म्याग्दीको सदरमुकाम बेनीमा रहेको बौद्ध युवा क्लबको आयोजनामा आगामी असोजमा दुई लाख २२ हजार २२२ रुपियाँ पुरस्कार राशीको खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।
क्लबका अध्यक्ष दुर्गा बुढाका अनुसार प्रतियोगिता असोजको अन्तिम साता सञ्चालन हुनेछ । प्रतियोगितामा दोस्रो हुने टिमले एक लाख ११ हजार १११ र तेस्रो हुने टिमले ५५ हजार ५५५ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै अनुशासित टिमलाई २२ हजार २२२ रुपियाँ, उत्कृष्ट खेलाडीलाई सात हजार ७७७ रुपियाँ प्रदान गरिनेछ । उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समेत सात हजार ७७७ रुपियाँका दरले पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता खुल्ला रहनेछ र प्रत्येक टिमले बढीमा दुई जना विदेशी खेलाडी समावेश गर्न पाउने आयोजकले जनाएको छ । देशभरका जुनसुकै क्लब तथा टिमले आफ्ना उत्कृष्ट खेलाडी सहभागी गराउन सक्नेछन् भने विदेशी खेलाडी अधिकतम दुई जनामात्रै समावेश गर्न पाइने क्लबले स्पष्ट पारेको छ ।
त्यसैगरी बौद्ध युवा क्लबका कोषाध्यक्ष कमल घर्तीमगरका अनुसार प्रतियोगितामा पुरस्कारतर्फ चार लाख ५७ हजार ४७२, मेडल तथा ट्रफीमा एक लाख २५ हजार, खेल सामग्रीमा ७५ हजार, प्रचार–प्रसार तथा मायाको चिनोमा चार लाख ५० हजार, अतिथि सत्कार तथा स्वयंसेवक परिचालनमा दुई लाख र अफिसियल खर्चमा तीन लाख ५० हजार गरी कुल १६ लाख ५७ हजार ७७२ रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिता २०८३ सालको असोज २५ देखि ३० गतेसम्म बेनी नगरपालिका–७ स्थित बेनी बजारको खुल्ला मञ्चमा सञ्चालन हुनेछ । ९ ए साइड स्वरूपमा हुने प्रतियोगिता फिफाले तोकेको मापदण्डअनुसार सञ्चालन गरिने बौद्ध युवा क्लबका श्यामसुन्दर कँडेलले जानकारी दिए ।
