अमृत बास्कुने, म्याग्दी
विद्यालय तहमा अध्ययनरत बालबालिकाहरुलाई बालबिबाह, बाल यौन दुव्र्यवहार र यस सम्बन्धमा कानुनी व्यवस्थाहरुका बारेमा सचेतना गराइएको छ ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा पश्चिम म्याग्दीको केबी एकेडेमी एण्ड बोर्डीङ स्कुलका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई बाल बिबाह, बाल यौन दुव्र्यवहार र यस सम्बन्धमा कानुनी व्यवस्थाहरुका बारेमा सचेतना गराइएको हो ।
इन्सेक प्रतिनिधि अमृत प्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख इन्सपेक्टर रबिन्द्र कार्कीले सहजीकरण गरेका थिए । उनले बाल विवाहले बालबालिकामा पार्ने असरहरु तथा मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बालबबिाह गर्दा हुने कानुनी सजायको बारेमा जानकारी गराएका थिए । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुनी रुपमा बन्देज लगाइएको बताउँदै उहाँले बालबालिका सम्बन्धी ऐन २०७५ को उपदफा ६६(२)(ण) अनुसार बालबालिका सँग विवाह गर्नु गराउनु बालिबालिका बिरुद्धको कसुर मानेका छ र दफा ६७ अनुसार त्यस्तो कसुर गरेको ठहरेका व्यक्तिहरुले १० वर्ष सम्म बालबालिका सम्बन्धी सार्वजनिक तथा निजि क्षेत्रमा काम गर्न मनोनित हुन वा निर्वाचित हुन नपाउने व्यवस्था भएको बताएका थिए ।
कार्यक्रममा नेपाल कानुन अनुसार १० वर्ष मुनिका बालबालिकालाई बलात्कार गरेमा जन्म कैद, १० देखि १४ वर्ष मुनिकालाई १८ देखि २० वर्ष, १४ देखि माथि १६ बर्ष मुनिकालाई १२ देखि १४ वर्ष कैद्य र १६ देखि १८ वर्ष मुनिका लाई बलात्कार गरेको खण्डमा १० देखि १२ वर्ष कैद सजायको व्यवस्था गरिएको जानकारी गराइएको थियो । बालबालिकाहरुले आफूहरु यस्ता दुव्र्यवहारका घटनामा परेको थाहा पाएको मितिले ३ वर्ष भित्र उजुरी गर्न सक्ने कानुनी व्यवस्था रहेको सहजीकरणमा बताए ।
कार्यक्रममा केबी एकेडेमी एण्ड बोर्डीङ स्कुलका प्रिन्सीपल बिमल शर्माले कार्यक्रमले बालबालिकामा पार्ने साकारात्मक प्रभावका बारेमा बोलेका थिए । उनले यस्ता कार्यक्रमहरुले बालबालिकाको मनोविज्ञानलाई मजबुत बनाउने र उनीहरु हिंसाका घटनाहरुबाट जोगिने र यदि परिहालेको खण्डमा पनि उचित कानुनी उपचारमा पुग्नका लागि कार्यक्रमले मद्दत गरेको बताए ।
यसैबीच सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बेनी शाखा प्रमुख मुक्ती पौडेलले बिमाको बारेमा बालबालिकालाई जानकारी गराएका थिए । राष्टिय बिमा संस्थानले आगामी शैक्षिकसत्र देखि विद्यालय स्तरको पाठ्यपुस्तकमा पनि विमा विषय समेट्न लागेको हुनाले यसबारमो जानकारी गराउनु आवश्यक रहेको आफूले समय लिएर बिमाको जानकारी गराएको बताए । बिमा किन गर्ने र के हुन सक्छ भन्ने विषयमा सामान्य जानकारी उनले गराएको बिद्यायलका प्रिन्सिपल शर्माले जानकारी दिए ।
