अमृत बास्कुने, म्याग्दी
यही जेठ ९ गते कास्कीको पोखरामा हुने दोश्रो गण्डकी लोकतारा २०८३ का लागि म्याग्दी अडिसनबाट शक्ति छिनाल छनोट भएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीद्वारा आयोजित ‘दोस्रो गण्डकी लोकतारा’ जिल्ला स्तरीय अडिसनमा सहभागी प्रतिस्पर्धीलाई पछाडी पार्दै शक्ति प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट भएका हुन् ।
लोकदोहोरी कला, संस्कृति र प्रतिभा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका प्रतिभागीहरूले आफ्नो कला प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका सदस्य सुबिनकुमार श्रेष्ठ सहभागी भएका थिए । कार्यक्रममा प्रतिष्ठानका प्रदेश कार्यसमितिका उपाध्यक्ष होम गुरुङ, सल्लाहकारहरू नेत्र महत, जीवनकुमार विश्वकर्मा, संजयकुमार श्रेष्ठ, पूर्व अध्यक्ष देवेन्द्र घिमिरे, निवर्तमान अध्यक्ष ध्रुव जिसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चिमखोला समाजका कलाकारहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम व्यवस्थापनमा महिला उपाध्यक्ष खिमा पुन र पञ्चमाया पुनले भुमिका निभाएको आयोजकले जनाएको छ ।
अडिसनमा सहभागी प्रतिभामध्ये उत्कृष्ट भएका शक्ति छिनाल आगामी जेठ ९ गते हुने ‘दोस्रो गण्डकी लोकतारा–२’ मा म्याग्दीको प्रतिनिधित्व गर्दै सहभागि हुनेछन् । गत संस्करणको गण्डकी लोकतारामा म्याग्दीबाट सहभागि भएका बिजय परियारले तेश्रो स्थान हासिल गरेका थिए ।
प्रतिष्ठान म्याग्दीका अध्यक्ष एकराज चापागाईंले लोकसंस्कृति संरक्षण र प्रतिभा उजागर गर्ने अभियानलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाइने बताएका छन् । उनले गण्डकी प्रदेशस्तरीय कार्यक्रम पनि भव्य रूपमा सफल हुने विश्वास व्यक्त गरे ।

