पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा सम्पन्न ‘आठौँ पश्चिम म्याग्दी कप–२०८३’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । पश्चिम म्याग्दी दरबाङ युथ क्लबको आयोजनामा गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा २५ टिम सहभागी थिए ।
प्रतियोगिताको फाइनलमा पश्चिम म्याग्दी युवा क्लब ए ले वि लाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतियोगिताको पहिलो सेमीफाइनलमा पश्चिम म्याग्दी युवा क्लब ए ले निस्कोट बेसी युवा क्लबलाई तथा दोश्रो सेमीफाइनलमा पश्चिम म्याग्दी युवा क्लब बि ले बिमबाङ युवा क्लब बिमबाङलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १११ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र एवम् द्वितीय हुने टिमले ७७ हजार ७७७ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको क्लबका सचिव बिमल शर्माले बताए । प्रतियोगिताको सेमिफाइनल पुगेर बाहिरीएका बिमबाङ र निस्कोटले ११ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट डिफेन्डर किरण थापा, गोलकिपर साजन किसान, मिडफिल्डर निराजन खड्का, हाई स्कोरर बिपुल कार्की र उत्कृष्ट खेलाडी विश्वास पुनलाई जनही तीन हजार रुपियाँ पुरस्कार प्रदान गरियो । त्यस्तै प्रतियोगिताकै अनुशासित टिम म्याग्दी युथ क्लब पोखरालाई ११ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताका विजेता टिम तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
