हिमालको काखमा अवस्थित अन्नपूर्ण गाउँपालिका प्राकृतिक सुन्दरताका लागि मात्र होइन, दुर्गम भूगोल र छरिएर रहेका बस्तीका कारण सेवा प्रवाहमा देखिने चुनौतीका लागि पनि परिचित छ। यहाँका नागरिकले वर्षौँसम्म स्वास्थ्य सेवाका लागि लामो दूरी तय गर्नुपर्ने, सामान्य उपचारका लागि समेत सदरमुकाम वा पोखरासम्म पुग्नुपर्ने तथा विशेषज्ञ सेवा त झन् कल्पनाभन्दा बाहिरको विषयजस्तो हुने अवस्था भोग्दै आएका थिए। तर पछिल्ला वर्षमा स्थानीय सरकार स्थापना भएपछि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर गरिएका लगानी र कार्यक्रमहरूले ग्रामीण स्वास्थ्य सेवाको स्वरूप परिवर्तन गर्ने प्रयास सुरु भएका छन्।
अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सञ्चालन गरेका कार्यक्रमहरू त्यसको प्रमाणका रूपमा देखिएका छन्। गाउँपालिकाभित्रका स्वास्थ्य चौकीको क्षमता अभिवृद्धि, गाउँघर क्लिनिक सञ्चालन, निःशुल्क भिडियो एक्स–रे सेवा, औषधि व्यवस्थापन, विद्यालय स्वास्थ्य नर्स कार्यक्रमदेखि मानसिक स्वास्थ्य प्रवर्द्धनसम्मका कार्यक्रमले स्वास्थ्यलाई केवल उपचारको विषय नभई समग्र सामाजिक विकासको आधारका रूपमा लिइएको संकेत गर्छ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य राम्रो नभएसम्म विकासका अन्य सूचकहरू बलियो हुन सक्दैनन्। विद्यालय जाने बालबालिकादेखि खेतबारीमा काम गर्ने किसान, व्यवसायी, कर्मचारी, ज्येष्ठ नागरिक र गर्भवती महिलासम्म सबैका लागि स्वास्थ्य पहिलो आवश्यकता हो।”
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालका अनुसार स्वास्थ्य क्षेत्रमा खर्च बढ्दै जाँदा विश्वव्यापी रूपमा रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्न नदिने रणनीतिलाई प्राथमिकता दिन थालिएको छ। अन्नपूर्ण गाउँपालिकाले पनि यही अवधारणालाई आत्मसात् गर्दै स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो। ग्रामीण क्षेत्रमा पहिल्यै शारीरिक श्रम बढी हुने भएकाले जीवनशैलीजन्य रोग कम हुने मान्यता रहे पनि पछिल्ला वर्षमा खानपानमा परिवर्तन, शारीरिक गतिविधिमा कमी र बजारमुखी जीवनशैलीका कारण मधुमेह, उच्च रक्तचाप, मोटोपना तथा मुटुरोगका बिरामी बढ्दै गएको उहाँको भनाइ छ। जनचेतनामूलक कार्यक्रमले दीर्घकालीन रूपमा उपचार खर्च घटाउने, नागरिकको स्वास्थ्य सुधार गर्ने तथा उत्पादनशील जनशक्ति कायम राख्न मद्दत गर्ने भएकाले सोहीअनुसार काम भइरहेको गाउँपालिकाले जनाएको छ।
अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको गाउँघर क्लिनिक कार्यक्रम दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य चौकीसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्थाबाट मुक्त गर्न लक्षित रहेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो। विशेषगरी वृद्धवृद्धा, गर्भवती महिला, अशक्त व्यक्ति तथा आर्थिक रूपमा कमजोर परिवारका लागि स्वास्थ्य संस्थासम्म पुग्नु आफैँमा चुनौती हुने भएकाले गाउँघर क्लिनिकमार्फत स्वास्थ्यकर्मीलाई समुदायमै पुगाएर आधारभूत स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा स्वास्थ्य शिक्षा उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।
अन्नपूर्ण गाउँपालिकाले आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि औषधि खरिद, आयुर्वेदिक औषधि खरिद तथा स्वास्थ्य संस्थाका लागि आवश्यक सामग्री व्यवस्थापनमा बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले जानकारी दिनुभयो। औषधिको नियमित आपूर्ति हुन सके सामान्य रोगको उपचार स्थानीय तहमै सम्भव हुने, नागरिकको आर्थिक भार कम हुने तथा अस्पतालमा हुने अनावश्यक चाप घट्ने भएकाले सोहीअनुसार कार्यक्रम अघि बढाइएको उहाँको भनाइ छ।
एक विद्यालय एक नर्स कार्यक्रमले विद्यालय उमेर समूहमा देखिने कुपोषण, रक्तअल्पता, सरसफाइसम्बन्धी समस्या, किशोरावस्थाका शारीरिक तथा मानसिक परिवर्तन, महिनावारी स्वास्थ्य तथा यौन तथा प्रजनन स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको मुक्तिमार्ग माध्यमिक विद्यालय, घारका प्रधानाध्यापक रामकृष्ण खड्काले बताउनुभयो। धेरै विद्यालयमा सामान्य स्वास्थ्य समस्या हुँदा पनि उचित परामर्श नपाइने अवस्थामा विद्यालयमा नर्सको उपस्थितिले विद्यार्थीको स्वास्थ्य सुरक्षामा नयाँ आयाम थपेको उहाँको भनाइ छ।
गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क भिडियो एक्स–रे सेवा, निःशुल्क ल्याब सेवा तथा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेको छ। गर्भावस्थामा नियमित जाँच नहुँदा देखिन सक्ने उच्च रक्तचाप, रक्तअल्पता तथा भ्रूणसम्बन्धी असामान्य अवस्थाको समयमै पहिचान गर्न यस्ता निःशुल्क सेवाले आर्थिक अभावका कारण स्वास्थ्य जाँचबाट वञ्चित हुने महिलालाई राहत पुगेको स्वास्थ्य शाखा प्रमुख बरुवालले बताउनुभयो।
