नयाँ वर्षको अवसरमा लक्ष्मीनारायण जनशान्ति बाल क्लब धवलागिरी गाउँपालिका ३ फलियागाउँले आयोजना गरेको खेलकुद प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ ।
क्लबले नयाँ वर्षको अवसरमा आयोजना गरेको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगत भलिबल र बास्केटवल खेलको फाइनल समिकरण आइतबार पुरा भएको छ ।

प्रतियोगिताअन्तर्गत भलिबलतर्फ आयोजक लक्ष्मीनारायण जनशान्ति बाल क्लब र घरपरिवार भलिबल टिम फाइनलमा पुगेका हुन् । आयोजक टिमले ताकमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
आयोजकले सेमीफाइनल खेलमा १४–२५, २५–२०, २५–१८ र २६–२४ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको क्लब अध्यक्ष रोशन भण्डारीले जनानकारी दिए ।

उनका अनुसार अर्को सेमीफाइनलमा घरपरिवार भलिबल टिमले प्रथम धवलागिरी क्लब मुदीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । घरपरिवार भलिबल टिमले २५–२२, २३–२५, १७–२५ र १७ –२७ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
भलिबल प्रतियोगिताको बिजेताले नगद ३५ हजार र उपबिजेताले नगद २५ हजार तथा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी बास्केटबल प्रतियोगिताका बिजेताले नगद २५ हजार र उपबिजेताले नगद १७ हजार प्राप्त गर्ने विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको मेला संयोजक देविन्द्र भण्डारीले बताए ।
बास्केटबल प्रतियोगिताको फाइनलमा मुदी र मुना पुगेका छन् । भलिबल र बास्केटबल दुवैको फाइनल खेल सोमबार हुने क्लब अध्यक्षले जानकारी दिए ।
