म्याग्दी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत फागुन २१ गते भएको निर्वाचनमा पार्टी हारको कारण खोज्दै समिक्षा गरेको छ ।
पार्टीको केन्द्रीय कमिटी र जिल्ला कमिटीको सर्कुलर तथा अन्तरपार्टी निर्देशन बमोजिम पालिका कमिटीको बैठक राखेर समिक्षा गरेको एमाले म्याग्दीले जनाएको छ । शनिबार जिल्लाका छ वटै पालिकाहरुमा पालिका कमिटीको बिस्तारीत बैठक आह्वान गरेर समिक्षा गर्नुका साथै ब्यापाक छलफल गरिएको थियो ।
नेकपा एमाले बेनी नगरकमिटी अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षतामा बेनीमा भएको बैठकमा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवम् प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार हरिकृष्ण श्रेष्ठले बोलेका थिए । पार्टीको निर्वाचनमा नगरकमिटीको भुमिका र सक्रियताको प्रसंसा गर्दै उनले पार्टीले निर्वाचनमा पाएको मतको सम्मान गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।
धवलागिरी गाउँपालिका कमिटीका अध्यक्ष प्रगति कार्कीको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, सचिव थमसरा पुनले आफ्नो धारणा राखेका थिए । पार्टी संगठन सुद्रीढ गरेर कार्यकर्ता भेटघाट र सदस्यता नविकरण तथा जनवर्गिय संगठनको अधिवेशन लगायतका विषयमा जिल्ला कमिटीले पालिका कमिटीलाई निर्देशन दिएको थियो ।
नेकपा एमाले मंगला गाउँपालिका कमिटीका अध्यक्ष यामबहादुर थापाको अध्यक्षतामा भएको बैठकमा एमाले केन्द्रीय सदस्य नरदेवी पुन, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, सचिव थमसरा पुन लगायतले पार्टीलाई कसरी सक्रिय रुपमा परिचालन गर्न सकिन्छ भन्ने सन्दर्भमा धारणा राखेका थिए । केन्द्रीय सदस्य नरदेवी पुनले पार्टीले चाल्नु पर्ने कदम, समिक्षा, तयारी र कमजोरीका बारेमा बुँदागत रुपमा निर्देशन दिएकी थिइन् ।
नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष झलक शर्माको अध्यक्षतामा भएको बैठकमा एमाले केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज थममायाँ थापा, एमाले गण्डकी प्रदेश कमिटी सदस्य खुम बानियाँ, देवेन्द्र केसी लगायतले निर्देशनात्मक मन्तव्य राखेका थिए । जिल्लाका अधिकांश स्थानीयतहमा भएको बैठकले आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्तिका रुपमा पुनः उभ्याउनका लागि गम्भीर छलफल गरेर निचोडमा पुग्ने निस्कर्ष सहित सकिएको थियो ।
