काठमाडौं, १७ फागुन/ लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित माल्दिभ्सको टिसी स्पोर्टस क्लब बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कपको फाइनलमा पुगेको छ । मनाङलाई सोमबार साँझ १–० ले हराउँदै टिसी स्पोर्टस् उपाधि नजिक पुगेको हो । मनाङका गोलकिपर दीनेश थापा मगरको कमजोरीको फाइदा उठाउँदै टिसी स्पोर्टसले खेलको अन्त्यतिर अग्रता लिएको थियो । ८३ औं मिनेटमा मैदानको दायाँबाट टिसी स्पोर्टस्का खेलाडीले क्रस गरेको बल दीनेशले हातमा परिसकेपछि पनि राम्ररी नियन्त्रणमा लिन सकेनन् । त्यसको फाइदा उठाउँदै नाफिउ अली सहजै गोल गरे । त्यहि गोल खेलको निर्णायक बन्यो र मनाङ प्रतियोगिताबाट बाहिरियो । मनाङले केही राम्रो मौका पाउँदा पनि सफल हुन सकेन । १७ औं मिनेटमा रोहित चन्दको क्रसमा सुजल श्रेष्ठले फिल्क गरेको बल ओलाडिपो ओलावाले अफिजले प्रहार गर्दा पोस्ट नजिकबाट बाहिरिएको थियो । त्यस्तै ५५ औं मिनेटमा कमल श्रेष्ठको क्रसमा रोहितको हेडर किरणले पन्च गर्दै टोलीको संकट टारेका थिए । इन्जुरी समयमा कमलको फ्रिकिकमा सिसोकोको हेडर फ्लिक्लाई नजिकबाट आफिजले गरेको प्रहार किरणले रोकेका थिए । हेड टु हेडका आधारमा मोहमडन स्पोर्टिङ क्लबलाई पछि पार्दै मनाङ समूह बीको उपविजेताका रुपमा अन्तिम चार पुगेको थियो । टिसी स्पोर्टस समूह एको विजेताका रुपमा अघि बढेको थियो । अर्को सेमिफाइनल मंगलबार आयोजक चितोगोङ अवहानी र कोरियाली क्लबबीच हुनेछ । टिसी स्पोर्टस्सङ पहिलो सिजन खेल्दै गरेका किरण खेलको म्यान अफ द म्याच भए ।
Previous Articleएसिडले घाईते भएका फगामीलाई मोना जापान नागोयाको आर्थिक सहयोग
Next Article कथा-छोरीको जिन्दगी