बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ ।
बडिगाड गाउँपालिका–२ स्थित गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो । विसं २०६६ मा स्थापना भएको उक्त लघु जलविद्युत् आयोजनाको विद्युत् खपत नभई खेर गइरहेको अवस्थामा त्यसैलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो ।
तीन वर्षदेखि सात वटा साझेदार तथा प्राविधिक संस्थाको सहकार्यमा गरिएको अध्ययनबाट हालसम्म आठ वटा सिलिण्डरमा हरित हाइड्रोजन ग्यास भरिएको छ । एक वर्षअघि गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि अहिले सिलिण्डरमा सुरक्षित रूपमा भर्ने कार्य थालिएको हो ।
नेपाल इनर्जी फाउण्डेसनका अध्यक्ष मोहनदास मानन्धरका अनुसार पानीमा रहेको अक्सिजन अलग गरी हाइड्रोजन मात्रै निकालेर सिलिण्डरमा भर्ने प्रविधि प्रयोग गरिएको हो । आवश्यकताअनुसार उक्त ग्यास चुलोमा प्रयोग गर्न सकिने उनले बताए।
नेपाल इनर्जी फाउण्डेसन, ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल, एसएण्डएओ कम्पनी लिमिटेड युके र एचएसएलयु स्विटजरल्याण्ड साझेदार तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौं, बडिगाड गाउँपालिका र गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाको सहकार्यमा विभिन्न देशका वैज्ञानिक तथा प्राविधिकहरूको सहयोगमा खाना पकाउन हाइड्रोजन ग्यास उत्पादन गरिएको हो ।
उत्पादन गरिएको हाइड्रोजन ग्यासबाट चुलो बालेर शुक्रबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले परियोजनाको उद्घाटन गरेका थिए । मन्त्री शेरचनले हरित हाइड्रोजनले वातावरण संरक्षण, विद्युत् खपत वृद्धि तथा स्वदेशी ऊर्जाबाट खाना पकाउने सम्भावना बढाउने भएकाले यस्ता परियोजनालाई राज्यले नीतिगत रूपमा अघि बढाउनुपर्ने बताए।
नेपाल इनर्जी फाउण्डेसनका व्यवस्थापक डिल्ली घिमिरेका अनुसार उत्पादन गरिएको ग्यास सुरक्षित रूपमा सिलिण्डरमा भर्ने विषयमा मात्रै १८ महिना अध्ययन गरिएको थियो । उनले एक केजी हाइड्रोजन ग्यासले सानो परिवारलाई करिब एक सातासम्म खाना पकाउन पुग्ने उनको भनाइ छ ।
गिरिङ्दिखोला लघु जलविद्युत् सहकारीको ७५ किलोवाट क्षमताको आयोजनाको पुनर्निर्माण, भवन तथा कुलो मर्मतदेखि ग्यास उत्पादनसम्म आइपुग्दा अध्ययनबाहेक करिब रु एक करोड खर्च भइसकेको घिमिरेले बताए ।
