म्याग्दीको सदरमुकाम बेनीमा वर्षौँ पुरानो मौलिक संस्कृति बर्खेनाचअन्तर्गत हरितालिका तीजका दिन सोमबार साँझ लाखे र भगवान् श्रीकृष्णबीचको रोचक तरवार नाच प्रदर्शन गर्दै बर्खेनाच समापन गरिएको छ।
नागपञ्चमीका दिनदेखि सुरु भएको बर्खेनाचअन्तर्गत लाखे, गोरु नाच, घोडा नाच, सापारु तथा नागानागिनी नाच प्रदर्शन गरिएको थियो। असत्यमाथि सत्यको विजयको सन्देश दिने परम्परागत लाखे वध हेर्न सोमबार साँझ बेनीको संगमचोकमा बजारवासीको उल्लेख्य भीड लागेको थियो।
बर्खेनाचअन्तर्गत तीजका दिन दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयको सन्देशसहित बर्खेनाच समापन गरिएको नेपाल भाषा मंकाः खलःअन्तर्गतको ल्याम्हः पुचःका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले यस वर्ष बर्खेनाचअन्तर्गतका रोपाइँ नाच र जोगी नाचको प्रदर्शन स्थगित गरिएको उहाँले बताउनुभयो।
बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामक राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई प्रस्तुत गर्ने गरिन्छ।
परम्परागत रूपमा प्रदर्शन हुँदै आएको बर्खेनाचलाई संरक्षण गर्दै लोप हुने अवस्थामा पुगेका नाचलाई समेत यसमा निरन्तरता दिइएको छ। बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानका रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणमा अन्य समुदायको समेत सहभागिता हुन थालेको छ। नेवार तथा अन्य समुदायका युवाहरू मौलिक नाचको संरक्षणमा एकजुट भएका छन्। करिब चार सय वर्ष पुरानो खप्पर (मुखौटा) लगाएर ठुलो मृदङ्ग, मादल, झ्याली र ढलकीको तालमा लाखे नचाउँदै बजार परिक्रमा गर्ने प्रचलन छ। गोरखापत्र अनलाइनबाट
