हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गर्न लागेको ‘जलवायु परिवर्तन सम्मेलन–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ । भदौ ३० र ३१ गते हुने सम्मेलनमा देशभरका स्थानीय तहका प्रमुख तथा जिल्ला समन्वय समितिका पदाधिकारीको सहभागिता रहने आयोजकले जनाएको छ ।
गाउँपालिकाले देशैभरका ७५३ स्थानीय तहलाई सम्मेलनमा सहभागिताका लागि पत्राचार गरिएको भए पनि हालसम्म ४२१ स्थानीय तहका प्रमुखको सहभागिता सुनिश्चित भएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको भनाई छ । त्यस्तै, ३६ वटा जिल्ला समन्वय समितिबाट समेत प्रतिनिधित्व हुने भएको छ । सम्मेलनको उद्घाटन संघीय सरकारका वन तथा वातावरणमन्त्रीबाट हुने आयोजक घरपझोङ गाउँपालिकाले जनाएको छ ।
जलवायु परिवर्तनका कारण सबैभन्दा बढी प्रभावित हिमाली क्षेत्रको समस्या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बलियो ढंगले उठाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष तथा सम्मेलन आयोजक मूल समितिका संयोजक मोहनसिंह लालचनले बताए ।
‘कार्बन उत्सर्जनमा हाम्रो योगदान निकै न्यून छ, तर जलवायु परिवर्तनबाट हुने क्षति र असर भने हामीले सबैभन्दा बढी भोगिरहेका छौं,’ अध्यक्ष लालचनले भने, ‘हिमाली क्षेत्रका समस्या र स्थानीय तहले भोगिरहेका जलवायुजन्य चुनौतीलाई एकीकृत आवाजका रूपमा उठाउन सम्मेलन आवश्यक महसुस गरेका हौं ।’ उनका अनुसार जलवायु परिवर्तनका कारण मुस्ताङसहित हिमाली क्षेत्रमा मौसमको चक्रमै परिवर्तन देखिन थालेको छ । विगतमा जाडोयाममा पर्ने हिउँ पछिल्ला वर्षमा चैत–बैशाखतिर पर्न थालेको, तापक्रममा परिवर्तन आएको तथा हिमाली क्षेत्रमा जलवायुजन्य जोखिम बढ्दै गएको उनले बताए ।
जलवायु परिवर्तनको असरबारे सम्मेलन आयोजना गर्ने तयारी भइरहेका बेला भोटेकोसी क्षेत्रमा आएको बाढी तथा त्यसले निम्त्याएको क्षतिले सम्मेलनको सान्दर्भिकता झनै पुष्टि गरेको अध्यक्ष लालचनको भनाइ छ । जलवायु परिवर्तनका कारण उत्पन्न विपद्को जोखिम हिमालदेखि पहाड र तराईसम्म बढ्दै गएकाले स्थानीय तहहरूले साझा धारणा बनाएर सरकारसमक्ष प्रस्तुत गर्नुपर्ने उनले बताए ।
‘जलवायु परिवर्तन किन र यसको असर न्यूनीकरणका लागि स्थानीय तहले के गर्न सक्छन् भन्ने विषयमा साझा बहस आवश्यक छ,’ उनले भने, ‘सबै पालिकाको आवाजलाई एकीकृत गरेर बलियो आवाजका रूपमा अघि बढाउन सम्मेलन महत्वपूर्ण हुनेछ ।’
घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार सम्मेलनमा स्थानीय तहले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, अनुकूलनका प्रयास, विपद् जोखिम न्यूनीकरण तथा हिमाली क्षेत्रमा देखिएका वातावरणीय परिवर्तनबारे छलफल हुनेछन् । उनका अनुसार सम्मेलनमा देशभरका स्थानीय तहका प्रमुखसहित जिल्ला समन्वय समितिका पदाधिकारी, सम्बन्धित सरकारी निकाय तथा विज्ञहरूको सहभागिता रहनेछ । स्थानीय तहबाट उठेका जलवायुजन्य समस्या र समाधानका उपायलाई एकीकृत गरी आगामी दिनमा नीतिगत तहमा लैजाने उद्देश्यसमेत सम्मेलनको रहेको उनले बताए ।
घरपझोङ गाउँपालिकाले गत वर्ष नै जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने तयारी गरेको थियो । तर तत्कालीन ‘जेनजी’ आन्दोलनका कारण सम्मेलन स्थगित भएको थियो । स्थगित भएको सम्मेलनलाई यस वर्ष पुनः आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रत्यक्ष असर बढ्दै गएको अवस्थामा मुस्ताङबाट देशभरका स्थानीय तहलाई एउटै मञ्चमा ल्याएर जलवायु संकटबारे साझा धारणा निर्माण गर्न सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनले हिमाली क्षेत्रले भोगिरहेका जलवायुजन्य समस्या राष्ट्रिय बहसको केन्द्रमा ल्याउने अपेक्षा गरिएको छ ।
घरपझोङ जलवायु परिवर्तन सम्मेलन तयारी
मुस्ताङ, २९ भदौः
मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कभर्ड हलमा मङ्गलबारदेखि सुरु हुने दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ स्थलमा तयार पारिएको २८ फिट अग्लो बेलुनमा हावा भरेर बनाइएको जलवायु सचेतनासम्बन्धी कलात्मक पृथ्वी । सम्मेलनमा ४२० स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधिको सहभागिता हुँदैछ । तस्बिरः सुन्दरकुमार थकाली/रासस