असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले सडक कटान गरेर बगाएको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटामा चार दिनको निरन्तर प्रयासपछि नयाँ ट्र्याक खोलिएको छ।
चारवटा ठुला एक्साभेटर र टिपर परिचालन गरी दुवैतर्फबाट काम गरेपछि करिब २५० मिटर सडक कटान भएको स्थानमा नयाँ ट्र्याक खोल्न सफल भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो। कालीगण्डकी नदीले कटान गरेर क्षतिग्रस्त बनाएको यस स्थानमा सडकको मार्ग खोल्नु सबैभन्दा चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो।
बेनीदेखि सडक खुलाउँदै कुनौटासम्म पुगेपछि आयोजनाले दैनिक चारवटा ठुला एक्साभेटर र त्यति नै सङ्ख्यामा टिपर परिचालन गरी चार दिनसम्म दुवैतर्फबाट निरन्तर काम गरेको थियो। त्यसपछि मात्रै सडकको नयाँ ट्र्याक खोल्न सम्भव भएको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख शर्माले भन्नुभयो, “बाढीपहिरो र नदी कटानले क्षति पुर्याएको सडकखण्डमध्ये कुनौटामा सडक निर्माण गर्नु जोखिमपूर्ण र चुनौतीपूर्ण थियो। बेगखोलातर्फ रहेका उपकरणमा इन्धन लैजानसमेत समस्या थियो। ड्रोनको सहयोगमा इन्धन पठाएपछि दुवैतर्फबाट चारवटा ठुला एक्साभेटरले चार दिनसम्म काम गरेपछि बल्ल सडकको नयाँ ट्र्याक खोल्न सम्भव भएको हो।”
उहाँका अनुसार डोजर चालकहरूले ज्यानको जोखिम मोलेर काम गरेका थिए। कुनौटामा बिहीबार बेलुकासम्म ठूला सवारीसाधन मात्रै आवतजावत गर्न सक्ने गरी सडक खुलाइएको छ। दुईतर्फबाट जोडिएको सडकमा फिलिङ, लेभल मिलाउने तथा पूर्ण रूपमा सवारीसाधन सञ्चालन गर्न योग्य बनाउन थप एक–दुई दिन लाग्ने उहाँले बताउनुभयो।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि बेगखोलासम्म एकतर्फी रूपमा सडक खुलाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो। कोरलादेखि जोमसोम हुँदै पोखरेबगर पुलसम्म पहिरो पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
ट्र्याक खुलेसँगै पर्वतको मालढुङ्गादेखि कुनौटा तथा कोरलादेखि पोखरेबगर पुलसम्म ठूला सवारीसाधन सञ्चालन हुने गरी सडक मर्मत गरिएको आयोजनाले जनाएको छ। सडक मर्मतसम्भार र नयाँ ट्र्याक खोल्न साधनस्रोत, उपकरण तथा जनशक्तिमा कुनै कमी हुन नदिई परिचालन गरिएको आयोजनाले जनाएको छ।
पोखरेबगरदेखि कुनौटाको बीचमा पर्ने रातोपानी, धीरच्याङ, भीरकाटे, महभीर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने तथा नयाँ मार्ग निर्माण गरिएका स्थानमा ग्रेड र घुम्ती मिलाउने, सडक फराकिलो पार्ने र खाल्डाखुल्डी पुर्ने काम भइरहेको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो।
पोखरेबगरमा रहेको कालीगण्डकी पुलको एप्रोच सडक निर्माणका लागि पर्याप्त मजदुर र उपकरण परिचालन गरी ग्याबियन पर्खाल निर्माण तथा पुललाई सडकसँग जोड्ने संरचना तयार पार्ने काम तीव्र रूपमा भइरहेको आयोजनाले जनाएको छ। दुई–तीन दिनभित्र पुलबाट सवारीसाधन आवतजावत गर्न मिल्ने गरी काम भइरहेको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो।
आगामी सोमबारसम्म सडक सञ्चालनमा ल्याउने तयारीका साथ सडकका विभिन्न स्थानमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ। गोरखापत्र अनलाइनबाट साभार
