने खालका नेपाली शैलीका सूत्र कामै नलाग्ने भयो। त्यहाँ पुग्ने बित्तिकै कडा प्रतिस्पर्धाको दौडमा होमिए झैं भयो।’ यस्तो प्रतिस्पर्धाबाट उम्कने ठाउँ नभेट्दा उनी थकित हुन्थिन्। भागेर काठमाडौँ जाउँ जाउँ पनि हुन्थ्यो उनलाई।
समयले उनको बुझाइ र भूमिका फेर्दै लग्यो। नाटक खेल्ने अनुभव मात्रै भएकी उनी बिस्तारै निर्देशन पनि गर्न थालिन्। भन्छिन्, ‘नाटक लेख्नेदेखि निर्देशन गर्नेसम्मका सबै काम गर्नुपर्थ्यो। यो पढाइकै हिस्सा थियो। पहिलो ब्याच भएकोले सबै कुरा प्रयोग गरियो।’ थपिन्, ‘बाइ डिफल्ट म लिडर बन्न पुगेँ।’
अन्जानमै सही नेतृत्व र संयोजनका काममा उनी दक्ष बन्दै गइन्। उनका एकपछि अर्को काम रुचाइन थाले। हरेक पटक नाटक खेल्दा उनलाई लाग्यो रे, ‘ओ माइ गड, आइ लभ दिस।’
बिस्तारै अरुले पत्याउन थाले। आफ्नै कामप्रति उनको विश्वास बढ्न थाल्यो। त्यहीबेला उनले आफ्नो विशेष गुण पनि थाहा पाइछन्। रहस्य फुकाइन्, ‘म नाटकका लागि पात्र होइन, पात्रको क्षमताअनुसारको नाटक बनाउँदोरैछु।’ यही विशेषतालाई टिपेर उनले कक्षाका आठ जना साथीहरुको खुबी चित्रण गर्ने नाटक ‘जर्नी अफ द बर्ड्स’ नै तयार पारिछन्।कलेजभित्रै उनीहरुको समूह बन्यो, ‘माइनोरिटी प्रोडक्सन’। यसले तयार पारेका नाटकहरुले कलेजभित्र मात्रै नभइ र कलेज बाहिरका प्रतिस्पर्धामा समेत चर्चा पाउन थाल्यो। दोस्रो वर्ष कलेजकै ठूलो प्रतिस्पर्धा ‘दर्पण इन्टर कलेज फेस्टिभल’मा पुरस्कार जितेपछि सबैले सोधखोज गर्न थाले रे, ‘यो आकाङ्क्षा भनेको को हो? कहाँकी हो?’
उनको निर्देशन तथा अभिनयसमेत भएको ‘फेसहुक्ड’ दक्षिण भारतका पोन्डीचौरी, गोवा, पुनेलगायतका २० प्रतिस्पर्धामा प्रथम भएपछि त उनी धेरैकी ‘नेपाली दिदी’ बनिन्।
स्थानीय सडक नाटकमा सामाजिक मुद्दालाई उठाइने शैलीभन्दा उनको फरक प्रस्तुतिमा बनेको ‘फेसहुक्ड’ निकै रुचाइयो। आत्मविश्वासले भरिएको स्वरमा भनिन्, ‘सोसियल मिडियाप्रतिको एडिक्सन चित्रण गर्न डान्स म्युजिकल प्ले बनाएकी थिएँ। धेरैले मेरो प्रयासलाई स्ट्रिट थिएटरलाई आउटब्रेक गरेको भन्न थाले।’
करिब पाँच वर्षको बैङलोर बसाइँमा सँगालेका अनुभवका आधारमा उनले कयौं सपना र योजना बुनेकी थिइन्। तर देशको माहोल यस्तो थियो कि उनलाई सबैभन्दा सन्तुष्टि दिने कर्म रङमञ्चमै पूरा समय दिने उनको सपना तुहियो। हँसिलो अनुहार धमिलो पार्दै भनिन्, ‘नेपाल पुगेर यो पनि गरुँला, त्यो पनि गरुँला भन्ने लागेकोथ्यो। तर जागीरेमा सीमित भएँ।’
‘युलेन्स’मा काउन्सिलिङ साइकोलोजिस्टका रुपमा काम गर्दा पनि उनको मन नाटक खेल्ने उपायको खोजीमा हुन्थ्यो। उता भूकम्पको पराकम्पन जारी थियो, यता उनको मन पनि अस्थिर भइ हल्लिरहन्थ्यो।
त्यसबेलाको उकुसमुकसलाई शब्द दिइन्, ‘बिहान नौदेखि बेलुकी पाँचसम्मको काममा खुम्चिनु पर्दा कसैले मेरो हात, खुट्टा बाँधिदिएको भान हुन्थ्यो। मेरा इच्छा आकाङ्क्षाका मुहानै थुनिदिए झैं लाग्थ्यो र निकै आत्तिन्थेँ।’
बैङलोरमा जस्तो काठमाडौँमा राति अबेरसम्म रिहर्सल गर्ने वातावरण थिएन। भावुक हुँदै थपिन्, ‘हुन त देशमा त्यत्रो क्षतिका अगाडि जाबो मेरो दुःख के कुरा! तर मेरो सोचाइ र यथार्थबीच दूरी बढेकोले म तनावमा थिएँ।’
भूकम्पसिर्जित भयपूर्ण वातावरण सहज हुन करिब ६ महिना लाग्यो। देश पुरानो अवस्थामा फर्किन थाल्ने सङ्केत पाएपछि उनी पनि कलाकर्ममा फर्किने मौका छोप्न थालिन्।बैङलोर छँदा हरेक वर्षको समरमा उनी नेपाल आउँथिन्। यहाँ आएका बेला नाटक खेल्ने प्रस्ताव आइहाल्थ्यो। यसै मेसोमा उनले ‘अन्धोयुगकी गान्धारी’मा अभिनय गरेकी थिइन्। यसपाली उनलाई शंकर रिजालको निर्देशनमा अङ्ग्रेजी नाटक ‘लुक ब्याक इन एन्गर’मा काम गर्ने प्रस्ताव आयो। उनले राति रिहर्सल गर्ने सर्तमा काम गरिन्। त्यो नाटक र उनको कामलाई धेरैले रुचाए। त्यसपछि बल्ल उनमा अब केही होला भन्ने आशा जाग्यो।
रङमञ्चको भोक मेटाउन भइरहेको जागीर छोड्नु पर्थ्यो। सुरुमा आफैं कुरा गर्नसमेत हिचकिचाउने उनलाई जागीर छोड्छु भनेर इमेल पठाउन झन्डै तीन महिना लागेछ।
त्यहीबेला उनलाई एउटा फिल्म खेल्ने प्रस्ताव आयो। तर केही महिना सुटिङ भएर त्यो फिल्म बिचमै अड्कियो। सुरुमा नाइ भन्दाभन्दै करले खेल्न लागेको फिल्मको काम समेत अवरुद्ध हुँदा उनलाई दिक्दार बनायो।
फिल्मको ह्याङओभरबाट उम्कनै लाग्दो उनले जीवनमा कहिल्यै नसोचेको तनाव भोग्नुपर्यो। एकातिर उनका हजुरबा क्यान्सरका कारण बिते भने अर्कोतिर उनकी आमा कोमामा परिन्। त्यहीबेला बुबा रुसमा थिए। एक भाइ र एक बहिनीकी दिदी उनीलाई पर्नुसम्म दबाब पर्यो। हतास र निराशाले आत्तिएकी उनलाई धेरै पटक भागेर बैङलोर जाउँ जाउँ पनि भएछ।
यस्तै मनस्थितिमा उनले ‘मिडसमर नाइट्स ड्रिमर’को रिहर्सल गरेकी थिइन्। धन्न, त्यो नाटक सार्वजनिक प्रदर्शन सकिएको पाँच दिनमा हजुरबा बिते। हजुरबाबारे कुरा सुरु हुनासाथ उनका आँखा रसाए। मलिन स्वरमा बोलिन्, ‘हजुरबा बिरामी भएपछिको ६ महिना निकै तनावमा काम गर्नुपर्यो। हस्पिटलमा रात बिताएर रिहर्सलमा जान्थेँ।’जिन्दगीको लय बिग्रिएको त्यो समयको पीडा भुलाउन उनी हाल कस्सिएर लागेकी छन्। बैङलोर छँदा उनले अमेरिकी लेखक इभ इन्स्लरद्वारा लिखित ‘भजाइना मोनोलग’को निर्देशन गरेकी थिइन्। त्यहाँ अङ्ग्रे्जीमै मञ्चन हुने यो मोनोलग नेपालीमा एडप्ट गरेर गत वर्ष मार्चमा ‘योनीका कथा’ नाम दिएर मण्डला थिएटरमा प्रदर्शन भएको थियो। काउन्सिलिङ साइकोलोजिस्ट समेत रहेकी आकाङ्क्षाले त्यसबेला महिला कलाकारका अन्तरहृदयमा दबेका धेरै कुरा बुझ्ने मौका पाइछन्। उमेरमा उनीभन्दा ठूला भए पनि सबैजसो कलाकार यौन सुखबारे अनभिज्ञ थिए। प्रायः कलाकारले कुनै न कुनै रुपमा यौन दुर्व्यवहार भोगेका थिए।
आश्चर्य प्रकट गर्दै भनिन्, ‘रिहर्सल त काउन्सिलिङ सेसन र जेन्डर वर्कसप जस्तो पो भयो। कलाकारले रोएरै घण्टौं बिताइदिन्थे। मेरो पढाइ र रुचिअनुरुप अभिनय र थेरापीलाई सँगै लैजान सकिने भएकोले पनि योनीका कथालाई निरन्तरता दिन चाहेको हुँ।’
विश्वभर अन्तर्राष्ट्रिय अभियानका रुपमा मञ्चन गरिने ‘भजाइना मोनोलग’को नेपाली संस्करण ‘योनीका कथा’लाई उनी मार्चमा पुन मञ्चन गर्दैछिन्। १३ जना महिला कलाकारलाई लिएर रिहर्सल सुरु भइसकेको छ। उनको विचारमा यौन बच्चा जन्माउने माध्यम मात्रै नभएर शारीरिक र मानसिक सुख दिने माध्यम पनि हो। विश्लेषक झैं बोलिन्, ‘सेक्स सेलिब्रेसन र शोषण दुबै हो। योनीका कथाले यौनका अनेक पक्षबारे बहस गर्न सघाउने विश्वास छ।’
‘हाउ डिफरेन्ट फर्म्स अफ थिएटर क्यान बि थेराप्युटिक’ भन्ने शीर्षकमा थेसिस गरेकी उनी कलाकारसँग राम्ररी ‘डिल’ गर्ने भन्ने कुरामा राम्रो दखल राख्छिन्। यही विशेषताका कारण मान्छेहरु नाटकको माध्यमबाट दुःख साट्न आउने अनुभव पनि छ उनीसँग।
बैङगलोरमा आकाङ्क्षाले आफूभन्दा एक ब्याच सानी नेपाली साथी गुञ्जन दीक्षितलाई भेटेकी थिइन्। त्यहीँ झाँगिएको उनीहरुको मित्रताले काठमाडौँमा पनि निरन्तरता पायो। नाटक क्षेत्रमा सक्रिय यी दुईको मित्रताले ‘कथा घेरा’ समूह जन्माएको छ। अमेरिकी कलाकार जनाथन फक्सले सुरु गरेको प्लेराइट थिएटर (चौतारी नाटक) शैली नेपालमा विकासे ढर्रामा सीमित भएको उनलाई चित्त बुझेको छैन। त्यही भएर यसलाई सकेसम्म आत्मनिर्भर बनाउने चाहना छ उनको।
सात वर्षअघि भारतमा प्लेराइट थिएटरको तालिम लिएकी उनी यससम्बन्धी आफैं तालिम दिँदैछिन्। नाटक तयार पार्ने यसको विधिप्रतिको मोह हुने कारण खुलाउँदै भनिन्, ‘अन द स्पट मान्छेका कथा सुनेर तयार पारिने भएकोले यसमा दर्शकले आफ्नै कथा हेर्न पाउँछन्। यसले थेरापी र हिलिङको काम गर्छ। कन्फिडेन्सियल कथाहरुलाई घेराभित्र राखिने भएकोले हामीले नाम पनि कथा घेरो राख्ने निधो गरेका हौं।’ उनीहरुले यसरी तयार पारेका नाटक हरेक महिना ‘मञ्जरी’ नाटक घरमा प्रदर्शन हुँदै आएको छ।
नाटक क्षेत्रको भविष्य राम्रो देखे पनि यसमा अध्ययन गरेर आउनेहरुको संख्या नबढ्नुले उनलाई निराश बनाएको छ। गुनोसो पोखिन्, ‘केही महिने तालिममा सीमित भएको छ सिकाइ। अझ अन्यत्र भविष्य नदेखेर नाटक गर्दिम् न भन्नेहरु पनि बढेका छन्।’ भारतमा काम गरेको अनुभवका आधारमा भनिन्, ‘सस्टेनेबल काम खासै भएकै छैन। नाटकमा हामी १५ वर्षअघिको भारतको अवस्थामा छौं जस्तो लाग्छ।’कलेज पढ्दा धेरै नाटक निर्देशन गरे पनि उनी आफूलाई निर्देशक भनिहाल्नु हतार हुने तर्क गर्छिन्। भन्छिन्, ‘धेरै कुरा सिक्नुछ। म आफूलाई थिएटर पर्सन भन्न रुचाउँछु।’
दीर्घकालीन पक्षमा ध्यान दिँदै स्तरीय काम उनको इच्छामा घरको साथ त छ तर केही अवरोध पनि छन्। ‘म छोरी हुँ, आफन्तहरु परम्परागत मलाई परम्परागत महिलाकै भूमिकामा हेर्न चान्छन्। पैसा कमाऊँ, बिहे गर भन्ने कुरा त सामान्य भइहाल्यो।’ त्यसैले उनलाई एउटै कुराको चिन्ता छ, सधैंभरि आफूले चाहे बिन्दास भएर काम गर्न पाइएला कि नपाइएला ? नेपाल खवर
Previous Articleसंसदमा विचाराधीन संशोधन ‘होल्ड’ गरिने
Next Article जेडटीईले ल्यायो विश्वकै पहिलो फाइभ जी स्मार्टफोन