अमृत बास्कुने, म्याग्दी
म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँको प्रस्तावित बजेट पारित गरेको छ । नगरप्रमुख सुरत केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि उपप्रमुख ज्योति लामिछानेले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ५६ करोड ४ लाख ५० हजार र पुँजीगत तर्फ १९ करोड ४८ लाख २५ हजारमा नबढाइ खर्च गर्ने गरि बजेट पारित भएको हो । नगरपालिकाले चालु तर्फ ७४ दशमलब २० प्रतिशत र पुँजीगत तर्फ २४ दशमलब ८० प्रतिशत बजेट बिनियोजन गरेको छ ।
बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु. ७५ करोड ५२ लाख ७५ हजारको बजेटबाट पर्यटन प्रवद्र्धन, कृषि उत्पादन, स्वास्थ्य सेवा, शिक्षा सुधार, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । बजेटले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको छ । बजेटका लागि संघीय र प्रदेश सरकारका विभिन्न अनुदान, राजस्व बाँडफाँट, सवारीसाधन कर तथा ४ करोड ७१ लाख आन्तरिक आम्दानी अनुमान गरिएको छ ।
आर्थिक विकासतर्फ कृषि, पशुपालन, खानेपानी, सिँचाइ, उद्यमशीलता र पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ । कृषि उपजको बजारीकरणका लागि पिपलचोकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण, तरकारी उत्पादनमा आधारित अनुदान तथा कृषि क्षेत्र विकासका कार्यक्रम सञ्चालन हुनेछन् । पशुपालनतर्फ दूध तथा पशुपन्छी उत्पादन प्रवद्र्धन, रोग नियन्त्रण, पशु स्वास्थ्य शिविर, औषधि व्यवस्थापन, सामुदायिक कुकुर दर्ता तथा बन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिइनेछ । खानेपानी र सिँचाइतर्फ साना योजनामा साझेदारी, विशिष्ट आयोजना र ‘एक घर, एक धारा’ अभियानलाई बजेटमार्फत अघि बढाइएको छ । रोजगारी प्रवद्र्धनका लागि ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम, युवाका लागि सीपमूलक तालिम तथा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सेवा पनि निरन्तर सञ्चालन गरिनेछ ।
पर्यटन विकासका लागि १ करोड १२ लाख ५० हजार बजेट छ । गलेश्वर क्षेत्रको सौन्दर्यीकरण, पार्किङ तथा शवदाहस्थल निर्माण, सर्वोच्च अदालतको आदेशअनुसार रावण पार्कलाई रामायण पार्कका रूपमा विकास गर्ने योजना र बेनी बजारको लभ्लीहिल क्षेत्रलाई पर्यटकीय भ्यू–पोइन्ट बनाउने कार्यक्रम समेटिएका छन् ।
सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य र खेलकुदका कार्यक्रमलाई निरन्तरता दिँदै सामुदायिक विद्यालयका कर्मचारी तथा बालविकास सहजकर्ताको पारिश्रमिक १० प्रतिशतले वृद्धि गरिएको छ । छात्रवृत्ति, स्थानीय पाठ्यपुस्तक लेखन, बेनी रङ्गशाला, चुत्रेनी खेलमैदान तथा भलिबल प्रशिक्षण केन्द्र निर्माण र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बजेट व्यवस्था गरिएको छ।
स्वास्थ्य क्षेत्रमा ‘ज्येष्ठ नागरिकको घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमलाई निरन्तरता दिँदै नसर्ने रोगको निःशुल्क परीक्षण, संस्थागत सुत्केरीलाई प्रोत्साहन, स्वास्थ्यकर्मीलाई घरदैलोमा परिचालन तथा नगरस्तरीय र वडास्तरीय स्वास्थ्य कार्यक्रम सञ्चालन गरिनेछ ।
पूर्वाधार विकासका लागि १३ करोड ८८ लाख बजेट निर्धारण गरिएको छ । नगर गौरवको बेनी–पुलाचौर–टोड्के सडक स्तरोन्नतिमा ३ करोड ४२ लाख ५० हजार तथा बेनी–दुदेखोला–थामडाँडा–मरेक–बरंजा सडकमा १ करोड ५० लाख छुट्याइएको छ ।
वन, वातावरण, विपद् व्यवस्थापन, सूचना प्रविधि विस्तार, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, कर्मचारी क्षमता विकास तथा करार कर्मचारीको तलब १० प्रतिशत वृद्धि गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था पनि बजेटमा समेटिएको छ। चालु आर्थिक वर्षको ११ महिनामा नगरपालिकाले ३ करोड १६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको र ६६.५१ प्रतिशत बजेट खर्च भएको जानकारीसमेत सार्वजनिक गरिएको छ।
नगर प्रमुख सुरत केसीले नगरसभाको १९औँ अधिवेशनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ समृद्ध बेनी नगरको मूल आधार’ भन्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै समृद्ध नगर निर्माणको लक्ष्य अघि सारिएको छ ।
पर्यटन क्षेत्रलाई नगरको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्यसहित प्रत्येक वडामा छुट्टाछुट्टै पर्यटन परियोजना सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । बेनी नगरपालिकाको वडा नं. १ मा रत्नेचौर–पर्वत झोलुङ्गे पुल र भाइरल तोरीबारी, वडा नं. २ मा लभ्ली हिल, ज्यामरुककोट दरबार तथा गौश्वारा गोवर्धन क्षेत्र, वडा नं. ३ मा बेलढुङ्गा स्वर्गाश्रम, वडा नं. ४ मा तातोपानी कुण्ड, वडा नं. ५ मा रामायण पार्क र पुलहाश्रम, वडा नं. ६ मा रामशीला स्मारक स्थल, वडा नं. ७ मा बलमुक्तेश्वर शिवालय, भर्तिबम शिवालय, महारानीथान, महारानी पोखरी र भगवती मन्दिर जस्ता धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, वडा नं. ८ मा जलेश्वर गुफा र शालिग्राम संग्रहालय, वडा नं. ९ मा गलेश्वरधाम तथा ढोल्ठान दरबार र वडा नं. १० मा सिद्धाश्रम तथा टोड्के पर्यटन विकासलाई प्राथमिकता दिइएको छ । उल्लेखित यी परियोजनामा संघ, प्रदेश र निजी क्षेत्रसँग साझेदारी गरेर लगानी भित्राउने नीति तथा कार्यक्रममा लक्ष लिइएको छ ।
नगरपालिकाले पर्यटन सम्भावना भएका नयाँ गन्तव्यहरूको पहिचान, धार्मिक तथा आध्यात्मिक क्षेत्रको प्रचार–प्रसार र ऐतिहासिक सम्पदाको संरक्षणलाई समेत प्राथमिकतामा राखेको छ । रामायण पार्कलाई थप पूर्वाधारसहित विकास गर्ने, धार्मिक स्थलहरूको पहुँच सुधार गर्ने तथा पर्यटनसँग स्थानीय अर्थतन्त्रलाई जोड्ने लक्ष्य नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
सामाजिक विकासतर्फ नगरपालिकाले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । गुणस्तरीय र व्यवहारिक शिक्षालाई जोड दिँदै सामुदायिक विद्यालयको शैक्षिक सुधार, शिक्षकको क्षमता अभिवृद्धि, स्थानीय पाठ्यक्रम कार्यान्वयन, छात्रवृत्ति, ‘वी क्यान वी डु’ कार्यक्रम तथा विद्यार्थीमैत्री वातावरण निर्माण गरिने नीति लिइएको छ ।
महिला सशक्तीकरण, बालविवाह न्यूनीकरण, लैङ्गिक हिंसा विरुद्ध अभियान, आमा समूहसँग उपमेयर कार्यक्रम, बालमैत्री वडा निर्माण तथा सामाजिक संघसंस्थासँगको सहकार्यलाई समेत प्राथमिकतामा राखिएको छ । वडामा रहेका जेष्ठ नागरिक मिलन केन्द्रलाई थप व्यवस्थित बनाउँदै योग, सत्सङ्ग र सामाजिक सहभागितामार्फत उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य सुधार गरिने नीति पनि नगरपालिकाले अघि सारेको छ ।
स्वास्थ्य क्षेत्रतर्फ नगरपालिकाले ‘निरोगी नगरपालिका अभियान’ लाई अझ प्रभावकारी बनाउने घोषणा गरेको छ । विशेषगरी ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिका लागि ‘ज्येष्ठ नागरिकको घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । यसअन्तर्गत स्वास्थ्यकर्मी घरमै पुगेर जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण तथा परामर्श सेवा प्रदान गर्नेछन् । प्रत्येक महिनाको १५ गते ‘एनसीडी डे’ सञ्चालन गरी उच्च रक्तचाप, मधुमेह, मिर्गौला, मुटु तथा अन्य नसर्ने रोगको निःशुल्क परीक्षण, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षण, किशोरीहरूको रक्तअल्पता परीक्षण, गर्भवतीको डिजिटल अभिलेखीकरण, ग्रामीण अल्ट्रासाउण्ड सेवा तथा विशेषज्ञसहितका बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । विपन्न परिवारका लागि स्वास्थ्य बीमा र उपचार सहयोगलाई समेत निरन्तरता दिइने उल्लेख गरिएको छ ।
पर्यटन, सामाजिक सुरक्षा र नागरिकमैत्री स्वास्थ्य सेवालाई एकैसाथ प्राथमिकतामा राखेको यस नीति तथा कार्यक्रमले बेनी नगरपालिकालाई आर्थिक, सामाजिक तथा मानवीय विकासको सन्तुलित मोडेलका रूपमा अघि बढाउने नगरपालिकाको लक्ष्य स्पष्ट पारेको छ ।
