लक्ष्मीनारायण जनशान्ति बाल क्लबले नयाँ वर्ष २०८३ को अवसरमा धवलागिरी गाउँपालिका ३ फलियागाउँमा आयोजना गरेको विविध खेलकुद प्रतियोगिताको भलिबलको उपाधि घरपरिवार टिमले जितेको छ । घरपरिवार टिमले आयोजक लक्ष्मीनारायण जनशान्ति क्लबलाई पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । घरपरिवार टिमले २५–१८, २५–२० र २९–२७ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
त्यसैगरी बास्केटबल प्रतियोगितामा मुनालाई पराजित गर्दै प्रथम धवलागिरी क्लब मुदिले उपाधि जितेको छ । सोमबार भएको बास्केटबल प्रतियोगिताको फाइनल खेलमा ५३–४० को स्कोर गर्दै मुदीले उपाधि आफ्नो पोल्टमा पारेको हो ।
प्रतियोगिताको भलिबल तर्फ घरपरिवार टिमका दिलीप परियार उत्कृष्ट खेलाडी घोषित हुँदा बास्केटबल तर्फ मुदीका बिशाल घर्तीले उत्कृष्ट खेलाडीको पुरस्कार हात पारेको क्लब अध्यक्ष रोशन भण्डारीले जनानकारी दिए ।
भलिबल प्रतियोगिता तर्फ आयोजक टिमले ताकमलाई सेमीफाइनल खेलमा १४–२५, २५–२०, २५–१८ र २६–२४ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । अर्को सेमीफाइनलमा घरपरिवार भलिबल टिमले प्रथम धवलागिरी क्लब मुदीलाई २५–२२, २३–२५, १७–२५ र १७ –२७ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
भलिबल प्रतियोगिताको बिजेताले नगद ३५ हजार र उपबिजेताले नगद २५ हजार तथा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । बास्केटबल प्रतियोगिताका बिजेताले नगद २५ हजार र उपबिजेताले नगद १७ हजार प्राप्त गरेको मेला संयोजक देविन्द्र भण्डारीले बताए ।

सोही अवसरमा आयोजित आमा समूहबीचको लठो तान्ने प्रतियोगितामा सुधार आमा सूमह पहिलो हुँदा बारा आमा समूहले दोश्रो स्थान हासिल गरेको छ । त्यसैगरी प्रतियोगिताकै अवसरमा आयोजित छेलो प्रतियोगितामा पुरुष तर्फ केशब गोतामे बिजेता हुनुभएको छ भने महिला तर्फ बिमला रसाईलीले विजयी हात पार्नुभएको क्लब अध्यक्ष भण्डारीले जानकारी दिए ।
उपाधिले आफूहरुको खेल प्रतिभालाई अझै निखार्न मद्दत पुगेको घरपरिवार भलिबल टिमका क्याप्टेन सबहादुर गोतामेको भनाई छ । पछिल्लो समय यो सँगै तीन वटा प्रतियोेगितामा उपाधि हात पारेको गोतामेको भनाई छ । भलिबल प्रतियोगितामा आवश्यक पर्ने छ जना खेलाडी मध्ये सबहादुर गोतामे सहित तीन छोराहरू २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव र अन्य छिमेकीलाई लिएर बनेको भलिबल टिमको नाम नै घरपरिवार भलिबल टिम हो । परिवारका कान्छा सदस्य केशब जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा हालै सम्पन्न म्याग्दी कप भलिबल प्रतियोगिताकै उत्कृष्ट सेटर घोषित भएका थिए ।

