बेनी सामुदायिक माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक स्व. तीर्थकुमारी श्रेष्ठको स्मृतिमा प्रकाशित पुस्तक ‘तीर्थ मिस र बयासीका बाइस वियोग’ विमोचन गरिएको छ। विद्यालयको ७२औं वार्षिकोत्सव तथा स्व. श्रेष्ठको ७२औं जन्मजयन्तीको अवसर पारेर बेनी नगरपालिकाका प्रमुख (मेयर) सुरत केसीले उक्त कृति विमोचन गर्नुभएको हो।

सृजना श्रेष्ठ प्रकाशक रहनुभएको यस स्मृति सङ्ग्रहको लेखन तथा सम्पादन लेखक अजयमिलन श्रेष्ठले गर्नुभएको हो। विमोचन समारोहका अवसरमा म्याग्दीको शैक्षिक र सामाजिक इतिहासलाई पुस्तक मार्फत जीवन्त राख्न उत्कृष्ट योगदान पुर्याएबापत लेखक अजयमिलन श्रेष्ठ र प्रकाशक सृजना श्रेष्ठलाई दोसल्ला ओढाएर र कदर पत्रद्वारा विशेष सम्मान गरिएको थियो।

कृति विमोचन गर्दै नगरप्रमुख केसीले स्व. श्रेष्ठले म्याग्दीको शैक्षिक तथा सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक स्तर सुधार र सामाजिक रूपान्तरणमा तीर्थ मिसले खेलेको नेतृत्वदायी भूमिका सधैं प्रेरणाको स्रोत बनिरहने उल्लेख गर्नुभयो। साथै, उहाँले स्व. श्रेष्ठको स्मृतिलाई जीवन्त राख्न र इतिहास संवर्द्धन गर्न लेखक अजयमिलन श्रेष्ठ र प्रकाशक सृजना श्रेष्ठले निभाएको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

सोही समारोहमा कक्षा १० मा अध्ययनरत छात्रा एकता शाहलाई स्व. तीर्थकुमारी श्रेष्ठको सम्मानमा स्थापित ‘तीर्थकुमारी श्रेष्ठ छात्रवृत्ति पुरस्कार’ प्रदान गरिएको थियो। कार्यक्रममा स्व. श्रेष्ठका छोरी-ज्वाइँ जेनी थापा र रूपक महर्जन, तथा भाइ द्वय कृष्णप्रसाद श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठ लगायतले स्व. श्रेष्ठको स्मृतिलाई पुस्तक मार्फत अमर बनाएकोमा आयोजक विद्यालयका साथै लेखक र प्रकाशक श्रेष्ठ द्वयप्रति विशेष धन्यवाद प्रकट गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रधानाध्यापक भीमबहादुर घर्तीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सहायक प्रधानाध्यापक काशीराम रेग्मीको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको उद्घोषण शिक्षक मदन सुवेदीले गर्नुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, शिक्षाप्रेमी तथा स्थानीय जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
