म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा शनिबार नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दी को आयोजनामा तथा अन्नपूर्ण गाउँपालिका को समन्वयमा वडा नम्बर ६ पोखरेबगरस्थित गाउँपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत कुमार पुन प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्की, गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, जनप्रतिनिधि, शिक्षक, शिक्षिका, विद्यार्थी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
नागरिक र प्रहरीबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा शान्ति–सुरक्षासम्बन्धी विषयमा नागरिकका गुनासा, सुझाव र जिज्ञासा सुन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएको छ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक कार्कीले सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै जिल्लाको वर्तमान शान्ति सुरक्षा अवस्था, बढ्दो साइबर अपराध, लागूऔषध दुव्र्यसन, सडक सुरक्षा तथा अन्य समसामयिक अपराधका विषयमा जानकारी गराएका थिए। उनले अपराध न्यूनीकरणका लागि प्रहरी र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
सहभागीहरूले स्थानीय सुरक्षा, ट्राफिक व्यवस्थापन, युवामा बढ्दो कुलत तथा सामाजिक सचेतनासम्बन्धी विषय उठाएका थिए। कार्यक्रममा नागरिकका सुझावलाई आगामी सुरक्षा योजना र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा समेटिने प्रहरीको भनाइ थियो।
