अमृत बास्कुने, म्याग्दी
कार्तिक १८ गते । बेनीमा कात्तिक १८ गते बुधबारदेखि सञ्चालन हुन लागेको चौथो बौद्ध कप फुटबल प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । बेनी नगरपालिका–७ मंगलाघाटस्थित बौद्ध युवा क्लबको आयोजनामा बेनीको खुलामञ्चमा पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

धवलागिरि क्षेत्रका चार जिल्ला बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङमा हालसम्म आयोजना भएका फुटबल प्रतियोगितामध्ये बौद्ध कपको पुरस्कार राशि सर्वाधिक रहेको आयोजकको दाबी छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष दुर्गा बुढामगरले प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको जानकारी दिए ।
अध्यक्ष बुढामगरका अनुसार मंगलबार साँझसम्म १४ टोलीले नाम दर्ता गराइसकेका छन् । प्रतियोगिता सुरु हुँदासम्म सहभागी टोलीको संख्या २० पुग्ने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगिता खुला रहने भएकाले देशभरका क्लब तथा टोलीले आफ्ना उत्कृष्ट खेलाडी सहभागी गराउन पाउनेछन् । प्रत्येक टोलीमा बढीमा दुई जना विदेशी खेलाडी समेत समावेश गर्न पाइने व्यवस्था गरिएको छ ।
प्रतियोगिताको उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ र तेस्रो हुने टोलीले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । अनुशासित टोलीलाई २२ हजार दुई सय २२ रुपैयाँ प्रदान गरिने क्लबका सचिव श्यामसुन्दर कँडेलले जानकारी दिए । उत्कृष्ट खेलाडी, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही सात हजार सात सय ७७ रुपैयाँ नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि १६ लाख ५७ हजार सात सय ७२ रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका कोषाध्यक्ष कमल घर्तीमगरले बताए ।
बेनीमा सञ्चालन हुने गरेको फुटबल प्रतियोगितामा पहिलो पटक प्रवेश टिकटको व्यवस्था गरीएको छ । प्रतियोगिता अवलोकनका लागि प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । टिकट बिक्रीबाट संकलित रकमको ४० प्रतिशत म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित परिवारको पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग गरिने अध्यक्ष बुढामगरले बताए ।
बेनीमा फुटबल प्रतियोगिता अवलोकनका लागि टिकट बिक्री गर्ने अभ्यास पहिलोपटक गर्न लागिएको आयोजकको भनाइ छ । प्रतियोगिताबाट प्राप्त आम्दानीमध्ये खर्च कटाएर बचत भएको रकम क्लबको भवन निर्माणमा परिचालन गर्ने लक्ष्य राखिएको छ ।
प्रतियोगितालाई लक्षित गरी मंगलाघाटवासीले श्रमदानमार्फत खुलामञ्चको खेलमैदान मर्मत तथा सरसफाइ गर्नुका साथै प्याराफिटमा रंगरोगन गरेका छन् । स्थानीयको सक्रिय सहभागिताले प्रतियोगिताको तयारीलाई थप सहज बनाएको क्लबले जनाएको छ ।
२०६४ सालमा स्थापना भएको बौद्ध युवा क्लबले फुटबल प्रतियोगितासँगै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको छ । बि.सं. २०६४ सालमा जिरन रानाको अध्यक्षतामा क्लबको स्थापना भएको थियो । क्लबको नेतृत्व विभिन्न समयमा सुमन श्रेष्ठ, सौजन गौचन, प्रकाश पौडेल र विजय किसानले गरेका थिए ।
क्लबले यसअघि तीन संस्करण बौद्ध कप आयोजना गरिसकेको छ । २०६८ सालमा आयोजित पहिलो संस्करणको उपाधि जनप्रिय दरवाङले जितेको थियो । ए डिभिजन क्लब जाउलाखेल युथबाट लामो समय खेलेका दोरन शेरचनको अगुवाइमा रहेको उक्त क्लबले पहिलो संस्करण आफ्नो पोल्टामा पारेको थियो । २०७१ सालको दोस्रो संस्करणमा माउन्ट एभरेष्ट अफ्रिकन युनाइटेड विजेता बनेको थियो भने २०७४ सालमा सम्पन्न तेस्रो संस्करणको उपाधि आयोजक बौद्ध युवा क्लबले नै जितेको थियो ।
तीन संस्करणमा तीन फरक टोलीले उपाधि जितेको बौद्ध कपको चौथो संस्करणमा यसपटक कुन टोली च्याम्पियन बन्ला भन्ने चासो खेलप्रेमीमा बढेको छ । पुरस्कार राशि, खुला प्रतिस्पर्धा र राष्ट्रियस्तरका खेलाडी सहभागी हुन सक्ने व्यवस्थाले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।

क्लबको वर्तमान कार्यसमितिमा अध्यक्ष दुर्गा बुढामगर, उपाध्यक्ष शिव शेरचन, सचिव श्यामसुन्दर कँडेल, सहसचिव लक्ष्मी पुन र कोषाध्यक्ष कमल घर्तीमगर रहेका छन् । सदस्यहरूमा नारायण केसी, विकास कुँवर, सागर थापा, प्रेम राना, लक्ष्मण थापा, अनुपम श्रेष्ठ र जीवन केसी छन् ।
त्यसैगरी सल्लाहकार सदस्यहरूमा सुवासकुमार श्रेष्ठ, बेलबहादुर कटुवाल, चन्द्र कुँवर, किरण तुलाचन, कृष्ण श्रेष्ठ, ललितबहादुर जिसी, खिमबहादुर छन्त्याल, डेकेन्द्र खत्री, राज केसी र रमेश फगामी रहेको क्लबका सचिव कँडेलले बताए ।

खेलकुदमार्फत युवालाई एकताबद्ध गर्ने, स्थानीय प्रतिभालाई अवसर प्रदान गर्ने र सामाजिक सेवामा योगदान पु¥याउँदै आएको बौद्ध युवा क्लबले चौथो संस्करणलाई खेलकुद उत्सवका रूपमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । अब खेलमैदानमा उपाधिका लागि हुने प्रतिस्पर्धाले बेनीको खेलकुद माहोललाई पाँच दिनसम्म उत्साहित बनाउनेछ । क्लबले प्रतियोगिता हुने बचतबाट पनि सामाजिक कार्यमै अगाडी बढ्ने जनाएको छ ।

