माध्यमिक शिक्षा परीक्षा (एसइई) नेपालका विद्यार्थीका लागि केवल एउटा परीक्षा मात्र होइन, भविष्यको बाटो तय गर्ने महत्वपूर्ण आधार पनि हो । हरेक वर्ष नतिजा सार्वजनिक भएपछि उत्तीर्ण प्रतिशत, उच्च जिपिए ल्याउने विद्यार्थी, अनुत्तीर्ण संख्या, सामुदायिक र संस्थागत विद्यालयबीचको अन्तर तथा प्रदेशगत अवस्थाबारे व्यापक बहस हुने गर्दछ । यस वर्षको एसइई नतिजाले पनि नेपालको शिक्षा प्रणालीभित्रका सफलता र समस्यालाई एकसाथ उजागर गरेको छ ।
यस वर्ष सार्वजनिक नतिजामा अघिल्ला वर्षको तुलनामा केही सुधार देखिएको छ । उच्च जिपिए ल्याउने विद्यार्थीको संख्या बढेको छ भने न्यून ग्रेड प्राप्त गर्ने संख्या केही घटेको देखिन्छ । यसलाई शिक्षा क्षेत्रमा भएको लगानी, प्रविधिको प्रयोग, शिक्षकको सक्रियता तथा विद्यार्थीको मेहनतको परिणामका रूपमा लिन सकिन्छ । विशेष गरी सहरी क्षेत्रका विद्यालयहरूमा डिजिटल सिकाइ, अतिरिक्त कक्षा र नियमित मूल्यांकन प्रणालीले सकारात्मक प्रभाव पारेको देखिन्छ ।
तर नतिजाको सतही चमकभित्र गम्भीर प्रश्नहरू पनि लुकेका छन् । उच्च जिपिए ल्याउने विद्यार्थी बढ्दै जानु मात्र शिक्षा प्रणाली सफल भएको प्रमाण होइन । वास्तविक प्रश्न त के हो भने विद्यार्थीले कति सिके ? उनीहरूको व्यवहारिक ज्ञान कति बढ्यो ? सिर्जनात्मक क्षमता, विश्लेषणात्मक सोच र जीवनोपयोगी सीप कति विकास भयो ? आज पनि धेरै विद्यार्थी राम्रो ग्रेड ल्याएर पनि व्यवहारिक जीवनमा कमजोर देखिने अवस्था छ ।
एसइई नतिजाले सबैभन्दा स्पष्ट देखाएको विषय भनेको सामुदायिक र संस्थागत विद्यालयबीचको खाडल हो । निजी विद्यालयका विद्यार्थीले उच्च ग्रेड ल्याइरहेका बेला धेरै सामुदायिक विद्यालय अझै न्यून नतिजासँग संघर्ष गरिरहेका छन् । ग्रामीण भेगमा शिक्षक अभाव, विषयगत दक्ष शिक्षकको कमी, कमजोर पूर्वाधार, प्रयोगशालाको अभाव र आर्थिक समस्याले शिक्षाको गुणस्तर प्रभावित भएको छ । एउटै देशभित्र शिक्षाको यस्तो असमानता रहिरहनु गम्भीर चिन्ताको विषय हो ।
अर्कोतर्फ, परीक्षा केन्द्रित शिक्षाले विद्यार्थीलाई घोकन्ते प्रणालीतर्फ धकेलेको आरोप पनि दोहोरिएको छ । अहिलेको शिक्षा प्रणालीमा ज्ञानभन्दा अंकलाई बढी महत्व दिइन्छ । अभिभावक, विद्यालय र विद्यार्थी सबैको ध्यान राम्रो जिपिएमा केन्द्रित हुँदा सिकाइको वास्तविक उद्देश्य कमजोर बन्दै गएको छ । विद्यार्थीमा मानसिक दबाब बढेको छ । कतिपयले असफलतालाई जीवनकै अन्त्यजस्तो ठान्ने खतरनाक मनोविज्ञान पनि बढिरहेको देखिन्छ ।
एसइई नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सफल विद्यार्थीको प्रशंसा हुन्छ, तर कमजोर नतिजा ल्याउने विद्यार्थीमाथि मनोवैज्ञानिक दबाब पनि उत्तिकै बढ्छ । वास्तवमा एउटा परीक्षा जीवनको अन्तिम सत्य होइन । एसइई केवल शैक्षिक यात्राको एउटा चरण मात्र हो । समाजले अंकका आधारमा विद्यार्थीको क्षमता मापन गर्ने प्रवृत्ति बदल्न आवश्यक छ ।
सरकार र शिक्षा सरोकारवालाले अब केवल नतिजाको प्रतिशत हेरेर खुसी हुने समय बितिसकेको बुझ्नुपर्छ । शिक्षा प्रणालीलाई व्यवहारिक, सीपमूलक र प्रविधिमैत्री बनाउन जरुरी छ । ग्रामीण विद्यालयमा गुणस्तरीय शिक्षक व्यवस्थापन, डिजिटल पहुँच, मनोपरामर्श सेवा र प्रयोगात्मक शिक्षामा लगानी बढाउन आवश्यक छ ।
एसइई नतिजाले केही सकारात्मक संकेत अवश्य दिएको छ, तर यसले नेपालको शिक्षा प्रणाली पूर्ण रूपमा सही दिशामा पुगेको निष्कर्ष निकाल्न सकिँदैन । जबसम्म शिक्षाले केवल परीक्षा होइन, जीवनका लागि सक्षम नागरिक उत्पादन गर्न सक्दैन, तबसम्म नतिजाको चमक अधुरै रहनेछ ।

लिटल गार्डेनका दुई विद्यार्थीले ल्याए ४.० जिपिए ल्याए
म्याग्दीको सदरमुकाम बेनीबजारको गणेशटोलमा रहेको लिटल गार्डेन एकेडेमीले लगातार ४ जिपिएसहित उत्कृष्ट नतिजा निकालेको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ मा विद्यालयकी सुप्रभा जिसी र प्रशान्त सुबेदीले उच्चतम ४.० जिपिए ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल दिपक सुबेदीले बताए ।

न्यु वेष्ट प्वाइन्टका दुईले ल्याए ४.० जिपिए
म्याग्दीको बेनी स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयका २ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उच्चतम् ४.० जिपिए ल्याएका छन् । विद्यालयका प्रिन्सिपल डी.बी दाहालका अनुसार छात्रा सफल खड्का र छात्र सङ्केत अधिकारीले सो सफलता हात पारेका हुन् । गत वर्ष यस विद्यालयबाट १ जनाले मात्र ४.० जिपिए ल्याएका थिए ।
बेनी सामुदायिकको सतप्रतिशत नतिजा
म्याग्दीको बेनी नगरपालिका–७, बेनीमा अवस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयबाट सहभागी १ सय १७ जना विद्यार्थीहरू शत प्रतिशत उत्तीर्ण भएका छन् । जिल्लामै सबैभन्दा धेरै विद्यार्थीहरू सहभागि गराएको विद्यालयले नन–ग्रेडेड (एनजी) रहित शत प्रतिशत नतिजा हाँसिल गरेको विद्यालयका प्रधानध्यापक भीम घर्तीमगरले बताए ।

प्रकाश माविका ५ जनाको ४.० जिपिए ल्याए
म्याग्दीको सदरमुकाम बेनीस्थित प्रकाश माविका अभिषेक केसी, मनिक अधिकारी, प्रज्ञा रिजाल, स्मृति खड्का र सुप्रिम पौडल गरी ५ जना विद्यार्थीले उच्चतम ४.० जिपिए ल्याउन सफल भएका छन् ।
विद्यालयका प्रधानध्यापक लेखबहादुर हमालले विद्यालयले लगातार उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिएको बताए ।
म्यादीमा यसबर्ष सहभागि भएका विद्यार्थीमध्ये साधारणभतर्फ कुल १२ सय ७१ जना विद्यार्थी उत्र्तिणा भएका छन् भने ३ सय ५७ जना ननग्रेडमा परेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बिदुर चापागाइले बताए ।
